एमालेमा नोकरसाही जनवाद ?

एमालेमा नोकरसाही जनवाद ?


चिनियाँ राष्ट्रपतिले धन सम्पत्तिमा अपहत्ते गरेर लाग्नेलाई पार्टी छाड्न र पार्टी प्रवेश नगर्न सुझाएजस्तै मदनले पनि गर्नुहुन्थ्यो । आर्थिक नैतिक रूपमा भ्रष्टहरू पार्टीमा खुरुखुरु लिस्नो लगाएर माथि चढाइँदैन थियो ।
✍ प्रा.डा. वद्रीविशाल पोखरेल

जननेता मदन भण्डारीले कम्युनिस्ट आन्दोलनका क्रममा स्थापित रुढीग्रस्त कतिपय विचार, धारणा र मान्यताहरू तोडिदिनुभयो । उहाँले पाँचौ राष्ट्रिय महाधिवेशन पहिलेझैँ गोप्यतम् तथा गुपचुपमा गर्ने परिपाटीलाई भत्काउनुभएको थियो । महाधिवेशनको पूर्वतयारी पूर्वाञ्चलमा विराटनगरसहित अरु क्षेत्रहरूमा अगुवा नेता र कार्यकर्ताका बीच पार्टीको सैद्धान्तिक खुल्ला बहस सञ्चालन गर्नुभयो । उहाँले जनताको पार्टी भएको नाताले यस पार्टीले देश र जनसरोकार र हितमा तर्जुमा गर्ने नीति सिद्धान्त जनताले थाहा नै नपाउने गरी गर्नु हुँदैन भन्नुभयो । विश्व कम्युनिस्ट आन्दोलनमा यसरी सैद्धान्तिक खुला बहस पहिलो पटक पूर्वमालेले मात्र गरेको थियो ।

जननेता भण्डारीले विश्वव्यापी रूपमा प्रतिक्रियावादीहरूबाट कम्युनिस्ट नेता र समग्र आन्दोलनलाई भौतिक क्षतविक्षत पारेको घटनाबाट नेपाली नेताहरू त्रसित मानसिकतामा थिए । यसले गर्दा केही अगुवा नेताहरू पार्टीलाई भूमिगत राख्नुपर्ने सोच राख्थे । तिनीहरू मोर्चामार्फत् सरकार सञ्चालन गर्नुपर्छ भनेर जिद गर्थे तर मदनले यस खालका जड सोचलाई वास्तै गर्नुृभएन र, देशव्यापी दौडाहा गरेर पार्टीलाई सैद्धान्तिक र सांगठनिक रूपमा व्यापक तवरले विस्तारित गर्नुभयो । जनताको शक्ति तागत र उभारबाट प्रतिक्रियावादी शक्तिहरूलाई हच्काउन सकिने कुरामा उहाँ दृढ विश्वस्त हुनुहुन्थ्यो । यसै भएर बहुमतको संसद् विघटन गरी दुई तिहाइ ल्याएर एमाले पार्टीलाई प्रतिबन्धित गर्ने सोच बेलैमा परास्त भयो । यो कुरा परिणामबाट सिद्ध भयो ।

विगत इतिहासलाई शिक्षाका रूपमा लिँदै सिर्जनात्मक रूपमा आन्दाृेलनलाई गति दिनुपर्छ । जडताका पछि लागेर र त्यसका पछि घिसारिएर ‘जबज’अनुसार पार्टी चलायमान हुँदैन । मौकाको भरपूर सदुपयोग नगरी पञ्चमीको पाइला जस्तो घिसारिएर पार्टी सुदृढ हुन सक्तैन । सुस्त र शिथिल मुटुले अङ्ग-प्रत्यङ्गमा तीव्र र सशक्त वेगमा रक्त प्रवाह गर्नै सक्तैन ।

मदनले कम्युनिस्ट पार्टी जस्तो अत्यन्त लोकतान्त्रिक पार्टीले आफूलाई अधिनायकवादी भन्न सुहाउँदैन भन्ने कुरा स्थापित गरिदिनुभयो । वहाँले अधिनायकत्व राज्य मूलभूत चरित्र हो भन्ने तर्कपूर्वक प्रमाणित गरिदिनुभयो । यसैगरी मदनले आन्दोलन, सङ्घर्ष वा वर्ग सङ्घर्षलाई कुरूपता र क्रूरताको विरोध गर्नुभयो र सकेसम्म मदनले परिवर्तन वा क्रान्तिमा पनि कलात्मक हस्तक्षेपलाई प्राथमिता दिने स्थापित गरिदिनुभयो । तर व्यवहारमा भने रुढता अझै व्याप्त पाइन्छ । मदनले स्वस्थ र मर्यादित आलोचनात्मक चेतलाई स्वागत गर्नुभयो । यसैले उहाँले जबजमा प्राज्ञिक स्वतन्त्रताको पक्षपोषण गर्नुभएको छ ।

