(सन्दर्भ वीपी स्मृति दिवस)
देउवाका प्रियपात्र बालकृष्ण खाण जेलमा छन् । गगन थापाहरू खाणलाई काङ्ग्रेसको केन्द्रीय सदस्यबाट निलम्बन गरिनु पर्ने माग गरिरहेका छन्, देउवा पटक्कै तयार छैनन् । तर ८-१० वर्ष पहिले नेपाली काङ्ग्रेसले अत्यन्त दुःखमा रहेका ‘आफन्त’हरू चिरन्जीवी वाग्ले र खुमबहादुर खड्काको घाउमा मलम लगाउन चाहेन । तर, ती ‘प्रहरी’ खाणहरू भाग्यमानी हुन् जसका लागि आज नेपाली काङ्ग्रेसले चट्टानी अडान लिएको छ ।
✍ जेपी आनन्द
आफ्ना केही साथीहरूका साथ परशुनारायण चौधरी ४/५ दिनअघि मात्र पञ्चायत पस्नुभएको थियो । उहाँले आफ्नो वक्तव्यको शीर्षक ‘अबको नयाँ बाटो’ वा यस्तै केही राख्नुभएको थियो । यसका हस्ताक्षरकर्तामा यसअघि पञ्चायत पसेका केही मानिसहरू पनि थिए । यसमा बडो नाम चलेका तथा नेपाली काङ्ग्रेसमा ऐतिहासिक भुमिका राख्नु भएका बखानसिंह गुरूङ आदि हुनुहुन्थ्यो ।
परशुनारायण चौधरीको पञ्चायततिर पलायनको बडो ठूलो चर्चा थियो । आजको जस्तो सामाजिक संजाल र मिडियाको विशाल संख्या त थिएन, तर सरकारी संचारमाध्यमहरूले लामो समयसम्म यस समाचारलाई प्रमुखता दिइ राखे । पिपलबोटको सर्वाधिक चर्चाको विषय नै यही थियो । हामी सबै चकमन्न थियौँ, ठुला र नाम चलेका युवा नेताहरू विपिन कोइराला, मार्शल जुलुम शाक्य, शिवबहादुर खडकाहरूको पञ्चायत पस्ने चर्चा पनि थियो । पञ्चहरूले यस्तो प्रवेशलाई हौस्याइरहेका थिए ।
जनमत सँग्रह ताकाको प्रचारका क्रममा काठमांडूको टुडिखेलको आम सभामा बीपी कोइरालाले मुलुकमा बहुदल आए परशुनारायण नेपालको प्रधानमन्त्री हुने भन्नुभएको थियो । त्यस सभाको मञ्चमा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई पनि रहनुभएको थियो । अप्रत्याशित रूपमा बीपीको यो भनाइ सुनेर कालो चश्मा लाउनुभएका गणेशमानजी मुसुक्क हाँसेको र किसुनजी मञ्चको सिमेन्टे भुइँमा छाताको डण्डी थिचेको मैले प्रष्ट देखेको थिए । यो विषय उहाँहरूका बीचमा सुविचारित थियो वा थिएन मलाई पछिसम्म जानकारी भएन । यद्यपि बीपीको ठूलो विश्वास परशुनारायणका लागि मुखरित भएको थियो । बीपीको विश्वासमा रहेका यस्तो मानिस सुटुक्क पञ्चायत पसेको अवस्था थियो । यसर्थ बीपीको रोजाइका बारेमा पनि प्रश्न उठेको थियो । मार्शल जुलुम शाक्यका बारेमा गणेशमानजीले भन्नुभएको थियो- ‘उनि १७ वर्ष जेल बसे । पञ्चायतमा प्रवेश गरे सबै योगदान १७ मिनेटमै समाप्त हुनेछ ।’ मार्शल झस्कनुभएको खबर थियो ।
