पौडी खेल्ने क्रममा डुबेर बालकको ज्यान गयो

पौडी खेल्ने क्रममा डुबेर बालकको ज्यान गयो


गोरखाको आरुघाट गाउँपालिका-२ छापठोट्नेरीस्थित सुकुन्द्र खोलामा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गएको छ । धार्चे गाउँपालिका-२ केरौजा घर भएका १५ वर्षीय कबिन्स गुरुङको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मान्वुस्थित श्री भवानी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बालक गुरुङ विद्यालयको होस्टल बसेर पढ्दै आएका थिए । होस्टलमा बस्दै आएका अर्का एक जना साथीसँगै खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको ज्यान गएको उहाँले बताउनुभयो ।

पौडी खेल्ने क्रममा डुबेका उनलाई उद्धार गरेर आरुघाटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र आरुचनौटेमा उपचार गर्न पुर्याएको र उपचारका क्रममा नै बालकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । उनीसँगै पौडी खेल्न गएका अर्का बालक भने सकुशल होस्टलमा फर्किएको प्रहरीको भनाइ छ । बालक बिहीबार दिउँसो खोलामा पौडी खेल्ने क्रममा डुबेको प्रहरीको भनाइ छ ।