यो देशमा स्वाभिमानपूर्वक जीविकोपार्जन गर्ने ठाउँ छ कतै कसैलाई ? विदेशबाट दुःखले आर्जेको सम्पत्ति घरनजिकैको सहकारीमा राखेको त सुरक्षित रहन्न भने कसको के ग्यारेण्टी गर्छ सरकारले ? त्यसै गाइएको छ र यो गीत- ‘देश भन्नु त के रैछर चारकिल्लाको माटो, त्यै माटोनि उसकै रैछ जो छ टाठोबाठो !’ अनि कोही किन बस्छ यो देशमा ?
✍ कृष्णराज शर्मा
भन्न त सबैले भन्ने त्यही नै हो, तर फेसबुकमा चलेका मान्छेले भन्यो भने त्यही कुरा वजनदार भएर खुल्ने रहेछ । हालै भीम उपाध्यायले एउटा स्टाटस् लेखे- ‘नेपालीलाई भिसा दिने हो भने ९० प्रतिशत नेपाली त्यता लाग्छन् । नेपालको राष्ट्रियता बस्.. यत्ति हो । फुइँ कसैले नदिए हुन्छ ।’
उनको यो कुरालाई एक घण्टामा हजारौँले मनपराए, सयौँले शतप्रतिशत सहमति जनाए । एकजनाले त ‘१०००० प्रतिशत हो बुढा यो कुराचाहिँ’ भन्दै कमेन्टमार्फत दशहजार प्रतिशत सहमति जनाए । यसरी एउटा सानो कुरालाई लिएर कुरा गर्दा पनि देश कुन रसातालमा पुगिसक्यो भनेर सहजै जो-कसैले अनुमान गर्न सक्छ । देशभित्र सुनिश्चित भविष्यको सम्भावना छ भनेर कसैलाई विश्वासै लाग्दैन । पाए विदेश जाने भन्दै खुट्टा उचालेका लाखौँ नेपाली युवाहरू जिल्ला सदरमुकाममा खुलेका भाषाकक्षा पढ्दै भौँतारिएको अवस्था हेरिसाध्यै छैन । राजधानी त राजधानी नै भइगयो.. के भनौँ !
बीज गर्भमा ठहरेको अवस्थादेखि नै आमाबाबु त्यो आउने सन्तानको भविष्य सम्झेर चिन्तित हुने अवस्था यतिबेला बन्दै गएको छ । गर्भमा रहेको भ्रुण जन्मेको दुई वर्ष नपुग्दै स्कुल पठाउनुपर्छ । नपठाए उही बराबरका अरु बच्चाभन्दा पछि पर्छ । त्यसैले किण्डरगार्डेन नामको ‘स्कूल’मा दुई वर्ष राख्नुपर्छ । एक, दुई, तीन कक्षा चढेकै जसरी नर्सरी, केजी र अपरकेजी नामको एउटै कक्षामा घरि-घरि त्यही स्कुलमा वर्षेनि चढाइन्छ । अभिभावकलाई दाम मारामार लगाइन्छ । पाँच वर्ष नपुग्दै लाखौँ सक्काएर ए टू जेड र वन टू हण्ड्रेड फररर बोल्ने भयो भने आमाबाबु मख्ख ! अब पुण्टेले विदेश जाने आशा जगायो भन्दै कुन देशमा पठाउने भनेर सपना देख्न थाल्छन् बाउआमा । कठै ! कसले पुऱ्यायो यस्तो अवस्थामा देश ? अहिलेको राज्यव्यवस्थाले त्यो भ्रुणको बारेमा कुनै चिन्ता-चासो राख्छ ? राखेको छ ? अहँ ! कृपया यी प्रश्नको उत्तर नखोज्नुहोस्, यदि खोज्ने नै धृष्टता तपाईंले गर्नुभयो भने तपाईंजस्तो पटमुर्ख यो देशमा अरु कोही हुनेछैन ! सन्तानको भविष्य देशभित्र नदेखेपछि गर्ने के ? यस्तो परिवेशमा तपाईंको लक्ष्य के रहन्छ विदेश जानुबाहेक ? छ केही अरु उपाय ?