परशुजीको पलायनका सम्बन्धमा बीपीको प्रतिकृया पनि जोशिलो र आलोचनात्मक थिएन । ‘नेपाली जनताले जुन कारणले परशुनारायण चौधरीलाई माया गरेका थिए, सो कारण अब रहेन ।’ यति थियो बीपीको प्रतिकृया । बीबीसीका केदारमान सिंहलाई बीपीले यति मात्र भन्नुभयो । एमालेबाट बामदेव निस्किँदा ‘पिलो निचोरियो’ भनेर उबेला केपी ओलीले भनेको, आज पनि केपीले माधव नेपालहरूलाई आलोचना गरेझैँ, उपेन्द्रले बाबुराम भट्टराईका बारेमा बैगुनी कुरा गरेको या शेर बहादुर देउवा जी ले शेखर कोइराला तथा गगन थापाहरूको वजूदलाई इन्कार गरी शेखी झार्न तम्सेको भाषा प्रयोग गर्ने त्यो जमाना थिएन । काङ्ग्रेसभित्र भ्रमको जालो फैलाउन र बीपीलाई चालबाज देखाउन रमेशनाथ पाण्डेले त भित्र भित्रपञ्चायतसँग कुरा मिलाएर बीपीले परशुलाई पठाएका हुन कि ? यस्तो आशंका गर्दै लेखेका थिए । जुन पटक्कै सत्य थिएन । तर, गम्भीर चर्चा के थियो भने बीपीको चयन प्रायसः गलत हुने गरेको छ । बीपीले सारै पत्यार गरेका मानिसहरू बीपीलाई नै फाप्दैन ।
डा. तुलसी गिरी, विश्वबन्धु थापा, डा. नागेश्वर प्र. सिंह, बखान सिंह गुरूङ, सूर्यप्रसाद उपाध्याय, श्रीभद्र शर्मा, चैतुलाल चौधरी लगायत केही पछिका पुस्तामा प्रदीप गिरी तथा दुर्गा सुवेदी-यस्ता मानिसहरूको सूचि लामै थियो, जो एक समय बीपीका बडो नजिक रहेका थिए । प्रदीप गिरी कहिले पञ्चायत पस्नुभएन, तर वि.सं. ०३०/३१ पछिको अवधिमा बीपीका सोचहरूको कटु आलोचना पनि गर्नुहुन्थ्यो र त्यही शैलीमा अत्यन्त ठुलो प्रशंसा पनि । जबकि हवाइ अपहरणको काममा बीपीले पत्याएका दुर्गा सुवेदी धुरन्धरै धुन्धकारी देखिएका थिए । यस्ता अनेकन प्रेम र धोकाको अध्यायमा मानिसहरूका बीच कुराकानी हुन्थ्यो कि, सहकर्मीको रोजाइमा बीपीमा बढी त्रुटी छ, यस्तो चर्चा खुब हुने गर्थ्यो ।
बीपी सन् १९७७ नोभेम्बरमा उपचार गराइ अमेरिकाबाट फर्किनु हुँदा परशुनारायण र गिरिजा बाबु दुवै जनालाई पटना–काठमाण्डूको हवाइजहाजमै उहाँले प्रतिबन्धित नेपाली काङ्ग्रेसको महामन्त्री बनाउनु भएको थियो । राष्ट्रिय मेल मिलापको नीतिका साथ लामो भारत प्रवासपछि बि.स. २०३३ मा बीपी र उहाँका साथ गणेशमान सिंह, निलाम्बर पन्थी, शैलजा आचार्य, खुमबहादुर खड्काहरू काठमांडू हवाइ अड्डाबाटै गिरफ्तार गरिनुभएको थियो । केही समयपछि बीपीको स्वास्थ्य निकै बिग्रिएपछि राजा वीरेन्द्रले उपचारका लागि अमेरिका जान पेरोलमा रिहा गर्ने सदाशयता देखाउनुभएको थियो ।
उपचारपश्चात बीपी पटना हुँदै नेपाल फर्किनुभयो र पुनः थुनामा राखिनुभयो । यसअघि पटनामा नेपाली काङ्ग्रेसको सम्मेलन भएको थियो, जहाँ बीपीले किसुनजीलाई पार्टीको कार्यवाहक सभापति बनाउनुभयो । यो मेरो सौभाग्य थियो कि म एकदमै कम उमेरमा सप्तरीबाट त्यस सम्मेलनमा सहभागी भएको थिएँ । अँ, यही बेला बीपीले शानेवानिको बिमानमै बसी परशुजी र गिरिजाबाबु महामन्त्री नियुक्त गरिएको एक सानो विज्ञप्ति कुनै सहयात्रीलाई दिनुभयो, जो पछि सबैले थाहा पाए । यो एक छुट्टै रोचक ऐतिहासिक प्रसङ्ग हो । यसरी एकै पटक दुई जना महामन्त्री भएको शायद गिरिजाबाबुलाई त्यतिसारो मन परेको थिएन क्यार !
