गाई : माता कि अरुजस्तै जनावर ?

गाई : माता कि अरुजस्तै जनावर ?


गाईको दुध, घिउ, पिसाव, गोबरसमेत अरु जनावरको भन्दा उपयुक्त र स्वास्थ्यलाई फाइदा हुने भएकोले गाइको महत्व बढ्यो । गाईको दुध बच्चालाई खुवाउँदा अरु जनावरको दुधले भन्दा राम्रो गरेको र रोग नलागेको पनि थाहा हुँदै गयो । गाइका अङ्ग तथा दुध, दही, घिउ, मुत्र र गोबर पनि फाइदाजनक भएकोले यसलाई सम्मान गर्न थालियो ।
✍ दामोदर पौडेल

गाईलाई हिन्दु सनातनीहरूले देवी माताको रूपमा हेर्ने गरेका छन् । गाईको शरीरमुनिबाट छिरेमा धर्म हुने, गाइपुजनले राम्रो फल पाइने विश्वासले हिन्दुहरूले गाईको सम्मान मात्र होइन पूजासमेत गर्ने गरेको परम्परा छ । यसरी गाईलाई पूजा गर्ने गरेको र भगवानसरह नै मान्ने गरेकोले वौद्ध, सिख, जैन, किरातबाहेकका अन्य धर्मावलम्वीहरूले हिन्दु अर्थात् सनातनीहरूलाई पशुभन्दा पनि तल्लो सोच राख्ने धर्मधारी पनि भन्ने गरेका छन् । पशुलाई पुज्नेहरूको विवेक कस्तो हुने जस्ता विचार/धारणा वा भनाइहरू पनि आउने गर्छन् । त्यो स्वभाविक पनि हो । परम्पराले सिकाएर भावना यति कठोर हुन्छ कि दुवै पक्ष वा सबै पक्ष त्यसबाट नराम्रोसँग बाँधिएका हुन्छन् । त्यो बन्धनबाट मुक्ति कठिन हुन्छ तर मुक्ति आनन्ददायक हुन्छ ।

नेपालबाट धेरै वर्ष पहिला अफ्रिकामा कुनै कार्यक्रमको लागि केही ब्यक्ति गएका रहेछन् । उनीहरूलाई साह्रै मिठो चाउचाउ वा चाउमिन जस्तो लाग्ने तर त्यो भन्दा स्वदिष्ट कुनै खाना खुवाइएछ । खाएपछि सबैले प्रशंसा गरेछन् । खाना खाएको करिव तीन घण्टापछि कुरा हुँदा नेपालीहरूले खाना साह्रै मिठो थियो, यति मिठो यस्तो खाना त जिन्दगीमा कहिल्यै नखाएकोले मिल्छ भने आफ्नो घर पनि केही लग्ने चाहना व्यक्त गरे छन् । त्यो कहाँ पाइन्छ भनेर सोध्दा उनीहरूले यहाँ त सफा फार्ममा बनाइन्छ, नेपालमा भने जता पनि पाइन्छ भन्ने जवाफ दिएछन् । सोध्दै जाँदा त्यो राम्रोेसँग सुकाएर, वफाएर, अरु अझै स्वादिष्ट कुरा पनि थपेर बनाएको गँड्यौलाको परिकार थियो भन्ने जानकारी मिलेछ । त्यो सुनेर नेपालीहरूले बान्ता गर्दा–गर्दा झण्डै अस्पताल नै लैजानुपर्ने अवस्था निम्तिएछ । नेपालीहरूले दुःख मान्दै यस्तो फोहोर, खानै नहुने, सम्झँदै घिन लाग्ने कुरा किन खुवाएको भन्न थालेछन् । उनीहरूले यो त सफा हो, तपाईंहरू साह्रै फोहोर खाने कुखुरा, सुङ्गुर आदि त खानुहुन्छ, त्यस्तो फोहोर खानेले यस्तो सफा वस्तु त जरुर खानुहुन्छ भनेर बनाएको र, तपाईंहरू खुसी हुनुहुन्छ भन्ने सोचेर दिएको भनेछन् । तर नेपालीहरूले त्यसपछि पनि बान्ता गरेछन् । अब यसमा कसको भनाइ सत्य वा कुनै पक्ष दोषी छ र ?! निष्पक्ष भएर सोचौँ त !