खरिदार हुनको लागि लोकसेवा आयोगले न्युनतम योग्यता एसईई तोक्छ अथवा बढाएर प्लस टु राखेहोला । त्यो खरिदारको परीक्षामा सहभागी हुन तीन तहमाथिको शैक्षिक योग्यता हासिल गरेका डिग्रीहोल्डरको भीड हुन्छ । एमए पासका अगाडि के काम उनीहरूको जाबो एसईई पास !? यस्तो अवस्थामा यति पढे त खरिदार भइहालिन्छ अनि पढ्दै वृत्ति विकास गरौँला भन्ने कल्पना गर्न सकिन्छ ? माथिल्लो योग्यता हासिल गर्ने अवस्था पनि छैन अनि तल्लो योग्यतालाई ठुलामाछाले त्यसै निलिदिन्छ । अनि कहिल्यै सरकारी जागीरमा उनको पहुँच सम्भव छ ? यस्तो भएपछि विकल्प के त ! विदेश जाने बाहेक केही छ विकल्प ?
आ-आफ्ना दल र विचार बोकेका आफन्तलाई शैक्षिकसंस्था खोल्ने अनुमति दिन्छन् । उनका आफन्त नपढे पनि पास हुन्छन् । ऋण-धन गरेर साँच्चै पढिरहेका उनका विचारसँग असहमत र उनका दलमा संलग्न नभएका असहायलाई घनिघोटी टुप्पी बाँधेर पढेपनि संस्थाको ‘स्तर’ देखाउन फेल गराउँछन् । विशेषतः सिटिइभिटीअन्तर्गतका शैक्षिक संस्थाहरूमा यस्तो अवस्था भयावह रूपमा देख्न पाइन्छ । तिनको उद्देश्य राजनीतिक लाइनमा लाग्न प्रभावित बनाउने र आफन्तलाई पोस्नेबाहेक निष्पक्ष र सबैको सहज पहुँच पटक्कै छैन ।
सुई लाउन नजान्ने पनि दलेका आफन्त भएकैले अस्पताल र स्वास्थ्य चौकीमा ठाउँ जमाएर बसेका छन् । राम्रोसँग फित्ता नाप्न नजान्नेहरू ‘आफ्ना’ भएकैले ट्याप-ट्याप ठाउँ पाउँछन् । उसँगै पढेको जान्ने साथी पछिपरेको देखेर उसैले खिस्सी गर्छ । राज्यसंरचना नै यस्तो विभेदकारी र आफन्तवादमा जमेर लागेपछि निर्धाहरूको उपाय के छ त नि ! अनि साँच्चै पढेर पुरापुर योग्य बनेकाहरू पढ्दा लागेको ऋणैऋणको चिन्ताले अलमलिएर सिकेको सीपज्ञान पनि गुम बनाएर बसेका छन् । यो अवस्थामा ‘मेरो देश’ हो, ‘म राष्ट्रवादी’ हुँ मात्रै भनेर उसको र उसको परिवारमा माड लाग्छ र ? अनि बस्छन् त यस्तो देशमा ? यो त एउटा सानो नमूना मात्र झल्काइएको हो । यस्ता त कति छन् कति देशमा । अनि त्यस्तो पीडित युवा किन बस्छ यहाँ.., जान्न त विदेश ?
