राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले सरकारको १०० दिने कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै जनताको धैर्यको बाँध टुट्नुअघि नै सरकार सच्चिनुपर्ने चेतावनी दिएका छन् ।
सार्वजनिक वक्तव्य जारी गर्दै महतोले सरकारले न्याय, समावेशिता र संवेदनशीलताभन्दा पुरानै निरंकुश सोचलाई निरन्तरता दिएको आरोप लगाए । उनले सरकारलाई असंवेदनशील व्यवहार, नियुक्तिमा देखिएको असमावेशिता तथा अधिनायकवादी कार्यशैली तत्काल सच्याउन आग्रह गरे ।
महतोका अनुसार हालैको जनादेश केवल सरकार परिवर्तनका लागि नभइ दशकौँदेखि सञ्चित जनअसन्तुष्टि, पीडा र परिवर्तनको चाहनाको अभिव्यक्ति हो । उनले सय दिनमै सबै अपेक्षा पूरा हुन नसके पनि सरकारको कार्यदिशामा नयाँपनभन्दा ‘पुरानै निरंकुशताको गन्ध’ आएको टिप्पणी गरे ।
उनले गरिब बस्तीमा डोजर चलाउने, सीमावर्ती क्षेत्रमा सर्वसाधारणमाथि कठोर व्यवहार गर्ने, समानुपातिक समावेशिताको उपेक्षा गर्दै मेरिटोक्रेसीको नाममा विभेदलाई संस्थागत गर्ने प्रयास भइरहेको आरोप लगाए । साथै, बजेटले बिचौलिया पुँजीवादलाई प्रोत्साहन गरेको, किसान, युवा, महिला र प्रदेशका हितलाई बेवास्ता गरिएको तथा शिक्षा-स्वास्थ्यजस्ता मौलिक अधिकारमा कर लगाउने नीति जनविरोधी भएको दाबी गरे ।
महतोले गणेश नेपालीको आत्मदाहको घटनालाई राज्यको मानवीय असंवेदनशीलताको उदाहरण भन्दै सरकार मानवताभन्दा कानुनी प्रक्रियामै सीमित भएको आरोप पनि लगाए ।
प्रतिक्रिया