त्यस साँझ चावहिल मित्रपार्कको बीपी निवासमा शेख इद्रिस पनि हुनुहुन्थ्यो । परशुजीको पलायनपछि शेख साहेबले बीपीका प्रति दरो भरोसा जनाउनुभएको थियो । बीपीले विशेष नेताहरूलाई भोजनमा बोलाउनुभएको थियो । खानाको अन्त्यमा बीपीले रूचिपूर्वक खीर खाँदै गर्दा चक्रजी, चक्र बास्तोलाले कुरा उठाइहाल्नु भो । यो कुरा फेरि गिरिजाबाबुको पनि रूचिको कुरा भएको थियो । त्यसैले बीपीले यसको जवाफ नपन्छाउनुहोस् भनेर गिरिजा बाबुले चक्रजीतिर उन्मुख हुँदै जिज्ञासा गर्नुभो; के भन्नुभो अरे चक्रजी ? बीपी, गिरिजाबाबु, सुशील दा, शेख इद्रीस, भीमबहादुर तामाङ, वीरेन्द्र दाहाल, लक्ष्मण बस्नेत, बिरू लामा र म पनि; हामी सबै चक्र जीकाप्रति उन्मुख भयौँ । चक्र जी बीपीसँग सदैव निर्भिक रहनुहुन्थ्यो । गिरिजाबाबु सदैब थिचिएको ! चक्रजीले भन्नुभयो; हैन सान्दाजु, परशुनारायणलाई त तपाईंंले निकै पत्याउनुभएको थियो । उनले धोका दिए । तपाईंंलाई शंका थिएन ? के पहिलेदेखि नै उनिप्रति तपाईंको विश्वास अडीग थियो र ?
बीपीले चक्र जीलाई भन्दापनि गिरिजा बाबुतर्फ उन्मुख भइ सोध्नुभयो- गिरिजा कुनै पनि सहयोगीसँग तिम्रो सम्बन्ध विश्वासबाट शुरू हुन्छ कि आशंकाबाट ? गिरिजा बाबुले संकोचका साथ भन्नुभयो- म त लामो समयसम्म मानिसको परख गर्छु । शुरूमा त शंका गरिरहन्छु । परफेक्ट देखिएपछि मात्र विश्वास गर्छु । बीपीले सोध्नुभयो- ओखलढुंगा काण्डमा के भयो ? के कारणले नख्खुबाट झिकिएर लिला, ठगीहरू मारिए ? दुर्गा सुवेदीहरू किन तिमीसँग रहेनन् ?
बीपीले थप्नुभयो- सोच्दै गर्नु । म त विश्वासलाई नै आधार मान्दछु । पत्यार, अपत्यार, विश्वास र अविश्वास, भरोसा र धोका चिरन्तर र चिरस्थायी कहाँ हुन्छ र ? यो सर्वकालिक हुँदैन । मानिसको सोचलाई तत्कालिक परिस्थितिले निर्धारित गर्दछ । तत्कालिक परिस्थितिलाई भने उस्को बाध्यता, प्रतिकूलतालाई ब्यहोर्ने क्षमता, लोभ र निःस्पृहताले निर्धारित गर्दछ । यसर्थ, कोहीसँगको सम्बन्ध भने शुरूका दिनको विश्वास वा आशंकाको आधारमा सदैव निर्धारित भइरहँदैन । सबैले विस्तारै दुधको खीर सकेका थिए । मन मिठो भएको थियो । तर, यस सम्वादले भने सबैलाई, खासगरी बीपी वाहेक हामी सबैलाई उद्वेलित पारेको थियो ।
म त्यसबेला चावहिलको बीपी निवासमै बस्थेँ । मेरो उबेलाको उमेर नेताको कुरामा प्रश्न उठाउने थिएन । तर, बीपीले जे जवाफ दिनुभयो; मेरो लागि आज पनि प्रश्नरहित नै छ ! हो त, कोहीसँगको सम्बन्ध भने शुरूका दिनको विश्वास वा आशंकाको आधारमा सदैव निर्धारित भै रहदैन । को कहाँ रहन्छ, कोही कहाँ पुग्छ । तर, ज्ञान र इमानदारिता भने सर्वकालिक नै हुन्छ । आज नेपालको राजनीति अलिक बढी घात, प्रतिघात, प्रेम र धोकामा फसेको छ । हुनत् नेपाल मात्र हैन- सबैतिर यही अवस्था छ । बडेमानका विश्वासीहरूले नेताहरूलाई चटक्क छोडेर तम्बु फेरेको देखिन्छ । कसले यस प्रश्नको अकाट्य जवाफ दिएका छन् कि नेताका कुनै पनि सहयोगीसँग तेस नेताको सम्बन्ध विश्वासबाट शुरू हुन्छ कि आशंकाबाट ?
