करिव एक क्विन्टल सुन बरामद, एजेन्टसहित ६ जना पक्राउ

करिव एक क्विन्टल सुन बरामद, एजेन्टसहित ६ जना पक्राउ


राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् ।

विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । पक्राउ परेकाको पहिचान खुलाइएको छैन ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।

विभागले विमानस्थल भन्सार कार्यालयको गेटअगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको ढुङ्गानाले जनाएका छन् ।

सुन हङकङबाट ल्याइएको खुलेको छ । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो । तथ्य खुल्न बाँकी रहेको र फरार व्यक्तिको खोजी भइरहेको ढुंगानाको भनाइ छ ।