प्रतिष्ठान गठन र गनेसियाको भ्रम !!

प्रतिष्ठान गठन र गनेसियाको भ्रम !!


✍ ज्ञानमणि भुर्तेल

राम..राम.. ज्ञानमनि मालिक !

राम राम गनेसिया ! कताबाट आइस् हौ यति बिहानै ? आइज बस ! मैले नजिकैको कुर्सी देखाएँ ।

यता निचामें ठिक छ मालिक भन्दै गनेसिया भुइँमै टुक्रुक्क बस्यो । ‘के कामले आइस् त ?’ को जवाफमा एउटा फर्सीको गट्टो मतिर तेस्र्याउँदै बोल्यो- तपैँको मुवारक दिनुलागी आएछु । सुनेछु तपैँ सहितको बड्का मान्छी हुनुभएछ !

के भन्छ यो केटो ? म कसरी साहित्यको बड्का मान्छे भएँ ?

ओम सराविको लागरिक अफेमले तपैँको नाम बोलेछ । नगरपाल्काको मयुरले साहित कला पर्तिष्ठाको आपिस खोलेछ । उसमें सबसे उपरमें तपैँको नाम लिखेछ ।

अचम्म लाग्यो ! कसरी मेरो नाम एफएममा आयो ? त्यो पनि सबसे उपरमा भन्छ गनेसिया । कौतुहलता मेटाउन भद्रपुरका ‘आजतक’ नकुलकाजीलाई फोन लाएँ- दाजु ! सगरमाथा चोकको गनेसिया मसँग छ । ‘ओम सराविको लागलिक अफेमले तपाईंको नाम भन्यो’ भन्दै बधाई दिन आएको छ । खै के प्रतिष्ठानको कुरो पनि गर्दैछ । यो लागरिक अफेम भनेको के हो ? भद्रपुरमा के भएको दाजु ? म त बिर्तामोडमा छु । कन्फ्युज पो गरायो यसले त !

नकुल दाइ निकैबेर हाँस्नुभो । म झनै कन्फ्युज !! केही बेरपछि प्रष्ट्याउनुभो- भद्रपुर नगरपालिकाले साहित्य कला संगीत प्रतिष्ठान गठन गरेको कुरो मैले पनि ओम सरावगी अध्यक्ष रहेको नागरिक एफएमबाट सुनेको हो । चिन्तामणि दाहाल अध्यक्ष रे । चिन्तामणि सुन्नुपर्नेमा ज्ञानमणि सुनेर बधाई दिन आएको होला । अगाडिको नमिले पनि पछिल्लो मणि मिलेकै छ ! मेरो तर्फबाट पनि बधाई छ भाइ ! ऐंसेलुको झाङमुनिको चिसोपानी छर्किंदै व्यंग्यात्मक बधाई दिनुभो नकुल दाइले !

अब चै हाँस्ने पालो मेरो थियोे । बिचरो सोझो गनेसिया तिर हेर्दै मैले प्रष्ट गरेँ- हेर भाइ ! तैंले उल्टो बुझिस् । मेयरले भद्रपुरमा साहित्य कला संगित प्रतिष्ठान गरेका रैछन । चिन्तामणि दाहाल अध्यक्ष । तैंले चिन्तामणि सुन्नुपर्नेमा ज्ञानमणि सुनिस् ! मजस्तो छुचुन्द्रेलाई क्षेत्रिय प्रतिनिधि दिन त आमा मरेजस्तै पिर मान्छन्… कताबाट प्रतिष्ठानको बड्का मान्छे बनाउनु ?

गनेसिया ट्वाल्ल प¥यो । केही बुझेझैँ टाउको हल्लाउँदै बोल्यो- हुँ.. रेड्योमें देवा जस्तो आवाजमें भ्यारभ्यार कर्दैथ्यो । भनेछ चिन्तामणि, म बुझेँ ज्ञानमणि । फिस्स हाँस्यो गनेसिया ।

मोरा ! जा अब चिन्तामणि सरलाई लगेर दे । अध्यक्षलाई ल्याको फर्सी म खान्नँ ।

खैनीको बट्टा निकालेर खैनी मोल्दै बोल्यो- नहीं मालिक । यो तपैँ राखिलिनुस् । म चिन्तामनी सर चिन्देन । म त ढेरी बरस देखि तपै सङमें जानपहचान हो ।

लौ ! क्याम्पसको सर पनि चिन्दैनस् ? पत्रकार पनि हो उहाँ । साहित्यकार पनि हो । आफ्नै गाउँको मान्छे चिन्दैनस् ? कसरी गरिखालास् मोरा !