गाउँलाई गाऊँ नभनेर हुँदो न खाँदो ‘नगर’ भनेर थोपरिएको छ । यथार्थमा ती गाउँ नै हुन् र गाउँ नै छन् । जानुस् त ती गाउँ-गाउँ र बस्ती–बस्तीमा के छ हालत ? आफ्नो भविष्य नदेखेर होनहार युवाहरूको कस्तो रुवाबासी छ ? उनीहरूलाई दलका हरूवाचरुवाले दास र बँधुवा गाई बनाएर कसरी दुहेका छन् ? कसैले हेरेको छ यता ? ती गाउँले बस्तीका युवाहरू साउदी, कतार र मलेसिया पुगेर खरले छाएका चुहुने छानालाई बल्लतल्ल कर्कटपाताले छाएर ढुक्कले वर्षायाममा निदाउन थालेका छन् । कोही अल्लि कमाइ हुनेहरूले एकतले-दुईतले पक्कीघर बनाएर बसेका छन् । पल्लो डाँडाबाट तिनै टल्केका छाना र पक्कीघर देखेर यो गाउँ त शहर भएछ भन्दै ‘नगर’को शब्दजालमा हालेर गाउँलाई ‘शहर’ बनाएर ती निमुखाहरूमाथि कर लगाएको कसको आत्माले मान्छ ? पराईको देशमा पराईका लात अपमान घृणा सहेर आँशु, रगत र पसिनाले नुहाएर दुईपैसा कमाएको धनमा तिम्रो त्यत्रो गिद्धेदृष्टि ? सुहाउँछ कर लगाउन ? ती देशले जस्तै स्वदेशमै अवसर दिएका छौ ? ती देशले जस्तै गरिखान काम दिएका छौ ? कर तिर्न योग्य आफ्ना नागरिकलाई ती देशले जस्तै सुविधा दिएका छौ ? शहरमा त ल भैगो… त्यो गाउँमा केको कर ? त्यस्तो कर उठाएर खान पल्केसो लागेका नै किन चुनाव जित्छन् घरि-घरि ? टाठाबाठा गुण्डाले स्थानीय जनतालाई दबाएर निचोरेर लोकल भाले चिथोरेर खान थालेका छन् । जसरी पनि चुनाव जितेका अचेलका त्यस्ता उरन्ठेउलाहरू भूइँमा न भाँडामा भएको देख्दा किन बस्छ इमान्दार सोझो केटो यो देशमा ? यो देशमा स्वाभिमानपूर्वक जीविकोपार्जन गर्ने ठाउँ छ कतै कसैलाई ? विदेशबाट दुःखले आर्जेको सम्पत्ति घरनजिकैको सहकारीमा राखेको अर्बौं रुपैयाँ त सुरक्षित रहन्न भने कसको के ग्यारेण्टी गर्छ सरकारले ? त्यसै गाइएको छ र यो गीत- ‘देश भन्नु त के रैछर चारकिल्लाको माटो, त्यै माटोनि उसकै रैछ जो छ टाठोबाठो !’ अनि कोही किन बस्छ यो देशमा ?
यस्तो व्यवस्थामा कुनै सन्तानले शुद्ध दुध त छोडौँ, दुध मात्रै पनि चाख्न सम्भव छ ? युवाहरूलाई विदेशिन बाध्य पार्ने विदेशी योजनाकारको चक्रब्युहलाई यी बिरालाहरूले कहिल्यै बुझ्नेछैनन् । किनकि, विदेशीकै अह्रौटे न हुन् बिरालाहरू ! त्यो चक्रब्युह कसले तोड्ने हो ? त्यो नतोडेसम्म संधै यस्तै हो । त्यसै ‘स्वदेश बस, विदेश नजाउ’ मात्रै भनेर हुन्छ ? पहिला भान्छामा तरमार्न पल्केका यस्ता बिरालाहरू पाल्ने व्यवस्था उखेलेर फालौँ । अनि हेरौँला कस्तो हुन्छ देश !
