राजा : लोकप्रिय कि सक्रिय ?

राजा : लोकप्रिय कि सक्रिय ?


०६८ साल असोज ८ गते यस साप्ताहिकका नाममा प्रेस काउन्सिल नेपालले एउटा पत्र पठायो । राजाको शासनकालमा माथवरसिंह बस्नेत प्रेस काउन्सिलको अध्यक्ष भएका बेला पटकपटक प्रेस काउन्सिलका चेतावनी पत्र प्राप्त हुने गरेका भए पनि त्यसपछि खासै पढ्न पाइएको थिएन । त्यतिबेला भने कहिले नवलपरासीमा माओवादीविरुद्ध राजावादीहरूले प्रतिकार समिति गठन गरेको समाचार किन छापेको भन्दै त कहिले के बहानामा प्रेस काउन्सिलका अनेक पत्र आइरहेका हुन्थे, तथ्य र तर्कसहित धेरैपल्ट हामीले त्यस्ता पत्रको जवाफ दिएका छौँ । लामो समयपछि गत असोजमा प्रेस काउन्सिलका नामबाट पत्र पाउँदा के रहेछ भनेर कुतूहल जाग्नु स्वाभाविकै थियो । विषय ‘ध्यानाकर्षणपत्र’ भनी प्रेषित उक्त पत्रमा असोज ४ गते घटना र विचार साप्ताहिकमा प्रकाशित ‘बकुल्लाले छोडेनन् राजा ज्ञानेन्द्रलाई’ शीर्षक समाचार आचारसंहिताविपरीत भएको हुनाले आगामी दिनमा यस्ता शब्द चयनमा ध्यान दिनुपर्ने कुरा उल्लेख गरिएको थियो । पत्रमा आचारसंहिता उल्लङ्घन भएको भनिए पनि के कारणले कसरी उल्लङ्घन भयो भन्ने कुराचाहिँ लेखिएको थिएन । पत्रको जवाफ दिनका लागि सबैभन्दा पहिले त के कारणले आचारसंहिता उल्लङ्घन भएको हो भनेर स्पष्ट गरिदिनुपर्‍यो भनी सोध्न आवश्यक थियो तर ‘ध्यानाकर्षण’ मात्र भनिएकोले भइहाल्यो यो झन्झटतिर नलागौँ जस्तो लाग्यो । कुनै वाक्य या शब्दले कसैलाई अपमानित गरे त्यस्ता विषयमा प्रेस काउन्सिलले स्पष्टीकरण लिन सक्थ्यो तर कसैलाई सम्मान किन गरेको ? भन्ने पत्र लेखेरचाहिँ शायद विश्वमा कुनै पनि देशका प्रेस काउन्सिलले ध्यानाकर्षण गराउँदैनन् होला । यदि स्पष्टीकरण नै मागिएको भएचाहिँ जवाफ यस्तो हुन सक्थ्यो-
u राजा पद नभएर मान हो, सम्मान भन्ने कुरा कहिल्यै पूर्व हुँदैन । श्री ५ महाराजाधिराज लेख्दाचाहिँ पूर्व लेख्नु जरुरी हुन्थ्यो, हुन्छ ।
u राजा त्रिभुवन, राजा महेन्द्र, राजा वीरेन्द्रको अस्तित्व आज यो धर्तीमा छैन, तिनलाई आज पनि राजा सम्बोधन गरिन्छ र भविष्यमा नेपालको इतिहासले ज्ञानेन्द्रलाई नेपालका अन्तिम राजाको रूपमा चित्रण गर्ने निश्चित छ, ज्ञानेन्द्रलाई नेपालका अन्तिम पूर्वराजा भनिने छैन ।
u भारतमा पहिलेका राजामहाराजाहरू सबैलाई अहिले पनि राजा भनेरै सम्बोधन गरिन्छ । तिनका सन्तान जो कहिल्यै राजा भएका थिएनन्, तिनलाई पनि राजा नै भन्ने गरिन्छ र सञ्चारमाध्यमले पनि राजामहाराजा भनेरै लेख्छन् ।
u ज्ञानेन्द्र नामका मानिस यो देशमा धेरै भएकाले कुन ज्ञानेन्द्र भन्ने बुझाउन राजा शब्दको प्रयोग गरिएको हो ।
u पौराणिककालका राजालाई आज पनि सम्बोधन गर्दा राजा राम भन्ने गरिन्छ ।
u मुस्ताङ्गी राजा, बझाङ्गी राजा भनेर साम्बोधन गर्दा आचारसंहिता उल्लङ्घन नहुने राजा ज्ञानेन्द्रभन्दा चाहिँ कसरी आचारसंहिता उल्लङ्घन हुन्छ ? आदिइत्यादि जवाफ अनेक हुन सक्थे ।
प्रेस काउन्सिलको उक्त पत्रको स्मरण किन गरिएको हो भने हामीले राजा शब्द पटकपटक लेख्ने गरेका छौँ । यसो गर्दा कुनै पनि पक्षबाट पत्रकारिताको आचारसंहिता उल्लङ्घन हुँदैन भन्ने हाम्रो मान्यता या बुझाइ मात्र नभएर यो सैद्धान्तिक कुरा पनि हो । राजाको चर्चा यो मुलुकमा फेरि सुरु भएको छ । हालै सुनसरीमा आयोजित पुराणमा जाँदा पाएको सम्मान या आफ्नोपन होस् या पशुपति पुग्दाको जयजयकारका दृश्यहरू त्यति ‘अन्डरमाइन्ड’ गर्नुपर्ने खालका थिएनन् । कतिले राजावादीको भीड भने पनि बिनापूर्वाग्रह हेर्ने हो