file photo
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोशी प्रदेश सरकार उद्धव थापाकै नेतृत्वमा गठन हुने जिकिर गरेका छन् । आगामी सात दिनभित्र थापाकै नेतृत्वमा गठबन्धन सरकार निर्माण हुने उनको विश्वास छ ।
विराटनगर विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै नेता डा. कोइरालाले कामचलाउ मुख्यमन्त्रीको रुपमा रहेका थापा नेकां संसदीय दलका नेतासमेत रहेकाले आगामी सात दिनभित्र उनैको नेतृत्वमा गठबन्धन सरकार निर्माण हुने बताए ।
विगतमा आफूले सभामुखले सरकार निर्माणमा हस्ताक्षर गर्नु गलत हो भन्ने कुरा अहिले पुष्टि भएको चर्चा गर्दै नेता कोइरालाले नेकां लोकतन्त्रवादी पार्टी भएकाले यसले अन्य राजनीतिक दल यससम्बन्धी पाठ सिकाउने धारणा राखे ।
महासमितिको बैठकको समयमा नीति अधिवेशन गर्ने जानकारी दिँदै उनले अधिवेशनले पार्टीको आर्थिक नीति, मुलुकमा सुशासन, किसानका समस्या समाधान गर्नेजस्ता निर्णय लिने बताए ।
सञ्चारकर्मीको फरक सवालमा नेता कोइरालाले विदेशबाट सुन स्वदेशमा खपतका लागि नभइ तस्करीका लागि आउने गरेकाले यसलाई रोकथाम गर्न र यसबाट मुलुकलाई पर्ने आर्थिक नोक्सानी न्यूनीकरण गर्न संसदीय समितिले निर्णय गर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया