शरणार्थी प्रकरणमा अदालतबाट धरौटीमा छुटेका केशव तुलाधर पुनः पक्राउ

शरणार्थी प्रकरणमा अदालतबाट धरौटीमा छुटेका केशव तुलाधर पुनः पक्राउ


नक्कली भूटानी शरणार्थी प्रकरणमा यही असार २८ गते पक्राउ परी आज जिल्ला अदालत काठमाडौंको आदेशमा रिहा भएका काठमाडौं असनका केशव तुलाधर पुनः पक्राउ परेका छन् ।

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तुलाधरको संलग्नता देखिएका कारण पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । ‘भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका तुलाधर आज रु १५ लाख धरौटीमा छुटेका थिए, ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा उनको संलग्नता देखिएपछि हामीले पक्राउ गरेका छौँ’, एसएसपी कार्कीको भनाइ छ ।

पक्राउ परेका तुलाधरलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमै राखिएको र सोमबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई आवश्यक अनुसन्धानका लागि बुझाइने छ । नक्कली भूटानी शरणार्थी प्रकरणमा फरार रहेका भन्दै यही असार २८ गते निजलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले राजधानीको सानो भऱ्याङबाट पक्राउ गरेको थियो ।