अर्थात्, पार्टीको नीति, सिद्धान्त र यसका आदर्शहरूलाई शीर्षस्थ स्थानमा राखेर नेता र नेतृत्वका विसङ्गतिविरुद्ध अनुशासनको सीमाभित्र रहेर लेख-रचनामार्फत् प्राज्ञिक रूपमा स्वस्थ्य आलोचना गर्न पाइन्छ भन्नु हो । तर पार्टीमा पुरानै पाराको नोकरसाही जनवाद वा अति नियन्त्रित जनवाद व्याप्त देखिन्छ । पार्टीभित्रै पनि कहाँ बोल्न पाइन्छ र ? पार्टीका कतिपय तहमा दुई वा तीन नेताको मनमोजी भइरहन्छ, योग्य स्थानमा अयोग्य मात्र होइन अयोग्यतमलाईं स्थान र मान दिइन्छ । गैरकम्युनिस्ट पार्टीबाट प्रवेश गरेकालाई लिस्नु लगाएर बुइँगलमा पुऱ्याइन्छ । तिनलाई दुवै हातमा लड्डु । पार्टीभित्र नै बोल्न सुझाव दिन पाइन्न र बोल्यो भने उसको राजनीति नै समाप्त पारिदिन्छु भन्ने टोप र टोपा यस लेखकले आफ्नै नगर र जिल्लामा देखे-भेटेको छ ।

मोर्चा संगठनको बेहाल शीर्षक मात्र पढेर यस लेखकसित आक्रोशित हुने र दागा धर्ने नेता फेला पारेको छु । आक्रामक शीर्षक राखेर पनि अन्तर्यमा सन्तुलित र स्वस्थ्य धारणा राखेको हुन्छ भन्ने सम्मको ज्ञान नेतामा नहुनु दुर्भाग्य हो । पार्टीको सर्वोपरि हितका लागि पार्टीभित्रै पनि सुझाव र सल्लाहसम्म सुन्न नसक्ने र नदिने रोग व्याप्त छ । कोशी प्रदेशको विस्तारित बैठकमा मोरङ जिल्ला अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलले बोल्दा बीचैमा अवरोध गर्ने दुश्चेष्टा गरियो । पोखरेलले बोल्दै गर्दा बीचमै तत्कालीन प्रदेश इन्चार्ज गौतमले रोक्ने चेष्टा गरे । यसलाई प्रतिनिधि उदाहरण मान्ने हो भने यस्तोे रवैया सबैतिर हुनुपर्छ र छ, किनभने यस्तै कठमुल्लावादी सिकाइ सर्वत्र विद्यमान छ । महान् नेताले गल्ती नै गर्दैनन् भन्ने हुँदैन । महान् नेतावरपरका मानिसका कारण पनि पार्टी, नेता र कार्यकर्ताले ठूलो क्षति व्यहार्नुपर्छ । महान् नेता माओका कारण आधुनिक र समृद्ध चीनका निर्माता तेङ सिआओ पेङ निर्वासित हुनुपऱ्यो । उहाँसहित उहाँको परिवारले लालसेनाको घोर दबाब, दमन र चरम उपेक्षा व्यहोर्नु पऱ्यो । यही पीडा सहन नसकेर तेङ्का जेठा छोरा आत्महत्या गर्न विवश भएका थिए ।

मान्छेलाई पशुजस्तो सदा मित्र बस्न उसको उच्च चेतनाले नै दिँदैन । आफैं जिम्मेवार नभइ मातहत नेता र कार्यकर्ताबाट जिम्मेवारीको आशा गर्नु बेकार छ । जनताको घाँटी थिचेर राणाशासन चल्यो होला । बन्दकोठामा राखेर चुट्न खोजे विरोलोले चिथोर्छ । यही लेखकले अध्यक्षीय प्रणाली पक्षधरलाई एक भाते मुद्दा व्यहोर्नु पऱ्यो । तत्कालीन कोसी अञ्चल इन्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्य र उपस्थितिमा पटकपटक अशिष्ट र अमर्यादित वचन यस लेखकले भोगेको छ । यसका प्रत्यक्ष साक्षी प्रेम अधिकारी हुन् । मोरङका ढकालथरि नेताले पार्टीलाई सुझाव दिँदा उल्टो अशिष्ट बचन लगाएका छन् । पश्चिमका शाही थरी कार्यकर्ताप्रति न्याय नभएको कुरा गरियो, तर अहिले सांसद भएका तिनी तोलाको बोली भैँमा खस्लाझैँ गर्दा रहेछन् । रोग निको भए यो दबाइरूपी लेख नाम-नामेसीसहित लेखिने पनि थिएन ।