बीपीको आदर्श त मेरो मनमा छ । तर, मैले पनि मलाई पहिचान दिएको नेपाली काङ्ग्रेसलाई छोडे, अझ गिरिजा बाबुलाई छोडे । म स्वयं सँग पनि यसको जवाफ छैन कि ‘म विश्वासयोग्य थिएँ कि नेताले मलाई पत्याएको बखत उनि धोकामा परे, म आशंकायोग्य थिएँ ।’ जे होस्, यो मेरो इमान्दार स्वीकारोक्ति हो कि ‘साथ रहुन्जेल, पूरै इमान्दार थिएँ, भरोसायोग्य थिएँ ।’
आज बीपीलाई सम्झिँदै छु । थोरै भेटेँ तर भरपुर सम्झना छ । आज साउन ६ गते हो । केही थोरै काल उहाँको वरिपरिमा बित्यो । त्यसमा गर्व पनि अनुभव गर्दछु ।
अब थोरै नेपाली काङ्ग्रेसका बारेमा…
सधैं छलफल तथा विमर्शमा हुर्केको नेपाली काङ्ग्रेसको केन्द्रीय समितिको बैठक एक वर्षको अन्तरालमा बसेको छ । एक समय म पनि केन्द्रीय सदस्य थिए, प्रचार विभागको प्रमुख पनि । मुखपत्र ‘नेपाल पुकार’ को सम्पादनमा पनि सहभागी थिए । अहिले काङ्ग्रेस को के.स.को बैठक प्रविधिको बिकाससँगै ‘भर्चुअल’ माध्यमबाट सार्वजनिक छ । अनलाइन छ । यसो गरिँदा सदस्यहरूमी छलफलको गम्भीरता बढने हुन् कि सडक लोकप्रियताको ‘धतुरो’ चढने हुन थाहा छैन । तर, सामाजिक संजाल आदिमा त धेरैले राम्रो नै मानेको देखिन्छ ।
केहीअघि एमालेका अध्यक्ष केपी ओलीले अहिलेको नेपाली काङ्ग्रेसलाई झाडीमा फसेको बाह्रसिंगे भन्नुभएको थियो । मैले नि त्यहाँ ३५ वर्ष बढी समय बिताएँ । आज टाढाबाट नियाल्दै छु । बेला-बेलामा सोच्दछु के भएको होला काङ्ग्रेसलाई ? ओली महोदयको बाह्रसिंगे उपमा बडो चित्त बुझ्यो । यो उपमा दिँदा ओलीजीको आफ्नो कुनै प्रयोजन होला, मलाई त ‘झाडीमा फसेको बाह्रसिंगे’ यो पदावली मात्र मन पऱ्यो ।
सात दशकदेखि समुद्री आँधीमा फसेको जहाजजस्तो यो काङ्ग्रेसलाई हेर्दा धेरैलाई, धेरै पटक डुब्यो-डुब्यो लाग्या होला । तर, यौटा अजस्र शक्तिले यसलाई पार लगाउँदै ल्याएको छ । के त्यो शक्ति आज जाग्रत छ र ? म सोच्दै निदाउँथेँ, ब्युँझिन्थेँ । अर्धचेतनामा मैले खेलेको काङ्ग्रेसका खेतबारी, कान्लाहरूमा हिँडेडुलेका बेलाका केही पुराना नयाँ सम्झनाहरूको तरेली बिहान टिप्दै गएँ ।
संसदको निर्वाचनमा पराजित भएकालाई उच्च राजनीतिक तहमा नियुक्ति नगर्ने गणेशमान सिंहजीसँगको सहमतिविपरीत गिरिजाप्रसाद कोइरालाले रामशरण महतलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्नुभयो । यसपछि गणेश मानजीको चाहनाअनुसार दुर्गेशमान सिंहलाई भारतको राजदूतमा नियुक्ति गरिएन । यसको दुःखद परिणाम अतुलनीय विनाशकारी रह्यो । सरकारको नीति तथा कार्यक्रमउपरको मतदानमा आफ्नै पार्टीका ३६ जना सांसद अनुपस्थित भएर गिरिजाप्रसाद कोइरालाको सरकारलाई नैतिक संकटमा पारियो । पार्टीभित्र सल्लाह नगरी प्र.