अहिले भ्रष्टाचारले चुर्लुम्म डुबेको छ देश । भ्रष्टाचारले नडुबेको क्षेत्र कतै छैन । सामाजिक सञ्जाल रेडियो टिभी जता हेऱ्यो, सुन्यो लाजैमात्र लाग्छ । कसैलाई दण्डसजाय केही हुन्न । सरकार नै माफियामैत्री छ । जता हेऱ्यो थक्क..थक्क मात्रै लाग्छ । पदको मान मर्यादा आदर कहीँकतै छैन । अहिलेको प्रधानमन्त्री र मन्त्रीको तुलनामा पञ्चायतमा त बरु हवल्दारको मान र इज्जत थियो । किन यस्तो अराजक र अनुशासनहीन भयो अहिलेको समाज ? गाडी ड्राइभरको कार्यक्रममा प्रधानमन्त्री अतिथि बन्छ । उसलाई त्यही ड्राइभरले प्रधानमन्त्री बनाएको भन्दै सगौरव फत्फताउँछ । यस्ता हल्का किन भए राज्यका प्रमुख पदहरू ? जनताले राष्ट्रपति प्रधानमन्त्री र मन्त्रीलाई त्यो अघिको हवल्दारलाई जत्तिपनि आदर सम्मान गरेको देखिन्न । यस्तो हलुङ्गो घरमुली देखेपछि अरुले उसका सन्तानलाई किन मान गर्छन् । अनि हाम्रा पासपोर्टहरूले उल्टोमुख पहिलो बनेर रेकर्ड राख्नु कुन आश्चर्य भयो त ? किन यस्तो भयो, खोजी छ कतैबाट ?
अन्त त अन्तै भयो, अस्पताल जस्तो पूरै सेवामुलक ठाउँमा पनि भ्रष्टाचारको घृणित हर्कत देखेर मान्छे छक्क पर्छन् । जिल्लामा गएका स्वास्थ्यका विविध शीर्षकका बजेट शीर्षकअन्तर्गत कामै नगरी कागज मिलाएर झ्वाम पार्छन् । यस्ता समाचार छरपष्ट पढ्न पाइन्छ । झ्वाम्म खाएको देख्ने पत्रकार ‘कलम’ समातेर पत्रिकाको कार्यालय जालाभन्दा ‘झोला’ बोकेर हाकिम र एकाउन्टेण्टको कोठाको ढोका कुर्छ । यसरी हातपार्न जानेको उसले बडेबडे व्यापारिक खानदानसँग पनि आफ्नो शीप कला कौशल देखाएर आँखामा कालो चश्मा लगाइ समाजमा प्रतिष्ठित बनेर मठारिन्छ । जिल्लाबाट केन्द्रमा फड्को मारेको उसको नपत्याइँदो सम्पत्ति र रवाफ देखेर ‘नकच्चरो’ सदाचार र इमान्दार भन्ने चीज निउरीमुण्टी लाउँछ । उसका धुपौरे साथीहरू उसको कालोशीशायुक्त कालै गाडीभित्र पसेर खाजा खान स्टार होटलमा छिर्छन्, वरिपरिका हेरेको हेऱ्यै ! एकातिर कसैलाई हातमुख जोड्न धौ-धौ अर्कोतिर हिजोको खातेको त्यो शान मान र रवाफ ! हे दैव !! कसरी हेर्ने त्यो लाजको पोको ? थैट्, कस्तो भ्रष्ट भयो हाम्रो समाज ?! सिधासाधा इमानको कमाइ खानेले त्यसो गर्न सक्दैन… खान पुग्दैन, गर्ने के ? अनि कहाँ जाने उ ? छ विकल्प विदेश नगइ ?
यस्तै भ्रष्ट अहिलेको राजनीतिमा जल्दाबल्दा लाग्छन् । यिनको भर मानेर बाध्यतामा मन नलाइ-नलाइ जिन्दावाद भन्दै हिँड्छन् । घर पुगेपछि कोठाको भित्तामा फर्केर धारेहात लगाउँदै- तैँ होस् चोर भन्दै मुर्दावाद भनेर एक्लै मन शान्त गर्छन् । यस्तो अपहेलना शोषण दमन उत्पीडन सहन भन्दा त पराइको कसैले नदेख्ने चड्कन खाँदै विदेशमा काम गर्दा कति स्वाभिमान कति ! एकछिन दुःखे पनि दुख्न छाडेपछि मजाले बिर्सिन्छ । जिन्दगीभर नमेटिने बचनको घाउ सहनुभन्दा अरबी मुल्लाहको चड्कन दुखुन्जेल न हो ! संधैको दास मनोभाव र अपहेलना सहनुभन्दा हिँड्दैन त विदेशै ठिक भन्दै तिम्रो मान्छे !?
