घरबाट हराएको दुई सातापछि सूर्यविनायक नगरपालिका-७ गुण्डू निवासी ३७ वर्षीया माया नगरकोटीको शव प्रहरीले सूर्यविनायक जङ्गलमा फेला पारेको छ ।
यही असार १३ गते बुधबार बिहान साढे ८ बजे माया घरबाट हराएकी भन्दै परिवारले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले तालिमप्राप्त कुकुरसहित विभिन्न निकायमा प्रहरीको टोली परिचालन गरी खोजीकार्य गर्ने क्रममा गुण्डू अस्थायी प्रहरी पोष्टबाट खटिएका प्रहरीले जङ्गलमा शव फेला पारेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिएका छन् ।
प्रहरीले नगरकोटीको खोजीका क्रममा अन्तिम पटक सूर्यविनायक गणेश मन्दिरबाट पानीट्याङ्की हुँदै मन्थलीको बाटो जाँदै गरेको सिसिटिभीबाट देखिएपछि प्रहरीले जङ्गलमा खोजी केन्द्रीत गरेको थियो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयवासीलगायत चार वटा तालिमप्राप्त कुकुरसहित प्रयोग गरी प्रहरीले खोजी गरेको एस्पी केसीले जानकारी दिए ।
शवलाई पोष्टमार्टमका लागि पठाएको र मृतकका भिसेरा जाँचसमेत गर्न पठाएको प्रहरी उपरीक्षक केसीको भनाइ छ । त्यसको रिपोर्ट आएपछि मात्रै के र कसरी मृत्यु भयो भन्ने जानकारी आउने उनले बताए ।
प्रतिक्रिया