म. कोइरालाले चार जना नेतालाई मंन्त्री पदबाट हटाएको प्रतिशोध थियो त्यो । फलतः तत्कालिन संसद् विघटनको सिफारिश भयो । भनिन्छ, यो काङ्ग्रेसको अवनीतिको ओरालो थियो । आज धेरैले संसद् विघटनमा गिरिजाप्रसाद कोइरालालाई दोष दिन्छन् । तर, यसको चर्चा हुन्न कि आफ्नै सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमलाई ३६ जना सांसदहरू अनुपस्थित रहेर किन असफल पारे ? यसर्थ, संसदीय अभ्यासमा यसको परिणामलाई किन अवनीतिको स्वभाविक बाटो नमान्ने ?
कृषिमन्त्री शैलजा आचार्यले संसदमा मन्त्रालयभित्र भ्रष्टाचारको जालो छ, पन्छाउनै गाह्रो भयो भन्नुभएको थियो । संसदमा एमालेले रडाको मच्चाए । कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारको कृषिमन्त्री थिए झलनाथ खनाल । बहुदलीय व्यवस्था पुनःस्थापनपछि मल आयातमा पहिलो भ्रष्टाचारको कुरा त्यहीबेला उठ्यो । यसको केहीपछि सिपी मैनाली आपुर्तिमन्त्री भएको बेला भारत सरकारले कोटामा चिनीको आयातका लागि दिएको अनुमति शंकरलाल केडियालाई दिइयो । भ्रष्टाचारको यो दोस्रो ठुलो विषय थियो । शायद सिपीले राजिनामा नै दिनुपऱ्यो । संयोगले राजाको शासनपछि आएको बहुदलमा जन्मेको पहिलो र दोस्रो दुवै भ्रष्टाचारको विषय एमाले पार्टीसँगै सम्बन्धित थियो । यसपछि संसदमा शैलजाले बोल्नुभयो । एउटै सरकारका सहयात्री र उही सरकारको गृहमन्त्री रहेका शेरबहादुर, चिरन्जीवी वाग्लेहरू शैलजाका विरूद्ध एमालेलाई हौस्याए । अपमानित पारिएर शैलजा मन्त्री पदबाट राजिनामा दिनुप¥यो । काँडा झिकियो भनेर काङ्ग्रेसमा एकथरीको हर्ष बढाइँ भयो । काङ्ग्रेस चुकेको थाहै भएन । प्रम कोइरालाको सिफारिसमा संसद विघटन गरिएपछि काङ्ग्रेसमा देखापर्ने गरी चिरा प¥यो । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता महेन्द्रनारायण निधिसमेतले गिरिजा कोइरालालाई प्र.म.बाट बर्खास्त गर्न राजदरबारमा बिन्ती चढाउनुभो । राजालाई संविधानमा व्यवस्था नै नभएको हस्तक्षेपका लागि अपील गरियो । यसपछि संसदीय इतिहासका पहिलो सभामुख देवतुल्य कृष्णप्रसाद भट्टराईको संसदीय पद्धतिप्रतिको निष्ठा र संवैधानिक राजतन्त्रको समझमा प्रश्न खडा भयो ।
