‘द कम्युनिस्ट मेनिफेस्टो’ सिरानी हालेर सुतेका नेताबीच डिभोर्स

‘द कम्युनिस्ट मेनिफेस्टो’ सिरानी हालेर सुतेका नेताबीच डिभोर्स


कम्युनिस्टहरू अग्रगामी हुन्छन् भन्ने पुरानो भाष्य नेपालका कम्युनिस्टहरूको हकमा कम्युनिस्टले नै गलत साबित गर्दै जडसूत्रवादी र परम्परावादी हुँदै गएका उनीहरूका गतिविधि, बोली र व्यवहारले पुष्टि गर्दछन् । आर्थिक र सामाजिक न्याय, सुशासन भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको राग अलाप्ने वामपन्थीहरूको उच्च जीवनशैलीले उनीहरूलाई नै कुरीकुरी गर्दै गिज्याइरहेको छ ।
✍ ई. महेन्द्र पराजुली

नेपालका कम्युनिस्ट पार्टीलाई कम्युनिस्ट दर्शनको कसीमा राखेर जाँच्ने हो भने दर्शनबाट स्खलित हुँदै ती पार्टीले सिद्धान्त, विचार र आदर्शको वस्त्र उतारेर पुँजीवादको वस्त्र धारण गर्दै आएका तितो सत्य अनि यथार्थ हो पछिल्ला केही दशकदेखि । कार्ल माक्र्स, भ्लादिमिर लेनिन वा माओत्से तुङको तस्बिर भित्तामा टाँसेर ‘द कम्युनिस्ट मेनिफेस्टो’ सिरानी हालेर अर्धनिद्रामा बेला-बेला झल्याँस्स-झल्याँस्स ब्यूँझदै मस्तसँग सुतेका छन् कहिले उत्तानो त कहिले कोल्टो फेर्दै कम्युनिस्ट पार्टीका शीर्ष नेतृत्व । नेपालका कम्युनिस्टले दावी गरेजस्तो तथाकथित कम्युनिस्ट दर्शनमा ‘समाजवाद’ को गन्धसमेत आउँदैन । ‘समाजवाद’ को खोल ओढेका कमरेडहरू पुँजीवादतर्फ उद्यत छन् । पुँजीवादको प्रखर आलोचकका रूपमा रहेका तिनै कमरेडहरू पुँजीवादको टेको समाउँदै कम्युनिस्ट सिद्धान्त, विचार र आचरण परित्याग गर्दै पुँजीवादको पखेटामा वैभवको उचाई नाप्दै आएका छन् सत्तामा पुगेपछि ।

कम्युनिज्म भन्ने औजारमा खिया लागेर भुत्ते भएपछि त्यसलाई उजिल्याउनतिर नलागेर नेतृत्वले त्यही भुत्ते हतियार प्रयोग गर्दै आएका छन्, कहिले एउटा झुण्डले त कहिले अर्कोले । कम्युनिस्टहरूमा दर्शन, सिद्धान्त र विचारमा मात्र होइन चरित्र र नैतिकतामा समेत स्खलन भएको छ । कम्युनिस्ट दर्शन आज बनियाँको टट्टुघोडामा लादिएको जिन्सीजस्तै भएको छ ।

नेपालको सन्दर्भमा माक्र्सवाद, लेनिनवाद र माओवाद कागजमा मात्र सीमित छ, व्यवहारमा भने छैन । यी वाद र सिद्धान्त अब इतिहास मात्र बन्न पुग्दै छन् बामपन्थीहरूका लागि भन्दा अतिशयोक्ति नहोला । नेपाली कम्युनिस्ट आन्दोलनले पलायनको यात्रा तय गर्दै आएको छ । कम्युनिस्ट भनेर मान्दा कसलाई मान्ने नेकपा एमालेलाई कि नेकपा माओवादी केन्द्रलाई अथवा एकीकृत समाजवादीलाई अथवा अन्य कम्युनिस्ट घटकहरूलाई ? यी सबै जमेका पोखरी भएका छन् । एकले अर्कालाई नाङ्गेझार पार्न बहादुरी मान्दै आएका छन् । हिलो छ्यापाछ्याप गर्नुभन्दा सबै कम्युनिस्ट घटकहरूबीच एकीकरण गरी एउटा सशक्त पार्टी निर्माणमा जुटेमा मात्र कम्युनिस्टहरूको भविष्य सुरक्षित हुने देखिन्छ ।

