महान् चाड तीज : चेली र माइती दुवैलाई सकस !

महान् चाड तीज : चेली र माइती दुवैलाई सकस !


बाबुआमासँग सुखदुःख बाँड्ने सुनौलो अवसर पनि हो तीज । बाबुआमा छैनन् वा जान सम्भव छैन भनेचाहिँ जति नै गरीब भए पनि दाजुभाइकोमा गएर तीज मनाउँदा मनमा उमङ्ग भरिन्छ । आपसी सम्बन्धमा मधुरता थपिन्छ, सम्बन्धमा निखारताका साथै गाढा बन्न पुग्छ । माइतीले चेलीलाई वा चेलीले माइतीलाई केही सहयोग गर्नुपर्ने भएमा यो सुवर्ण अवसर पनि हो ।
✍ सुन्दर शर्मा

ठुलो एकादशीदेखि नै हिन्दु घर्मावलम्बीका चाडपर्वको आगमन बाक्लिँदै जान्छ । महिलाको महान् चाड नामाकरण गरिएको तीज आउन अब धेरै दिन बाँकी छैन ।

भाद्र महिना सुरु हुँदैगर्दा आम चेलीबेटीको मन चञ्चल भइदिन्छ । चारैतिर घन्किएका तीज भाकाले पनि कति चेलीलाई बेचैन बनाउँछ । यो बेचैनी तीजमा जन्मघर कसरी जाने भन्ने कुराको हो ।

केही बर्ष यता तीजलाई देखावटी, आडम्बरयुक्त र खर्चालु बनाइएको छ । नचाहँदानचाहँदै पनि कैयौँ महिला यी अनावश्यक क्रियाकलापमा रुमलिन पुगेका छन् ।

आज म चेलीबेटी र माइतीलाई यो महान् चाड तीजले कसरी सकस पारिरहेको छ केही उदाहरण देखाउने जमर्को गर्दैछु ।

माइती पक्ष (दाजुभाइ)

तीज आयो, दिदिबहिनीलाई बोलाउनुपर्ने भनी सोच्दा नै त्यो कोठावाला दाजुभाइको पसिना छुट्न थाल्छ । नछुटोस् पनि कसरी ? महिना मर्दा आको ३५ हजारले कोठाभाडा, बच्चाको फिस, खाने-बस्ने ब्यवस्थापन जस्ता यावत् कुराको जोहो त्यही रकमबाट गर्नुपर्ने हुन्छ ।

तीज आयो बुढा दिदिबहिनीलाई बोलाउनु पर्ने, रमा टाउको कन्याउँदै विषयबस्तुको थालनी गर्छे । खै बोलाउनु त पर्ने, यो साँघुरो ठाउमा कसरी खाने बस्ने ब्यवस्थापन गर्नै गाह्रो क्या । बुढाले सुइँय गरेर जवाफ फर्काउँछ ।

हामीजस्ता निम्न आम्दानी हुनेलाई त यस्ता चाडपर्ब नआइदिए पनि हुने नि है बुढी भन्दै रमालाई अल्मल्याउन खोज्छ । रमा जुरुक्क उठेर जवाफ फर्काउँछे- हैन यसो भनेर मात्र कहाँ मिल्छ र ? चेलीबेटी पनि माइती आउने यहीँ मेसोमा त हो नि । सबै हुनेखाने त कहाँ हुन्छन् र ? आ-आफ्नो गच्छेअनुसार व्यवहार गर्ने हो । स्वच्छ मन र असल नियतले गरेको माया खेर जाँदैन क्या बुढा, सानो मन नगर ! माथिबाट भगवानले हेर्छन् । बुढा फेरि बोल्न थाल्छ- खै ! भगवानले हेर्छन् कि आँखा चिम्लन्छन् त्यो त थाहा भएन, तर आफ्नो दुःखचाहिँ आफैले मात्रै देख्ने र भोग्नेचाहिँ पक्कै रहेछ बुढी, मैले जानेको त यही हो ।