राजा वीरेन्द्रले सरकारको सहमतिबिना नै तत्कालिन राष्ट्रियसभामा १० जनालाई मनोनित गरेका थिए । नेपाली काङ्ग्रेसले यसको विरोध गरेको थियो । गणेशमान जी, कृष्णप्रसाद भट्टराई र गिरिजाबाबु सबैले राजाको यस कदमलाई संवैधानिक राजतन्त्रको पद्धतिको विपरित काम भन्नुभएको थियो । अब गिरिजाप्रसाद कोइरालालाई संविधानमा कही व्यवस्था नै नभएको पदमुक्त गरिनु पर्ने उक्त अपीलबाट नेपाली काङ्ग्रेस कै संवैधानिक राजतन्त्रको समझमा गम्भीर फरक प¥यो; राजाले खेल्ने मौका पाएँ । संसदीय दलमा शेरबहादुरजीको नाममा बहुमत नहुँदानहुँदै गिरिजाप्रसाद कोइरालाले शेरबहादुर देउवालाई संसदीय दलको नेता बनाउनुभयो । उबखत प्र.म. पदको स्वभाविक हकदार रहनुभएकी शैलजा आचार्य वा संख्यात्मक बहुमतमा रहेका खुमबहादुर खड्का गिरिजा बाबुसँगको प्रेमको पासोमा रहेरै पन्छ्याइए । शेरबहादुरजी प्र.म. हुनुभयो । कालान्तरमा उनै शेरबहादुरसँगको प्रतिस्पर्धामा गिरिजाबाबुले संसदीय दलको नेता पद परित्याग गर्नुप¥यो । सुशील कोइरालालाई संसदीय दलको नेतामा समर्थन गर्नुभयो र अपरिजेय कोइराला स्वंय पराजित हुनुभयो । राजा ज्ञानेन्द्रद्वारा पासोमा पारिएका आफ्नै पार्टीका प्र.म. शेरबहादुरजीलाई गिरिजाबाबुले प्रतिरक्षा गर्नुभएन । संकटकाल घोषणाको प्र.म. देउवाको निर्णयलाई पार्टी सभापति कोइरालाले के.स.को बैठकमा असफल गराउनुभयो । फलतः देउवाबाट संसद् विघटनको परिणाम आयो । कुनै समय गिरिजाबाबुले गर्नुभएको संसद् विघटनको सिफारिसलाई अक्षम्य अपराध देख्ने देउवा स्वयंले संसद विघटनको सिफारिश गरेको प्रतिरक्षा गर्न कति कठिनाइ सहनुपरेको थियो होला !
देउवा सरकारका मन्त्री रहेका जयप्रकाश गुप्ताले नेपाली सेना राजनीतिमा दख्खल दिँदैछ भन्ने वक्तव्य दिएका थिए । एमाले, विजुक्छे लगायतले संसदमा हंगामा खडा गरे । उनिहरू, गुप्ताले राजिनामा नदिइनहुने अड्डी लिए । सरकारको प्रवक्ताको रूपमा जयप्रकाश गुप्ताले भनेका कुराहरूलाई गिरिजाबाबुले पार्टी नीतिविपरीत ठान्नुभयो । पार्टीले गुप्तालाई मन्त्री पदबाट राजिनामा दिन भन्यो । देउवा मन्त्रीमण्डलले गुप्ताको प्रतिरक्षा ग¥यो र, आमोद उपाध्याय र महेश आचार्यसमेतको मन्त्री मण्डलको बैठकले सर्वसम्मतिबाट गुप्ताले राजिनामा दिन नपर्ने ठहर गरी वक्तव्य निकाल्यो । तर, गिरिजाबाबुले मान्नुभएन । मन्त्री गुप्तालाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरियो । यही विवादमा आमोद उपाध्याय र महेश आचार्यले मन्त्री पदबाट राजिनामा दिनुभयो । यद्यपि, देउवाले जेपी गुप्तालाई मन्त्री पदबाट हटाउन मान्नुभएन । कुनै समय संसदमा प्रतिपक्षी एमालेले मन्त्री शैलजाको राजिनामा माग्दा आफ्नो पार्टीका सदस्यहरूले पार्टीका मन्त्रीको प्रतिरक्षा गर्नुपर्ने अडान लिनुभएका गिरिजाबाबु आफ्नै पार्टीका मन्त्री जयप्रकाश गुप्तालाई एमालेको सहमा पार्टीबाटै निकाल्नुभयो ।