मेरो कुरालाई खासै महत्त्व नदिइ बिस्तारै मेरो छेउमा आएर फुस्फुसायो- ‘मालिक । यो पर्तिष्ठामे मेरो भि नाम लिखाइदिनुस् न ।’

गनेसियाको प्रस्तावले मेरो हड्डी हाँस्यो । सम्झाउने सुरले भनेँ- हेर भाइ, यो साहित्य कला संगीत प्रतिष्ठान भनेको यी विधामा पोख्त निपुण मान्छे राख्ने थलो हो । तँसँग त्यस्तो के गुण छ र राख्नु ? फेरि तँ बिहारी । नेपाली नागरिक पनि हैनस् । अनि मेरो सिफारिस गर्ने हैसियत चैँ के ? म त सामान्य क्षेत्रिय प्रतिनिधि मात्रै हो । मेयर हैन क्यारे !

किन गुन छैन मेरोमा ? उस टेममे तपैं भन्थ्यो कि तेरो गला किशोर कुमार जस्तो छ । म दारु पिएर गित गाउन्दा कति जोड्ले ताली दिन्थ्यो तपैं ? याद कर्नुस् त । तपैं भन्नू भो म बिहारी । बरसो पहिले म लागरिक्ता लिएछु । जिवु मालिकको घरमे फर्सी पुगाउन्थेँ डेली । उ पर्धान भएको टेममें लागरिक्ता दियो खुस भएर ।

मैले टार्न खोजेँ- हेर भाइ । नागरिकता मात्रै भएर हुन्न । काङ्ग्रेस मेयरले गर्ने नियुक्तिमा काङ्ग्रेस हुनु पहिलो सर्त हुन्छ । तँ मोरो देख्दै फोरम जस्तोलाई कसरी प्रतिष्ठानमा हाल्छन हौ ?

को भनेछ म कङ्ग्रेसिया हैन ? मेरो सङमे कङ्ग्रेसको पुर्जा छ ।

उसले काङ्ग्रेसको क्रियाशील सदस्यता रसिद देखाएपछि मेरो दिमाग चकरायो । ‘कसरी यो पुर्जा भेटिस् गनेसिया ?’ को जिज्ञासामा ‘पडोसी मालिकको पोख्डिको माछा हेर्ने जिम्मा थियो मेरो । मालिक भन्यो कि मेरो गुट्मे भोट डाल । म पुर्जा दिदिन्छु । म ओके गरेपछि मलाई कङ्ग्रेसको पुर्जा दियो ।’

कुनै वरिष्ठ मालिकले आफू नगरसभापति भएका बेला आफूले भनेबमोजिमको मान्छेलाई भोट हाल्ने सर्तमा आफ्नो कारिन्दालाई सक्रिय काङ्ग्रेस बनाएको रहस्य खोल्यो गनेसियाले ।

गनेसियाले दिमाग चाट्दै थियो फुत्त पिक्की पस्यो ।

जयनेपाल दाइ ! मलाई पनि प्रतिष्ठानमा राखिदिनु पऱ्यो । हाम्रा गाउँका सबै परेछन्, म चैँ किन नपर्ने ?

तँ त पहाडे प्रष्ट बोल्न थालिछस् त पिक्की । पहिले सगरमाथा चोकमा हुँदा यस्तो बोल्दैनथिस् त ।

काठमाडौं बसेको बीस वर्ष भो । बोली हालिन्छ नि । अब त नेवारी पनि फरर । नुवाना केना बि ला ?

भो बोल्नु पर्दैन नेवारी । पहाडेमै बोल ।… अनि तँ मोरो पकेटमारलाई चैँ के आधारमा राख्नु नि ?