दुई-चार पैसा कमाउन सकिन्छ कि भन्ने ध्याउन्नमा जीवनलीला नै समाप्त हुने दिन टुप्लुक्क आइपुग्ला जस्तो छ । विभिन्न उकाली र ओरालीको संमिश्रण हो जिन्दगी भनेको सुनेको थिएँ तर मलाई त दुःखैदुःखको भवसागर जस्तो लाग्यो जिन्दगी ।

रमा सान्त्वना दिँदै अगाडि बोल्छे- यसरी हिम्मत हार्नु हुँदैन । आफन्तजनसँग प्रेम बाँड्यो भने प्रेम बर्सन्छ । प्रेमरुपी वर्षाले नै जीवन हराभरा बनाउन सक्छ । प्रेम हृदयको एउटा कुनामा अङ्कुराएको बिजलाई विशाल वृक्ष बनाउन सक्ने आधारशीला हो । त्यसैले नन्द आमाजुलाई बोलाउनुपर्छ तीज मान्न । हाँसौला, नाचौँला रमाइलो गरौँला । बस्ने ठाउँ पो साँघुरो छ, चेलीबेटीलाई माया गर्ने हृदय त विशाल छ नि हाम्रो । आफ्ना जनले दुःखमा पनि सुखानुभूति गर्छन् । हाम्रो स्थिति चेलीबेटीले नबुझेका, नदेखेका होइनन् क्यारे ! भाडाको बसाइ यस्तै हुन्छ भन्ने सबैले बुझेका छन् ।

जे-जस्तो भए पनि खुशी-खुशी तीजमा चेलीलाई बोलाउने निधो गरे माइतीले ।

चेलीबेटीलाई दिने चुरा-टीका-पोते अथवा सकेमा कपडा आदि किन्नैपऱ्यो । चेलीबेटीले प्रयोग गर्न नरुचाए पनि यस्ता सरसामान तीजमा दिनैपऱ्यो । दरखाने दिन मीठो मसिनो, तारेको, झानेको, बेलेको, घुमाको अनेक परिकार सकिनसकी बनाउनैपऱ्यो । किनकी चेलीबेटी अलि उचो घरानाका छन् । आफ्नो घरको जस्तो नभए नाक खुम्च्याउन बेर लाउँदैनन् । तीजका दिन दिदिबहिनी, भान्जाभान्जीलाई टीकाटालो गर्नैपऱ्यो । विचार गरौँ त त्यो भाडामा बस्ने माइतीको हालत कस्तो भाको होला, सकस कति होला ।

फेरि चेलीबेटी पनि एक्लै कहाँ आउँछन् र ? चच्चाबच्चा, घरको काम गर्ने नोकरसमेत ल्याउँछन् । अब सुत्नलाई कत्रो सकस । महलमा बस्ने चेलीलाई कोठामा बस्ने माइतीका बिस्तरा गन्ध आउँछ । खाने–बस्ने रुटिन नै मिल्दैन चेलीलाई, अर्को सकस । उच्च घरानाका भान्जाभान्जी र आफ्ना बच्चाको व्यबहार नै मिल्दैन । घरका बच्चाले आफू अपहेलित महसूस गरी मन दुखाउँछन् अर्को सकस ।

खाना खाइवरी चेलीबेटीसँग केही समय बसेर गफिनै पर्यो । गफ त के भनौ, उनीहरूका पैसा र पावरका पुराण । दिनभरिको धन्दाले भाउजू बुहारी थाकेर लखतरान छन्, भोलि तीजको ब्रत छ । यसो पल्टेर आराम गर्न पाए हुँदो हो सोच्छन् भाउजुबुहारी, तर चेलीबेटी बुझ्दैनन् । खुट्टा पसारेर आफ्नै रवाफिला पुराण भट्याउनमै मनमग्न छन् ।

ए चाड त यी भाउजुबुहारीको पनि त हो नि, हामी पनि यसो सघाउँ भन्ने सोच पटक्कै आउँदैन चेलीबेटीमा ।ब्यवहारिक भाउजू बुहारी कसैलाई पीडा देखाउँदैनन्, सबैका सामु खुशी हुन्छन् ।