म साकाहारी हुँ, मेरा पिताजी पनि साकाहारी हुनुहुन्थ्यो । आमा र पत्नीसमेत साकाहारी नै भएपनि सन्तानहरू चाहिँ सबैजसो मांसाहारी छन् । मलाई आफू साकाहारी भएकोमा राम्रो पनि लाग्छ । श्रीकृष्ण भगवानले गाई, हात्ती र चण्डाल, कुत्ता सर्वज्ञ बाबन ज्ञानीका दृष्टिमा एकै ठहर्छन्… बुझ अर्जुन ! भन्नुभएको पनि म मनन गर्दछु । गाई देवीको प्रतीक भएर अवतरित भएको मात्र होइन, माछो, सुङ्गुर, कछुवा समेत भएर पनि भगवानको अवतरण भएको पनि मैले सुने-पढेको छु । मैले गाइलाई टीका लगाएको छु, ढोगेको छु । त्यसमा मलाई पछुतो छैन बरु खुसी नै लाग्छ । अहिले पनि उपयोगी जनावरको हिसाबले म गाइलाई नमन नै गर्छु । सबै गाई देवी होइनन् र सबै माछा, कछुवा, सुङ्गुर पनि भगवान होइनन् । त्यसैले माछा, कछुवा र सुङ्गुरलाई हामीमध्ये मांसाहारीहरूले इच्छाअनुसार खान्छौँ, तर गाई भने काटेर खाँदैनौँ ।

अरु पशुजस्तै देखिने गाईलाई लक्ष्मीको अवतार मानेर पूजा गर्नु र मासु नखानु, उनको शरीरमुनिबाट छिर्दा पुण्य मिल्छ भन्ने सोच्नु त अरु मानिसहरू जसले सनातन धर्म मान्दैनन् र गाईसमेत खान्छन्- तिनलाई कस्तो लाग्दो हो ? उनीहरूले हामीहरूलाई पहिलो नजरमा नै मुर्ख नै भन्छन् कि जस्तो लाग्छ । अर्कोतर्फ हिन्दुधर्ममा जन्मेका नेपालमा मन्त्रीसमेत भएका मोदनाथ पश्रितजस्ता पढालेखा मानिसले परोक्षरूपमा गाईको फरक हैसियत नै छैन समेत भनेको पाइन्छ । अन्य धर्मावलम्बीहरूले गाई मारेको आरोपमा विवाद भएर मानिस नै मारिएका पनि छन् । यो विषयमा गहिराइमा नै जान आवश्यक भएको छ । हामीहरू अमिवा, माछा, वनमान्छे आदि हुँदै विकसित हुँदै आएका हौँ । हामी जंगली अवस्थामा हुँदा खेतीपाति हुँदैनथ्यो । घर र समुहको ब्यवस्थापक महिला नै हुने र बच्चा जन्माउने हुँदा, बच्चाले आमा चिन्ने हुँदा पनि महिलाको कदर ज्यादा थियो । त्यस अवस्थामा भगवान् पनि महिलाको रूपमा नै साकार भएर आउनुहुन्थ्यो । त्यस समयमा गाइसमेत सबै जनावरहरू मानिसले खान्थे । कतिपय स्थानमा त अन्य समुदायका मानिसहरूलाई पनि मारेर खाने कार्य हुन्थ्यो ।

जब मानिस खेतीपातिमा लागे, तब गाइको बाच्छोको साह्रै ठुलो महत्व भयो । मैदानी इलाकामा वस्तु लग्न पनि त्यसैको उपयोग भयो । गाइले बाच्छा दिने हुँदा यसको उपयोगिताले गर्दा मारिएन । बुढो भएर मरेपछि छाला खान योग्य नहुँदा त्यसको जुत्ता र शरीरमा लगाउने वस्तु पनि भए । अन्य जनावरहरू बुढो हुनुभन्दा पहिला नै मारिने हुँदा प्रायः छाला पनि खाइयो । क्रमशः अनुभवबाट गाईको दुध, घिउ, पिसाव, गोबरसमेत अरु जनावरको भन्दा उपयुक्त र स्वास्थ्यलाई फाइदा हुने जानकारी भएकोले गाइको महत्व अझै बढ्यो । गाईको दुध बच्चालाई खुवाउँदा अरु जनावरको दुधले भन्दा राम्रो गरेको र रोग नलागेको पनि थाहा हुँदै गयो ।

यस अवस्थामा मूलरूपमा गोरुको श्रोत भएकोले गाईलाई नमार्ने, गाइका अङ्ग तथा दुध, दही, घिउ, मुत्र र गोबर पनि फाइदाजनक भएकोले यसलाई सम्मान गर्न थालियो । जुन अत्यन्त स्वभाविक हो । नबुझ्नेहरूले गाइ काटेर खाने गर्थे तर यसो भएमा गोरुको सङ्ख्या कम हुने सम्भावना भएकोले गाई मार्न रोक लाग्यो र, त्यतिले मात्र रोक्न कठिन हुने तथा अरुले थाहा नपाउने गरेर मार्ने हुँदा गाइलाई लक्ष्मीको अवतार भएको तथा कुनैबेलामा गल्ती गरेकोले पृथ्वीमा मानिसको सेवाको लागि आउन परेको कथा जोडियो ।