मदनले जनताको मन जितेर राजनीति र राजकीय नेतृत्व हासिल गर्नुपर्छ भन्नुभएको छ । यसको अर्थ आर्थिक, नैतिक इमान्दारिताका साथ काम गरेर जनमैत्री र कार्यकर्तामैत्री भावनाका साथ काम गर्ने कुरालाई प्राथमिता दिएको हो । त्यसैले ठस्के र छेस्के व्यवहार नेतालाई सुहाउँदैन । राम्रा काम र राम्रा ब्यहोराले मात्र जनता नजिक हुन्छन् र, गर्न चाहँदा कम्युनिस्टहरूले नै गर्छन् भन्ने बलियो उदाहरण चीन नै हो । यसको सङ्केत एमालेले प्रदान गरेको छ, तर मदन भण्डारीको रापताप रहुन्जेल गर्नु मात्र गर्नु होइन, पछिसम्म राम्रा काम गरेर त्यसको प्रभावमा राज्यसत्ता हात पार्नु हो ।

जननेता मदन अहिले भएको भए उहाँले पार्टीमा व्याप्त नातावाद र अवसरवादलाई पन्पिन दिनुहुने थिएन । उहाँले नेता र तिनका परिवारकेन्द्रित होइन, पार्टी नीति, सिद्धान्त र आदर्शकेन्द्रित पार्टी निर्माण गर्नुहुन्थ्यो । उहाँले एक्लो महान् बन्ने भन्दा पार्टीलाई प्रतिभाको फूलबारी बनाउनुहुन्थ्यो । मदनले सांस्कृतिक रूपान्तरणलाई प्राथमिकतामा राख्नुहुन्थ्यो । किनकि, मनको मैलो धुने साबुन प्रगतिशील तथा देशभक्त कला, साहित्य, संगीत र शिक्षा हो भन्ने उहाँले राम्ररी बुझ्नुभएको थियो । उहाँले नेताले अस्वाभाविक रूपमा अनियन्त्रित धनसम्पत्ति जोगाड गर्ने कुरालाई नियन्त्रित गर्नुहुन्थ्यो । चिनियाँ राष्ट्रपतिले धन सम्पत्तिमा अपहत्ते गरेर लाग्नेलाई पार्टी छाड्न र पार्टी प्रवेश नगर्न सुझाएजस्तै मदनले पनि गर्नुहुन्थ्यो । आर्थिक नैतिक रूपमा भ्रष्टहरू पार्टीमा खुरुखुरु लिस्नो लगाएर माथि चढाइँदैन थियो । वहाँले पार्टी संगठनलाई चुुस्त दुरुस्त, प्रभावकारी र देशव्यापी बनाउनुहुन्थ्यो । अनुशासनविपरीतका तमाम गतिविधि निस्तेज पार्न सक्रिय हुनुहुन्थ्यो । कतिपय उपल्लै तहका नेतालाई उहाँले कार्यवाही गर्ने पूर्व उद्घोष गरेझैँ गर्नुहुन्थ्यो र माले मार्क्सवादी एकताविरोधीहरू तह लाग्ने गरी काम गर्नुहुन्थ्यो ।

मदनले अग्रज कम्युनिस्ट र अनुज कम्युनिस्टप्रति पर्याप्त आदरभाव र आत्मीय भाव राख्नुहुन्थ्यो । मदन घाम हुनुहुन्थ्यो, त्यसैले अन्धकारको कुनै गुन्जायस हुने थिएन । किनकि मदन आफू दस विशेषतायुक्त हुन चाहनुहुन्थ्यो । मदन स्वस्थ्य आलोचना सुन्नु र स्वीकार्नुहुन्थ्यो । उहाँ भएको भए जबजको बहुआयाम व्यवहारमा परिणत हुन्थ्यो र यो सिद्धान्त विश्वव्यापी चर्चामा पुग्थ्यो । मदन भएको भए पार्टी मात्रात्मक चरणमा मात्र अल्झिँदैनथ्यो । यो गुणात्मक रूपान्तरणको मध्य चरणमा प्रवेश गर्थ्यो । त्यसैले जबजअनुसार हुबहु पार्टी चल्ने हो भने पार्टीमा अझै विद्यमान तमाम जडता तोड्नैपर्छ, तब मात्र पार्टी गुणात्मक दिशातिर उन्मुख हुनेछ । अहिले कोशी लगायत प्रदेश अधिवेशन हुन लागिरहेको देखिन्छ । अध्यक्ष ओलीले भनेझैँ सदा दिन नित्यकर्म मात्र गरेर पार्टी काम भयो भन्न मिल्दैन । कोसीमा यस्तै पारा विद्यमान छ । अब के कस्तो हुन्छ खाइ पत्याउनुपर्ने अवस्था छ । प्रमुख नेता अहिले जस्तै बहुआयामिक, सिर्जनात्मक र चुस्त भएन भने संगठन अरू चार वर्ष थलापर्ने निश्चित छ ।