तीजको दिन मन्दिर जाने बेला चेलीबेटी तलदेखि माथिसम्म सुनले पहेँलै हुन्छन् । ब्रान्डेड सारीमा सजिन्छन् । तर भाउजू बुहारी अघिल्लो वर्षकै कपडा लाउन बाध्य हुन्छन् । ती भाउजू बुहारीलाई चेलीसँग मन्दिर जाँदा स्तर नमिलेको नमिठो अनुभव हुन्छ, अर्को सकस । हुनेखाने चेलीले पनि आफ्ना भाउजू बुहारीलाई आफ्नो जस्तै एकजोर कपडा ल्याइदिए सम्बन्धमा अमिलोपन मिसिन पाउने थिएन । के नै सकिन्थ्यो र चेलीको पनि । तर आम महिलामा त्यो खालको सोच देखिँदैन । ‘मै खाउँ मै लाउँ’को सोचले जरो गाडेको हुन्छ । जति नै माइती गरिब भएपनि माइतीले नै चेलीलाई दिइरहनुपर्ने, चेलीले लिइरहनुपर्ने यो कुसंस्कारलाई परिवर्तन गर्न जरुरी छ । सक्नेले नसक्नेलाई हेर्नुपनेस् संस्कारको विकास गरौँ । हामी सबैले आफ्नै घरबाट यो कामको थालनी गऱ्यौँ भने समाजमा परिवर्तन अवश्य पनि देखिने छ ।

हाम्रा कतिपय सांस्कृतिक परम्परा बितेका यादहरूलाई कलात्मकतामा पस्कनको लागि महत्वपूर्ण बनिदिन्छन् । समय बदलिरहन्छ तर हाम्रा यी परम्पराहरू बदलिनु हुँदैन भन्ने मान्यता अझै पनि कायमै छ । आफ्नो सजिलोको लागि परम्परालाई बदल्नु पनि हुँदैन । त्यसैले यो तीज जस्ता चाडपर्वमा सकेसम्म जन्मघरमा आमा बुबासँग मनाउनु उचित हुन्छ । त्यही मेसोमा बाबुआमासँग भेटघाट हुन्छ । बाबुआमाको रेखदेख गर्ने मौका पनि मिल्छ । जन्मेको ठाउँ बिरानो हुन पाउँदैन । बाबुआमासँग सुखदुःख बाँड्ने सुनौलो अवसर पनि हो तीज । बाबुआमा छैनन् वा जान सम्भव छैन भनेचाहिँ जति नै गरीब भए पनि दाजुभाइकोमा गएर तीज मनाउँदा मनमा उमङ्ग भरिन्छ । आपसी सम्बन्धमा मधुरता थपिन्छ, सम्बन्धमा निखारताका साथै गाढा बन्न पुग्छ । माइतीले चेलीलाई वा चेलीले माइतीलाई केही सहयोग गर्नुपर्ने भएमा यो सुवर्ण अवसर पनि हो ।

चेलीबेटी पक्ष

सन्जु ! ए सन्जु !! तीज आयो त दाजुभाइले बोलाका छैनन् ? सन्जु बिस्तारै शान्त स्वरमा जवाफ दिन्छे- किन नबोलाउनु ! दाजुले अस्ति फोन गर्दै तीजमा आउ है भन्नुभयो । भाइले हिजो फोन गरि दरखाने दिन बिहानै आउ है दिदी भान्जाभान्जी लिएर भन्दै थियो ।

बुढो सोध्छन्- के गर्छेउ त जान्छेउ कि नाइ ? सन्जु बोल्छे- खै जाउँ कि नजाउँ.. दोमन भाको छ । जाउँ दुई-तीन दिनको लागि पनि घरको सबै ब्यवस्थापन मिलाउनु पर्ने । नजाउँ, सन्जु ठुली भइ, मातचढ्यो भन्ने लाल्छना लाग्ने ! अर्को दाजुभाइ रिसाउलान् भन्ने डर ।

माइती जान त कुन चेलीलाई मन नलाग्ला र ? तर माइती जाँदा आफूलाई आइपर्ने सकसको महाभारत कस्ले देख्ने, कस्लाई सुनाउने ? ।