म पनि यस्तै बाध्यताले विदेशिन विवश एक प्राणी हुँ । मलाई विदेश घुम्ने रहर त छ तर बस्ने रहर कदापि थिएन, छैन । म यस्तै के-के भएकाले गएको हुँलानि ! सबै भनेर के साध्य !! भीम उपाध्यायले भनेजस्तै, पाए/मिले कत्तिले भर्खरै अमेरिका गएर थचरी र नचरी लाउने थिए । नपाएर पो ! मलाई मिल्यो.. गएँ । मलाई जिन्दगी सहज पनि भयो । जाँदैमा म मेरो आमाजत्तिकै प्यारो मातृभूमिलाई बिर्सुंला र ?! खिस्सि गर्नेले गरिरहुन्.. केहि छैन !
एकजना मेरा मित्रले मेरो जन्मभूमिलाई मैले माया दर्शाउँदा पनि ‘तैँले पाउन्नस्’ झैँ गरे । म छोटो समय विदेश बसेकैले म जन्मेको थातथलो एकैचोटी कसरी बिर्सुंला ?! फेरि मेरो सारा संसार यहीँ छ । जन्मदिने आमा यहीँ हुनुहुन्छ । दाजुभाइ इष्टमित्र यहीँ छन् । पराइ छन्, दुष्ट पनि छन् तर यहीँ छन् । हाँसौँला खेलौँला झगडा गरौँला, सबै यहीँ मिठो हुन्छ । जे गरौँला जन्मभूमि आँगनमा गरौँला । यी र यस्ता कुराहरू केही समय विदेश बस्दैमा जम्मै सकिन्छ र मेरो ? कसैले यसो भन्दै मेरो देशको नातै तोडिन्छ र ?
मलाई एउटा साथीले हँसिमजाकमा मज्जाले घोचे । म उनलाई आदर-सम्मान गर्छु । स्कुलेसाथीपनि हुन् । उनको-मेरो मित्रतामा फाटो नआवस् भन्ने चाहन्थेँ र, मैले नै उनका कुरालाई हाँसेर डाइभर्ट गरेँ । टारेँ । उनी भन्थे- ‘विदेशमा बस्ने अनि नेपालको छोरो भन्ने ? बाइडेनको छोरो हुँ भनेर लेख’ भन्ने उनको भनाइ थियो । उनको कुरा बुझेँ, बढी बोलिनँ । किनकि, उनकै एक सन्तानको विदेशमा पिआर छ । कुरो सकेँ, बस्.. !
अन्तमा, दुधको साक्षी बिरालो बनाएर कहिल्यै दुधको रक्षा हुन्छ ? पन्ध्रवटा त के सयवटा मुर्रा ल्याएर बाली लगाएर उत्तिकै अनुपातमा लैनाभैंसी पालेपनि बिरालाहरूले दुध सिध्याइरहन्छन् । यस्तो व्यवस्थामा कुनै सन्तानले शुद्ध दुध त छोडौँ, दुध मात्रै पनि चाख्न सम्भव छ ? युवाहरूलाई विदेशिन बाध्य पार्ने विदेशी योजनाकारको चक्रब्युहलाई यी बिरालाहरूले कहिल्यै बुझ्नेछैनन् । किनकि, विदेशीकै अह्रौटे न हुन् बिरालाहरू ! त्यो चक्रब्युह कसले तोड्ने हो ? त्यो नतोडेसम्म संधै यस्तै हो । त्यसै ‘स्वदेश बस, विदेश नजाउ’ मात्रै भनेर हुन्छ ? पहिला भान्छामा तरमार्न पल्केका यस्ता बिरालाहरू पाल्ने व्यवस्था उखेलेर फालौँ । अनि हेरौँला कस्तो हुन्छ देश ! आगे हजुरकै मर्जी ! जदौ !!
प्रतिक्रिया