कम्युनिस्टहरू अग्रगामी हुन्छन् भन्ने पुरानो भाष्य नेपालका कम्युनिस्टहरूको हकमा कम्युनिस्टले नै गलत साबित गर्दै जडसूत्रवादी र परम्परावादी हुँदै गएका उनीहरूका गतिविधि, बोली र व्यवहारले पुष्टि गर्दछन् । आर्थिक र सामाजिक न्याय, सुशासन भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको राग अलाप्ने वामपन्थीहरूको उच्च जीवनशैलीले उनीहरूलाई नै कुरीकुरी गर्दै गिज्याइरहेको छ । यसको पुष्ट्याइँका लागि पृष्ठभूमिमा रहेको उनीहरूको जीवनका पाना पल्टाएमात्र पनि पुग्छ ।

धर्म अफिम हो भन्ने तिनै कमरेडहरू कसैले भैंसीपूजा गर्छन् भने कसैले बोकाको बली चढाउँदै आएका छन् । त्यतिमात्र होइन, उपल्लो तहको कम्युनिस्ट हुँ भन्ने नेताले त आराध्यदेव पशुपतिनाथलाई सुनको जलहरी अर्पण गर्दै राम र सीताको रथयात्रा नै निकालेर पाएको वरदानले कम्युनिस्टहरू कहिले फुट्दै त कहिले जुट्दै आएका छन् । नेपालमा ढोँगी कम्युनिस्टहरू दलाल पुँजीवादी सत्ताका मतियार र सारथीमात्र हुन् भन्ने प्रमाणित हुँदै गएको छ । त्यसको पछिल्लो उदाहरण बन्यो नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले नेतृत्व गरेको सातदलीय गठबन्धनको सरकार । एउटा २८ सालको टाउकोकटुवा, अर्को ०५२ सालको घाँटीरेटुवा अनि हिन्दूधर्म र राजसंस्थाको चर्को वकालत गर्ने पार्टी र अनागरिकले नेतृत्व गरेको पार्टीको संयुक्त सरकार कुन मूल्य, मान्यता, विचार र सिद्धान्तमा बनाएको थियो, त्यसको जवाफ छैन कमरेड प्रचण्ड र केपी शर्मा ओलीसँग ।

आफैं २०५२ सालको घाँटी रेटुवा माओवादी अनि २०२८ सालको टाउको कटुवा तत्कालीन माले हालको नेकपा एमालेबीच सत्ता गठबन्धन हुनु नौलो र अनौठो भने मानिएन राजनीतिक वृत्तमा । यसभन्दा अघि त एकीकरण समेत भएकै हो नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच । नेकपा माओवादी केन्द्र र नेकपा एमालेको पृष्ठभूमि एउटै हो । एउटाले घाँटीरेटुवा अनि अर्कोले टाउकोकटुवाको आरोप खेप्दै आएका छन् ती दलले ।

पुरानो कटूतापूर्ण सम्बन्ध विस्मृति अनि थाती राख्दै नयाँ सिराबाट अगाडिको बाटो तय गर्ने सहमतिसहित १० पुसमा ओली निवास बालकोटमा ‘पुनर्मिलन’ गरेर प्रशन्न मुद्राममा बालकोट निवासको बार्दलीबाट कुममा कुम मिलाएर हात हल्लाउँदै कार्यकर्ताको अभिवादन ग्रहण गरेका कमरेडद्वय नेकपा एमाले अध्यक्ष खड्गप्रसाद ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सम्बन्धको गाँठो यसपटक मधुमासको समय (हनिमुन पिरियड) पनि पार नगर्दै खुस्किन पुगी ‘डिभोर्स’ मा परिणत भयो ।