कहिलेकाहीँ आउने हाम्रा मौलिक चाडपर्व पनि समाज, भिन्न परिवेश, रीतिथिति, सँस्कार, नचाहिँदो आडम्बर आदिले गर्दा झर्काे मान्नुपर्ने दिन पनि आउँदोरहेछ भन्दै गालामा हात राखेर टोलाएर बस्छे सन्जु ।

सासू जाउँ भन्दैहुनुहुन्छ । तर सन्जुलाई माइती जान पटक्कै मन छैन, माइती र आफ्नो स्तर नमिलेको कारणले । अमुर्त तर्क र वितर्कका विभिन्न आकार मनभित्र कोरिएका छन् । माइतीको मिष्ठान्न भोजनभन्दा घरकै खोले प्यारो भन्ने कुराले उसको मन बहकिरहेछ । सन्जु भित्र पस्छे फेरि बाहिर निस्कन्छे । निधारभरी झरेको कपाल सोहोरेर टुपीनेर पुऱ्याइ रबरले टसक्क बाँध्छे । उसको अनुहारमा एक किसिमको तुफान देखिन्छ भने मन बेचैन छ । घरी-घरी म जस्ता चेलीलाई यो तीज कहिले न आए हुने नि भन्दै एकोहोरो फतफताउँछे । उसलाई आफ्नो लोग्नेप्रति कुनै गुनासो छैन । गुनासो छ त केवल नियतिप्रति। घर र माइती समान स्तरको बनाउन नसक्ने नियतिप्रति उसको ठुलो गुनासो छ ।

यदि गाउँ आमाकोमा जान मिल्ने भए पाँच हात उफ्रेर कुँद्थी होला सन्जु । सारा दुःखकष्टका भारी आमाको काखमा बिसाएर २-४ दिन भएपनि सुबिस्तासित बस्थी होला । उ गुनगुनाउछे- के गर्ने ! म अभागीको माइती पऱ्यो नौ डाँडा पारि । जातेआते खर्चले दुई महिनाको गर्जो टर्छ, कसरी हिम्मत गर्नु ? ।

दिल खोलेर पिरमर्का बिसाउने सबैभन्दा उत्तम ठाउँ भनेको आमाको काख नै रहेछ । तर, मलाई त्यो सौभाग्य जुर्दै जुरेन । तीजमा छोरी सम्झेर उता आमा रुने, यता आमा सम्झेर म छोरी रुने । यस्तै नियति भोग्नुछ मलाई । उ एकसुरमा भुटभुटिन्छे- ‘कस्तो संस्कार बनायौ नि ईश्वर, आफू जन्मेको घरमा आफै नअटाउने ? पराइ घर गएपछि पनि त्यही अटाउन नसकेको घरकै माया र सुर्ता हरदम भइरहने ।’

सन्जुको गुनासो वा मनदुखाइ यस्तो छ- म चेली दुइटा कोठाको भाडामा बस्ने, माइती महलमा । कुरा गर्ने तरिका मिल्दैन, चालचलन मिल्दैन, सोच मिल्दैन, व्यवहार मिल्दैन । नजाँदा पनि सुख छैन । माइती पराइ होलान् भन्ने डर ।

तीज खर्च भनेर सन्जुले तीन हजार छुट्ट्याएकी छ । उ हिसाब मिलाउन खोज्दैछे- माइती जाँदा लाने फलफूल, आफुलाई चुरापोते त्यसैबाट लिनुछ । सबै सामानको मुल्यले सिमा नाघेको छ । एक हजारको फलफुल किन्दा पनि सानो झोला भरिँदैन । तीजको बेला छ, भाउजू बुहारीलाई पनि यसो चुरा टीका लगिदिनै पऱ्यो । केही नलादा मुख अमिलो बनाउलान् भन्ने डर । ओहो ! यो सबै गर्न त्यो तीन हजारले भ्याउला त ? उ घोरिन थाल्छे । अझ बच्चासहित ट्याक्सी चढेर जानुपर्नेछ । मेरोबाट ढ्याक्कै सात सय लिन्छ । ए मेरा बाबै !!! त्यो तीन हजारले त कसैगरे पनि पुग्ने देखिँदैन । अरु दुई हजार भए त कसो नपुग्ला र ! सन्जु औंला भाँच्दै हिसाब मिलाउन खोज्छे ।