पकेटमार भनेर नहेप्नु न दाइ । अर्काको पकेटमा पसेर खुसुक्क निस्किनु सानो कला हो ? क्याम्पसको ग्राउण्डमा फुटबल खेल्दाखेल्दै तपाईंको पकेटबाट तपाईंले पत्तै नपाई पाँचको नोट निकालेपछि मेरो कलाको प्रसंशा गर्ने तपाईं नै हैन ? काङ्ग्रेसले टिकट दिएन भनेर चित्त दुखाएर कथा लेख्ने तपाईं अहिले मलाई पकेटमार भन्दिने । विलक्षण प्रतिभा भएको कलाकार हुँ दाइ । मुलुकले त चिनेन दाइ, आफ्नै गाउँले समेत नचिन्दिने ?

गलफद्धी चल्दै थियो । सगरमाथा चोकको हुल नै पस्यो । रामु पान पसलेको दाबी थियो उ पान बनाउने कलामा निपुण छ । वशन्तिको जिकिर दुधियामा सोफि मिलाएर झुक्याउने कला । भद्रपुरका धेरै साहित्यकारलाई रिक्सामा बसाएर घुमाएको कारण आफूलाई साहित्य फाँटको उच्च पद दिनुपर्ने खतरनाक प्रस्ताव थियो उत्तम रिक्सावालाको । नगरपालिकाको करार कर्मचारी सदस्य बन्नहुन्छ भने आफू हुलाकको स्थायी हल्कारा भएकोले पदेन सदस्य हुनुपर्ने मंगलुको छोरा लखनको दाबी । शनिबारे हटियामा दारु खाएर नाचेको भिडियो देखाउँदै बम्क्यो- हेरिलिनुस् मालिक । कति राम्रो डानस करेछु म । मलाई डानस विभागमे धरदिनुस् ।

साँझका स्यालझैँ कराएर मस्तिष्क दोहन गर्दै थिए, सुकदेव मिस्त्री पस्यो । खुसुक्क छेउमा बसेर बिँडी तान्दै गुनासो पोख्यो– हेर्नुस् त ज्ञानी मालिक । म कति सुन्दर पलन कुड्सी बनान्छु । बुट्टा हाल्छु । हाम्रो कोनो जगह मिल्दैन ? राम्रो कलाकार छु हामी पनि । मेरो कलाकारको सम्मान खातिर मलाई पनि कलाकारमे ढुकाइदिनुस । सगरमाथा चोकको सबैभन्दा पाको कलाकार आफू भएकोले आफूलाई वरिष्ठ सल्लाहकार बनाउनुपर्ने राधे बुढोको कथन थियोे ।

हरे शिव ! नमरी बाँचे दैवले साँचे के देख्न सुन्न पाइन्छ भन्ने प्राचीन उखान स्मरण हुँदैथियो-

‘बमबम भोले’को चर्को आवाजले सबैको ध्यानाकर्षण भो । एक हातले चिलिम तान्दै अर्को हात मुठ्ठी बटार्दै चिच्याहट साथ बिन्देश्वरको प्रवेश । गँजडी बिन्देश्वरलाई उसका चेलाचपेटाले बिन्दु महाराज सम्बोधन गर्थे । ‘को भन्छ यो चोक सागरमथा चोक हो ? बमबम चोकको नाम सागरमथा चोक बोल्ने हु आर यु ?’ गाँजाको सर्कोले बिन्दु महाराजलाई कुमार बुढाथोकी नै बनाइदिएछ । आगो ओकल्दै बोल्यो- चोकको नाम बमबम चोक रहनुपर्छ । नत्र आन्दोलन उठ्छ यहाँ ।

मतिर फर्केर चोर औंलो तेर्स्याउँदै चिच्यायो- ‘भदरपुरमें ढेरी साहित्कार छ । चुडामनि सर छ । केम्पस पढाएछ । किताब लिखेछ । कविता लिखेछ । कथा लिखेछ । पत्रकार पनि गरेथ्यो पहिले । नकुल मालिक तीन दर्जन किताब लिखेछ । मेग्जिन निकाल्छ । कविता लिख्छ । बहुत कहानी बनाएछ । चुरामनि बसिस्ट छ । होम सुवेदी सर छ । राजेश ढुङ्ना मालिक छ । डेन्जर कविता लिख्छ । चन्द्रगुरीको लेख्नाथ किताप आफिसको आसपास कति ढेरी साहित्कार छ । ख्रग्श्वोर कोइराला मालिक छ । कविताको किताप निकालेछ । हडि नेपाने, देव चरन भडारी, कुभिन्डेली सर सब भदरपुरकै छ । भदरपुरको साहित्कारको नपुछी बिना जन्कारी पर्तिष्ठान बनाउने हु आर यु ?’