त्यति मात्र होइन, सनातन धर्म पहिला संसारभर नै रहेकोमा पछि साँघुरिँदै भारतवर्षमा संगठित भएकोले गर्मी समयमा गाईको मासु मरेपछि खाँदा कुष्ठरोग भएको समेत महसूस भयो । यसै कारणले गर्दा पनि गाईलाई गर्मी ठाउँमा मार्न नहुने देखिएको र उपयोगितको कारणले समेत गाइलाई नमार्नको लागि लक्ष्मीको अंश भएको देखाएर गाईको सुरक्षा भयो र, गाई मार्न तथा मारेर मासु खान नहुने ब्यवस्था स्थायी र ब्यापक भयो ।

अब त जोत्ने साधन धेरै प्रकारका आएका छन् । वस्तु र मान्छे बोक्ने साधनहरू पनि धेरै प्रकारका छन् । गोरुको उपयोगिता साह्रै कम भएको छ । जङ्गलमा चराउने गाईले जङ्गली घाँस र जडिबुटी खान्छन् तर पालुवा वा विकासे गाईले ती वस्तुहरू पनि खाएका हुँदैनन् । भाँडो जति नै राम्रो भए पनि त्यसमा राख्ने वस्तु राम्रो भएमा मात्र भाँडोले राम्रो वस्तुलाई अझै राम्रो र सुरक्षित बनाउन सक्छ । अहिलेका विकासे तथा दाना खाएका गाइहरूमा केही वंशाणुगत गुण परम्परागत गाईहरूका भए पनि धेरै गुण अवश्य कम भएका छन् । गाईको गोबर, दुध, घिउ, मुत्रको औषधिको स्थान अरु दबाइले लिएका छन् । त्यसैले गर्दा सारमा गाई लक्ष्मीको अवतार नभए पनि यिनका उत्पादन र गोरुले दिने सम्पत्ति र सुखले गर्दा लक्ष्मी भनिएकोमा केही हदसम्म उपयोगिता राम्रो भए पनि पहिलाको जस्तो अवस्था अब त्यत्ति रहेन ।

त्यसैले गर्दा हामी परम्परागत हिन्दुहरूलाई गाइको मासु नै खान र काट्न कठिनाई हुन सक्छ । नयाँ र विवेकको आधारमा गीता तथा वेदहरूको अध्यायनबाट हिन्दु भएकाहरूलाई साकाहारी नै बन्न ठिक लाग्छ र, जो साकाहारी बन्न सक्दैनन् उनीहरूले गाइको मासु खानबाट रोक्नु भनेको रुढीवादी जस्तो देखिन थालेको छ । हिन्दु धर्म अर्थात् सनातन धर्म समयको आवश्यकताअनुसार सांसारिक कुराहरू बदल्न सक्ने सबैभन्दा महान् धर्म हो । हामीहरू आफू गाई नखाउँ र सकेसम्म अन्य खाद्यान्नले सन्तुलित आहार पुगेमा साकाहारी नै बनौँ, तर अरुलाई अन्य जनावरजसरी नै गाइगोरु उपयोग गर्नबाट नरोकौँ ! यो विवेकपूर्ण कार्य हुनेछ, समाज र समयसापेक्ष हुनेछ । यसले हामीहरूको आर्थिक अवस्था पनि राम्रो पार्नेछ । त्यो भन्दा महत्वपूर्ण त हामी हिन्दुहरूलाई हाम्रो ऐतिहासिक परम्परा नबुझी, इतिहास नहेरी पशुको पुजक भन्ने सोचमा पनि परिवर्तन आउने छ । हामीले गाइ, गोरु, पिपल, तुलसी आदिलाई पुजेका छौँ र पुजौँ । भगवानको अंश त सबैमा छ तर गाई, तुलसी, पिपल आदिमा अझै ज्यादा उपयोगी अंश पनि छ भन्ने सोचेर पुजा पनि गरौँ, अर्थात् जसरी माछा, कछुवा आदिको पुजा हुन्छ त्यसै गरेर पुजौँ । सबैको कल्याणको सोच राखेर पुजौँ । गौहत्या पाप होइन, तर हामीले नै हत्या गर्न पनि सक्दैनौँ, त्यसैले उपयोगिता नभएपछि बेचौँ । अरुलाई खानबाट नरोकौँ । कतिपय सत्य समयसापेक्ष पनि हुन्छ भन्ने मनन गरौँ ! पङ्क्तिकारको सुझाव हो यो ।

हिन्दुहरूको सारांश यस्तो छ कि विज्ञानको आधारमा आचरण र काम गर्ने वैज्ञानिक र विद्धान् हुन्, त्यसैलाई आधार मानेर धर्म छैन भन्ने नास्तिक हुन् । विज्ञानका अनुसन्धानलाई आत्मसात गरेर विज्ञानभन्दा माथिका अनुत्तरित विषयमा धर्ममा अर्थात् वेद आदिमा पनि जवाफ खोज्ने ब्यक्ति विवेकपूर्ण आस्तिक र सनातनी हो ।