बाघको आक्रमणबाट महिला घाइते

बाघको आक्रमणबाट महिला घाइते


बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते भएकी छिन् । बाघको आक्रमणमा परी बेलौरी नगरपालिका-९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन् ।

बिहीबार साँझ लालझाडी गाउँपालिका६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा डगौंरालाई बाघले आक्रमण गरेको बेलौरी-९ का वडाध्यक्ष किसन रानाले जानकारी दिनुभयो । उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।

डगौंरालगायत १०-१२ महिलाको समूह च्याउ टिप्न गएको थियो । सोही क्रममा बाघले डगौंरामाथि आक्रमण गरेको हो । ‘सबैले हो-हल्ला गरेपछि बाघ भाग्दा डगौंराको ज्यान जोगियो’, वडाध्यक्ष रानाले भने, ‘आक्रमणबाट उनको आँखा र टाउकोमा चोट लागेको छ ।’ यसअघि बाघको आक्रमणबाट बेलौरी नगरपालिकामै एक महिलाको ज्यान गएको थियो ।