यो हु आर यु भनेको चैँ के हो नि ? बौवा कम्पोजिटरले मलाई कोट्यायो ।

तँ फोरमलाई यस्तो कुरो थाहा हुन्न । काङ्ग्रेस हुनुपर्छ यो बुझ्न । अहिले चुप लाग ।

भुङ्ग्रोमाथि तातोपानी भनेजस्तो भो । यसैपनि म अध्यक्ष भनेर हैरान पारिराखेको बेला प्रतिष्ठान मैले बनाएको भनेर अर्को गँजडी थपियो । म पनि बम्किएँ- चुप । मोरा गँजडी ।

म अध्यक्ष पनि हैन । मैले गठन गरेको पनि हैन । मेयरले गठन गरेको रे । मैले पनि पत्रिकाबाटै थाहा पएको हो । कसले अरायो ? कसलालाई सोध्यो ? कस-कसलाई राख्यो ? मलाई के थाहा ?

मेरो हप्काइपछि बिन्देश्वरको गाँजाको पारो अलि घटेछ । कुरा बुझेझैँ केही नम्रभावमा सुस्तरी बोल्यो- ज्ञानि मालिक । शहर मे एस्तो पर्तिष्ठानको आपिस खुल्दा गामको साहित्कार कलाकारको भेला, सलामस्वरा कर्नु जडुली लागेन ? नगरपाल्का मेयर अकेलेको खजाना हो ? आफ्नो खुसि आफ्नो मान्छि राख्नु मिल्छ ?

हेर भाइ बिन्देश्वर… तेरो कुरो सही हो । नगरभित्रका सबै साहित्यकार कलाकार भेला गरेर सबैको सल्लाह लिएर गरेको भए सारै उत्तम हुन्थ्यो । नगर सबै नगरवासीको हो । मेयर एक्लैको हैन । आफ्नै स्वविवेकले गरे कि अरुको निर्देशनमा गरे ? कसरी गरे ? के गरे ? कसको सिफारिसमा कसलाई राखे ? जानकारी छैन भाइ । तिमिहरूलाई चित्त नबुझे फेसबुकमा लेख । पत्रिकामा लेख । गएर भेट । सम्झाओ । तिमी हाम्रै मेयर त हो नि । आफ्नै मान्छे हो ।

कि लिख्नु ? कि सम्झानु ? फेसबुकमे लिखिस त कर्वाही कर्छु रे । लोटिस निकालेछ मयुर साव । विरोध कर्यो त जेल डाल्दिन्छ ।

हैट ! त्यस्तो पनि हुन्छ त ? विरोध गर्दा फोहोरी गाली पो नगर्नु भनेको हो त मोरा । सभ्य सालिन तरिकाले गलत कमी-कमजोरी औल्याउँदा पाइन्छ । किन जेल हाल्नु ? नगरपिता भनेको तिमिहरूको पिता समान हो । जाओ, गएर मेयर भेटेर सम्झाओ । आफ्नो गुनासो सभ्य तरिकाले राख । तिमीहरू जस्ता होनहार प्रतिभावान श्रष्टा प्रतिष्ठानमा नपर्दा सारै दुःख लागेको छ । तर मैले गर्नसक्ने केही छैन । आफू त सामान्य क्षेत्रिय प्रतिनिधि मात्रै हो । मेयर हैन क्यारे !

एउटा जरुरी कुरा- तिमीहरूको भाषा चैँ शुद्ध हुनुपर्छ है । नागरिक भन्दा लागरिक । एफएम भन्दा अफेम जस्तो लवजले चैँ साहित्यको सत्यानास हुन्छ । पहाडे प्रष्ट बोल्नु लेख्नुपर्छ है !

बमबम चोकको हुल नगरपालिकातिर लाग्यो । के-कसो भो.. खबर आएको छैन ।