एमाले प्रचार विभागमा ११ जना मनोनीत

एमाले प्रचार विभागमा ११ जना मनोनीत


कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा तीन सदस्य थप

नेकपा (एमाले)ले पार्टीको प्रचार तथा प्रकाशन विभाग विस्तार गरेको छ । विभागका सचिव गगन विष्टले थप ११ जनालाई विभागको सदस्यमा मनोनीत गरिएको जानकारी दिए ।

उनका अनुसार काठमाडौंका महेन्द्र विष्ट, बाँकेका अछरी पोखरेल, सुर्खेतका सूर्यमणि गौतम, कैलालीका हेमन्त पौडेल, सुनसरीका लीलाराज भट्टराई, पर्साका लालबाबु शेख, लमजुङका गणेश पाण्डे, रुपन्देहीका दीपक ज्ञवाली र शेरबहादुर केसी, कास्कीका रामकृष्ण ज्ञवाली र भोजपुरका राजेश राईलाई विभागमा मनोनयन गरिएको छ ।

यस मनोनयनसँगै एमालेको प्रचार विभाग १९ सदस्यीय बनेको छ ।

यस्तै, नेपाली कांग्रेसले पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागमा तीन सदस्यलाई थप गरेको छ । पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा प्रमुख रहेको सो विभागमा तीन सदस्य थप गरेका हुन् ।

थप हुने सदस्यमा सन्तोष न्यौपाने (लमजुङ), अशोक शर्मा (कञ्चनपुर) र सुमन गौतम (रौतहट) रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।