तीजको दिन पशुपति जाउ भन्लान् भाउजू बुहारी । उनीहरूका कपडा गहना र मेरा सामानमा आकाशजमिनको फरक पर्छ । यस्तो दृश्यले आफूलाई हीनताबोध हुन्छ । फेरि मेरा बच्चा अलिक चकचके छन् । केही किम्ती सामान चलाउलान्, फुटाउलान् अनि वचन सुन्नुपर्ला । यो पनि त सकस नै हो चेलीलाई ।

शहरी दाजुभाइकोमा जानै सङ्कोच क्या ! न चालचलन मिल्छ न त बालबच्चाको व्यवहार र हैसियत । साँघुरिएर, दबिएर, खुम्चिएर, निहुरिएर बस्नुपर्ने भएपछि माइती पनि के जानु र भन्ने कुरा सन्जुको मन र आत्माले बुझेको छ । जहाँ जादा स्तरको कारण मन कुँडिन्छ, आफ्नो चित्त दुखाउनुपर्छ भने त्यहाँ नजानु नै ठिक भन्छ उसको आत्माले । दाजु-भाउजू वा भाइ-बुहारीको बोझ बनेर माइती जान उसलाई पटक्कै मन छैन । जाँदा पनि सकस नजाँदा झन् ठुलो सकस ।

अन्तमा
आफ्ना अनगिन्ती सकसलाई ब्यवस्थापन गरेर माइतीले चेलीलाई तीज मान्न हृदयदेखि बोलाका हुन्छन्, माइती धनी वा गरिब जस्तो पनि हुन सक्छन् । त्यसैले चेली पनि माइतीको इज्जत बनिदिनुपर्छ । गरिब माइतीलाई गन्दैनगन्ने चेलीले यो बिर्सनु हुँदैन कि ती गरिब दाजुभाइ उनका मातापिताको लागि बलेको दियो हुन् । सकिन्छ दाजुभाइलाई धनी चेलीले साथ देउ, सहयोग गर, होइन भने अपमनितचाहिँ नगर, गरिब भनेर उनिहरूको आत्मसम्मानमा ठेस पुग्ने काम नगर ।

त्यसैगरी आफ्ना अनगिन्ती सकसलाई पन्छाउँदै माइतीको निमन्त्रणा स्विकार्दै चेली तीजमा माइती आएका हुन्छन् । पहाड जस्ता घरायसी समस्याका बाबजुद माइतीको इज्जत बनिदिन आएका हुन्छन् । त्यसैले उनीहरूको आत्मसम्मानमा आँच आउने वा ठेस पुग्ने कुनै कार्य नगरौँ दाजुभाइले । कहिलेकाहीँ माइती आएका चेलीलाई मीठो मुस्कानले स्वागत गरौँ । घरमा आटोपिठो जे उपलब्ध छ त्यसलाई आत्मियताले पस्केर दिँदा चेलीलाई चौरासी ब्यन्जन बनिदिन्छ । चेलीले माइतीबाट कुनै ठुलो कुराको आश गर्दैनन् । आएको बेला वातावरण सौहार्द्धपुर्ण रहोस्, बस्… यति मात्र चाहाना हुन्छ चेलीको ।

प्रत्येक नारी माइतीघरमा छोरी-चेली बन्छन् भने कर्म घरमा भाउजू बुहारी । त्यसैले आफुलाई माइतीले कस्तो व्यबहार गर्दा खुशी लाग्छ, हो त्यसरी नै आफ्ना नन्द आमाजुलाई व्यबहार गरिदिने हो भने कुनै चेलीको मनदुखाइ हुनेछैन । यसले गर्दा तीज जस्ता महान् चाडलाई बोझको दृष्टिले हेर्नुपर्ने बाध्यता रहँदैन ।

यहाँ प्रस्तुत गरिएका कुराहरू करिव ९० प्रतिशत घरका साझा कथा र ब्यथा हुन् । कसैको ब्यक्तिगत जिबनमा मेल खाएमा त्यो संयोग मात्र हुनेछ ।