नेपाली काङ्ग्रेसभित्र अत्यधिक शक्तिशाली रहनुभएका प्र.म. गिरिजा बाबुकाविरूद्ध संसदीय दलको नेतामा उम्मेदवारी दिने सहास चिरन्जीवी वाग्लेले गर्नुभयो । गुटको तर्फबाट यो पहिलो संस्थागत प्रयास थियो, जसमा गणेशमानजी र किसुनजीको खुला आशीर्वाद थियो । यिनै चिरन्जीवी वाग्लेले सृजना गर्नुभएको गुट शेरबहादुरजीको नेतृत्वमा स्थानान्तर भयो र सोही पृष्ठभूमिमा आज देउवाजीको हालीमुहाली अविच्छिन्न छ । पछि यिनै चिरन्जीवीजी सबभन्दा पहिला काङ्ग्रेसलाई जनस्तरमा बदनाम पार्ने शाही डिजाइनको पात्रमा चुनिनुभयो । राजाले भनेपछि देउवाजी हामी धेरैका सामुन्ने मन्त्री पदबाट वाग्लेजीको राजिनामा माग्नुभयो । ‘वाग्लेजी, आइदर यू सम्मिट रेजिनेशन आर प्रिपियर्ड फोर जेल’ बैठकमा देउवाजीले राजाको इच्छा, तत्कालिन अख्तियार प्रमुख सूर्यनाथ उपाध्यायको तयारी आदि सम्झाउँदै पद त्याग गर्न वाग्लेलगायत हामीलाई गरेको अनुरोध हामी मुर्खहरूले बुझेनौँ । अड्डी कस्यौँ र पालैपालो भ्रष्टाचारमा फसाइएर जेल गयौँ, समाप्त भयौँ, मऱ्यौँ । जबकि देउवाजी शाही भ्रष्टाचार आयोग आदिलाई छिचोल्दै वटबृÞक्षझैँ झ्याँगिनुभएको छ । आरजु देउवा गम्भीर आरोपमा रहेर पनि निश्चिन्त छिन् ।
प्र.म. शेरबहादुर देउवाले माओवादीसँग शांतिवार्ता थाल्नुभएको थियो । एमाले पनि भित्री रूपमा माओवादीसँग वार्ता थालेको थियो । यस वार्तामा गिरिजा बाबुले प्र.म. देउवालाई बल दिनुभएन । सहयोग गर्नुभएन । हङकङबाट सोझै दिल्ली पुगेका गिरिजाबाबुले आफु प्र.म. बनेमा माओवादीसँग शान्ति वार्ता टुंग्याउने भनेर सहमति गर्नुभयो । काङ्ग्रेसको फुटलाई दरिलो बनाउन एमालेले कोइरालालाई साथ दिएर काङ्ग्रेसी चिरालाई फाटोमा रूपान्तरित गरे । शेरबहादुर प्र.म. रहनुभएन । दिल्ली सहमतिपछि शान्तिवार्ता भइ माओवादी सतहमा आयो, राजा र राजतन्त्र सकियो । गिरिजाबाबुले भने आफूलाई इतिहासमा अमर बनाउनुभयो ।
चिरन्जीवी वाग्ले र खुमबहादुर खड्कालाई भ्रष्टाचारको मुद्दामा सर्वोच्च अदालतले जेल हुलेपछि नेपाली काङ्ग्रेसको केन्द्रीय समितिको बैठकले यसबारे सर्वोच्च अदालतमा पुनरावलोकन गरिने ठहर गऱ्यो । मधुर र अदालतमैत्री भाषामा पार्टीले सो आशयको एक वक्तव्य निकाल्यो । देउवाजीहरूले यसको कडा प्रतिवाद गर्नुभयो । रडाको मच्चाउनुभयो, काङ्ग्रेस आफ्नो परम्पराको विपरीत अदालतको खिलाफमा जान नहुने जिकीर लिनुभयो । फलतः नेपाली काङ्ग्रेसले आफ्नो वक्तव्य फिर्ता लियो । अदालतको सम्मान गरेको भन्यो ।