भने त्यसलाई सर्वसाधारणको भीड भन्न सकिन्छ । यदि ती सबै राजावादी नै रहेछन् भने पनि त यो मुलुकमा राजालाई मान्ने सङ्ख्या कति धेरै रहेछ त ? बहुमतको राजनीतिमा विश्वास गर्नेहरूका लागि यो पनि आफैंमा सोचनीय विषय हो । राजाका पछाडि यति धेरै भीडको अर्थ के हुन सक्छ ? कतिपय राजनीतिक दलहरूले यसलाई राजा सक्रिय हुन खोजेको अर्थ लगाएका छन् । नेकपा एमाले इटहरीले त राजावादीहरूले भीड जम्मा गरेर ट्राफिक नियम उल्लङ्घन गरेको कुरा बैठकमा उठाएको र त्यसको विरोध गरेको भन्ने समाचार पत्रपत्रिकामा पढियो । दाङ घटनामा छानबिन भइरहेकै बेला एमालेले ट्राफिक नियमको कुरा गर्नु आफैंमा रोचक कुरा पनि हो ।
राजनीतिक दलहरूले मुलुकलाई सही दिशा दिन नसकेपछि सर्वसाधारणलाई बरु राजा नै ठीक थिए कि क्या हो भन्ने एकातिर लागेको छ भने अर्कोतिर जे भए पनि राजा भनेको त राजा नै हुन् नि ! भन्नेहरूको सङ्ख्या पनि हामीकहाँ धेरै छ । राजा उपस्थित हुने समारोहहरूमा देखिएको भीडले राजाको लोकप्रियता भनी आँकलन गर्नेहरू प्रसस्त छन् तर भीड मात्रै लोकप्रियताको मापक होइन भन्ने कुराका अनेक उदाहरण छन् । केही दिनअगाडि देवप्रकाश त्रिपाठीजीले आफ्नो लेखमा यो कुराको पुष्टि गर्दै लेख्नुभएको छ, ‘एकपल्ट बेलायतको हाइट पार्कमा चर्चिलले सम्बोधन गर्दै गर्दा मानिसहरूको भीड देखेर उनका सल्लाहकारहरूले भनेछन् ओहो, हजुरको लोकप्रियता कति छ भन्ने कुरा त यी मानिसको भीडले नै देखाइरहेको छ । जवाफमा चर्चिलले भनेछन् होइन, भोलि मलाई फाँसी दिइँदै छ भन्ने जानकारी पाए भने यही ठाउँमा मानिसहरूको योभन्दा धेरै गुणा भीड बढ्नेछ ।’ त्यसैले मानिसको भीडलाई नै लोकप्रियताको मापक मान्न सकिन्न, तर नेपालको राजसंस्था र राजाप्रति सकारात्मक धारणा राख्नेहरूको सङ्ख्या भने दिन प्रतिदिन बढ्दै गएको पाइन्छ । राजनीतिक दलका नेताहरूले राम्रो काम गरेका भए शायद यस्तो परिस्थिति नआउन पनि सक्थ्यो । पहिला हरेक कुरामा राजसंस्थालाई दोषी देख्नेहरू पनि अहिले राजसंस्थाप्रति तटस्थ भने छन्, विशेषगरी युवा जमातमा राजनीतिकर्मीप्रतिको बढ्दो वितृष्णाले केही अर्कै कुरा खोजिरहेको छ । यसको अर्थ राजाको सक्रिय भूमिकाको अपेक्षा हो भन्नचाहिँ मिल्दैन । कुनै बेला थियो जति बेला राजसंस्थालाई सक्रियताभन्दा लोकप्रियता जरुरी थियो, त्यस्तो बेलामा सक्रिय भइदिँदा दुर्घटनाको सिकार हुनुपर्‍यो । हिजोका एमाले, माओवादीलगायतका कम्युनिस्ट पृष्ठभूमिका मानिसको ठूलो जमातमा अहिले निराशा छाएको छ । ठाउँ पाए सबै राजा नै त हुन खोज्ने रहेछन् भन्ने भावनाले मनमा गतिलै स्थान लिइरहेको छ । माओवादीका पूर्वलडाकुहरूमा त झन् यति निराशा र पश्चात्ताप छ कि भनेर साध्य छैन । केही समयअघि धनगढीमा भेटिएका एक पूर्वलडाकुले यस पङ्क्तिकारसँग भनेका थिए, ‘हिजो राजा हटाउन हामीलाई प्रयोग गरियो, गिरिजाले मार्न खोज्दा कमसेकम राजाले हामीलाई मार्न दिएका त थिएनन्, अहिले सम्झिदा गल्ती भयो जस्तो लाग्छ । हामीले त्यतिबेला ठूलै परिवर्तनका लागि होला भन्ने ठान्यौँ, तर हाम्रा नेताहरू आफू राजा हुनका लागि पो रहेछ ।’ यस्तो निराशा भोलि कहाँ गएर पोखिने हो यसै भन्न सक्ने अवस्था छैन । राजनीतिक दल, नेताहरू, राजसंस्था या राजा, लोकतन्त्र आउँदाको परिस्थिति र अहिलेको अवस्थाबीच आकाशजमिनको फरक छ । अहिले राजालाई सक्रिय भएको भन्दा पनि लोकप्रिय हुँदै गएको भन्न सकिन्छ । सक्रिय भएर अप्रिय हुनुभन्दा त चुपचाप बसेर जनताकाबीच लोकप्रिय हुनु कैयौँ गुणा राम्रो हुनेछ, भइरहेकै छ ।