पहिरोले बेनिघाट-आरुघाट सडकखण्ड अवरुद्ध

पहिरोले बेनिघाट-आरुघाट सडकखण्ड अवरुद्ध


केही दिनदेखि लगातार परेको अविरल वर्षापछि खसेको पहिरोले बेनिघाट-आरुघाट सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडक खण्डअन्तर्गत पर्ने गोरखाको गण्डकी गाउँपालिका-४ ढावेस्थित दीपा पहरो भन्ने स्थानमा आइतबार साँझपख पहिरो खसेको हो ।

गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाका अनुसार पहिरोले बेनिघाट आरुघाट सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । सडकमाथिबाट ठूला-ठूला ढुङ्गासहितको पहिरो खसेको स्थानीयलाई उद्धृत गर्दै तिमिल्सिनाले जनाएका छन् ।

पहिराले दुईतर्फी सडक अवरुद्ध भएपछि सवारी साधान आउजाउ ठप्प भएका छन् । सडक अवरुद्ध भएपछि आरुघाट, घाटबेँसी, बेनिघाट हुँदै काठमाण्डौ ओहोर-दोहोर गर्ने सवारी साधन चल्न सकेका छैनन् भने बोलेरोलगायतका निजी तथा भाडाका सवारी साधन पनि पूर्णरुपमा रोकिएको छ । अवरुद्ध सडक हटाउन आवश्यक पहल भइरहेको अध्यक्ष तिमिल्सिनाको भनाइ छ ।

पहिरोसँगै ठूलाठूला ढुङ्ग खसेको र लगातार वर्षा भइरहेकाले पहिरो हटाउन समस्या परिरहेको बताइएको छ । उक्त पहिरोका कारण फुजेल, बेनिघाट हुँदै काठमाडौँ चितवनलगायतका शहरमा छुट्ने सवारी साधान पनि अवरुद्ध भएको छ ।