आज यस्तै विवादले काङ्ग्रेसलाई घेरेको छ । देउवाका प्रियपात्र बालकृष्ण खाण जेलमा छन् । गगन थापाहरू खाणलाई काङ्ग्रेसको केन्द्रीय सदस्यबाट निलम्बन गरिनु पर्ने माग गरिरहेका छन्, देउवा पटक्कै तयार छैनन् । केन्द्रीय समितिमा यसबारे भैरहेको बहस दुनियाँले हेरिरहेको छ । थाहा छैन, खाणहरूका बारेमा काङ्ग्रेसले के निर्णय लिन्छ । तर ८-१० वर्ष पहिले नेपाली काङ्ग्रेसले अत्यन्त दुःखमा रहेका ‘आफन्त’हरू चिरन्जीवी वाग्ले र खुमबहादुर खड्काको घाउमा मलम लगाउन चाहेन । तर, ती ‘प्रहरी’ खाणहरू भाग्यमानी हुन् जसका लागि आज नेपाली काङ्ग्रेसले चट्टानी अडान लिएको छ ।
भ्रष्टाचारको मुद्दामा २ वर्षसम्म वा यस भन्दा कम कैद सजाय पाएको व्यक्तिलाई कैद भुक्तान भएको मितिबाट ६ वर्षसम्म निर्वाचनमा भाग लिन बन्देज रहने प्रावधान अनेकन प्रजातान्त्रिक मुलुकहरूमा छ । भारतमा, इटालीमा कयौँ मुलुकमा छ । तर, नेपालमा यस्ता व्यक्ति आजीवन निर्वाचन लड्न नपाउने व्यवस्था भयो । निर्वाचन कानूनको मस्यौदा गरी पठाउँदा निर्वाचन आयोगले त्यस्ता व्यक्तिको हकमा ६ वर्षसम्म बन्देज रहने प्रावधान नै मस्यौदा गरी तालुकवाला मन्त्रालय, गृहमन्त्रालयमा पठाएको थियो । त्यसबेलाका गृहमा मन्त्री विमलेन्द्र निधीले यस प्रावधानलाई बदल्नुभयो र २ वा २ वर्षभन्दा कम अवधि जेल सजाय भोगेको मानिससमेत निर्वाचनमा भाग लिनबाट आजीवन अयोग्य रहनुपर्ने व्यवस्था भयो । यो गुह्य कुरो सबैले जानेका छन् कि, नेपाली काङ्ग्रेसभित्र खुमबहादुर खड्कालाई पन्छाउन यसो गरिएको हो । उहाँलाई काङ्ग्रेसको उपाध्यक्ष नदिनका लागि यत्रो उपक्रम रचियो । यौटा सानो स्वार्थका लागि काङ्ग्रेसले सर्वकालिक सोच बनाउन सकेन । जबकि उही काङ्ग्रेस सम्मिलित सरकारले जस्तोसुकै अपराध गरेपनि राजनीतिक मुद्दाको नाममा सो मुद्दा फिर्ता लिन सकिने गरी मुलुकी ऐनमा संशोधन प्रस्ताव संसदमा पेश गरेको छ । शायद, हामी १/२ जना राजनीतिका लागि जीवन भर अयोग्य रहने छौँ, जबकि आफताव आलमहरू जेलबाट छुटेर राजनीति गर्न पाउने छन् ।
केही वर्षअघि २,५०,००० पनि सकृय सदस्य नरहेको नेकाले २०५ सीटको संसदमा ११५ सांसद पठाएको थियो । हाल काङ्ग्रेसले ८ लाख सदस्यताको दाबी गर्दा समानुपातिक समेत २७५ को संसदमा नेकाको ८८ जना छ । अझ सन् २४ मा काङ्ग्रेसले १० लाख सकृय सदस्य बनाउने लक्ष्य लिएको छ । यसरी काङ्ग्रेस माथि उक्लिँदा यस पार्टीको कति सांसद पुग्ने हो संसद्मा ?
पार्टीमा देउवाको कडा तथा बलियो पकड छ, जबकि यसबारे चर्चा छैन कि पार्टीको प्रभावकारिता नेताको दरो पकडबाटै हुन्छ र ? सोच्दछु- इतिहासमा नचुकेको काङ्ग्रेस, कहिल्यै नझुकेको काङ्ग्रेस आज कहाँ पुग्दैछ ?
प्रतिक्रिया