समकालीन शीर्ष नेताहरूमा सत्ता र शक्तिको दूरूपयोग गर्न अनि अवसरको उपयोग गर्न र त्यस्तै गरेर प्रतिकूलतालाई अनुकूलतामा परिणत गर्न चतूर र निपूण मानिन्छन् नेकपा एमाले अध्यक्ष कमरेड ओली । विभिन्न समयमा विभिन्न कार्ड खेल्दै राष्ट्रिय राजनीति आफ्नै वरिपरि घुमिरहोस् भन्ने चाहन्छन् ओली । बेला-बेलामा विवादित अभिव्यक्ति दिएरै भए पनि चर्चामा आउन रुचाउने पात्र हुन् केपी कमरेड ।

यहाँ स्मरणीय के छ भने कुनै बेला भारतको पश्चिम बङ्गालमा २५ वर्ष नेतृत्व गरेको कम्युनिस्ट पार्टीको सरकारले नक्सलवादीको किसान आन्दोलनलाई दमन गरेको थियो । जब कम्युनिस्टहरू सत्तामा पुग्छन्तब राष्ट्रिय मुद्दा अनि जनताका आधारभूत आवश्यकतालाई थाती राख्दै निहित स्वार्थले प्रेरित उद्योग, व्यापारी र व्यवसायीका पक्षमा काम गरी भ्रष्टाचारको आहालमा चुर्लुम्म डुब्छन् । नेपालको हकमा कम्युनिस्टहरू विशेष गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र विभिन्न प्रकरणमा भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेका मात्र छैनन्, सङ्गठित मानव तस्करी, सुन तस्करी र सरकारी जग्गा हिनामिनाजस्ता गम्भीर प्रकृतिका अपराधमा पनि संलग्न हुँदै आएका छन् । यी दलले नेपाललाई प्रयोगशाला र क्रिडास्थलको रूपमा प्रयोग गर्दै आएका छन् ।

कमरेड ओली राजनीतिका चतुर र धुरन्धर खेलाडी हुन् भने परिआउँदा खेलाडी अनि रेफ्री दुबैको भूमिका निभाउँछन् । उनमा रिसको आवेग, अहङ्कार र दम्भ पनि अधिक छ । ओलीको तुलनामा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री कमरेड पुष्पकमल दाहाल (प्रचण्ड) केही लचकदार भए पनि चाँडै उत्तेजित हुँदै तात्ने र सेलाउने अनि बोलि फेरिरहने अस्थिर चरित्रका नेतामा पर्दछन् । यी दुबै मनुवामा केही समानता भने छ । ती के हुन् भने ‘स्टण्टबजी’ र बार्गेनिङ गर्न दुबै खप्पिस छन् । ‘Use and Throw’ उपयोगवादी सिद्धान्तमा पारङ्गत छन् । आफ्नो एजेण्डा बिकाउ नभएपछि लाचार भएर सम्झौतापरस्त हुने उनीहरूको नियति जस्तै बनेको छ । राजनीतिमा निषेधको राजनीति गर्नु पर्दछ भन्ने भाष्य निर्माण गर्दै ‘पावर सेण्टर’ बन्न दुबै लालायित हुन्छन् । सोच र शैली फराकिलो गर्नुको सट्टा पूर्वाग्रह उनीहरूको स्वार्थ बनेको छ । पार्टीभित्रका आफ्ना आलोचक र विरोधीलाई भित्तामै पुऱ्याएर तिनको पत्तासाफ गर्ने अनि अरूलाई आफ्ना बिरुद्ध बोली बन्द गराउने प्रवृत्ति हावी छ कमरेडद्वयमा । त्यसै कारण उनीहरू एकल नेतृत्वमा सफल भएका छन् पार्टीका हाइकमाण्डका रूपमा । उनीहरूका अगाडि अन्य नेता कमरेडहरू गरुडका अगाडि सर्पजस्तै हुन्छन् भने चुनौति दिन त धेरै टाढाको विषय बन्दै आएको छ । अन्य नेता कमरेडहरूले उनीहरूले दिएको हात थापेर चित्त बुझाउनु बाहेक कुनै हैसियत देखाउन सकेका छैनन् । कम्युनिस्ट पार्टी भनेको यही हो ? प्रश्न गर्छन् उनकै कार्यकर्ता ।