प्रहरी निरीक्षकको सरुवा गराउन आन्दोलनको चेतावनी

प्रहरी निरीक्षकको सरुवा गराउन आन्दोलनको चेतावनी


  • कपिलवस्तु प्रतिनिधि

कपिलवस्तुस्थित इलाका प्रहरी कार्यालय पकडीका इन्चार्ज प्रहरी निरीक्षक शिव कुमार क्षेत्रीलाई तत्काल सरुवा गर्न जनप्रतिनिधिहरुले माग गरेका छन् ।

लुम्बिनी प्रदेशसभा सदस्य मधुसुदन शरण चौधरी, मायादेवी गाउँपालिकाका अध्यक्ष वलीउद्दिन मुसलमान, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, कपिलवस्तु नगरपालिकाका राजनैतिक सल्लाहकार अब्दुल रसिद खां, मायादेवी गाउँपालिकाका ८ वटै वडाका वडा अध्यक्ष लगायतको जनप्रतिनिधिहरुको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालय र लुम्बिनी प्रदेश प्रमुखसमक्ष ज्ञापन पत्र पठाएर क्षत्रीको सरुवा गरिदिन माग गरेका छन् ।

प्रहरी निरीक्षक क्षेत्रीले सर्वसाधारणहरुमा चेक जाँचका नाममा स्थानीयलाई दुःख दिने, महिलाहरुप्रति अभद्र व्यवहार गर्ने, स्थानीय जनप्रतिनिधीहरुसँग अमर्यादित ढंगबाट प्रस्तुत हुने जस्ता आरोप सो ज्ञापनपत्रमा लगाइएको छ ।

छिटोभन्दा छिटो प्रहरी निरीक्षक क्षेत्रीको सरुवा गरी नयाँ व्यवस्था गरिदिन गृह मन्त्रालयका साथै लुम्विनी प्रदेश प्रहरी प्रमुखसमक्ष अनुरोध गरिएको मायादेवी गाउंपालिकाको अध्यक्ष वलीउद्दिन मुसलमानले बताए । यथाशीघ्र सरुवा नभए प्रहरी निरीक्षक क्षेत्रीविरुद्ध आन्दोलनमा उत्रिन बाध्य हुने जनप्रतिनिधिहरुले चेतावनी दिएका छन् ।

मायादेवी गाउँपालिकाले आफ्नो पालिका क्षेत्रमा रहेका प्रहरी चौकी तथा इलाकालाई गर्दै आएको आर्थिक सहयोग पनि कट्टी गरेको जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष वलीउद्दिन मुसलमानको अध्यक्षतामा बसेको पालिका बैंठकले इलाका प्रहरी कार्यालय पकडीअन्तर्गतका सबै चौकी तथा अस्थायी प्रहरी पोष्टको घर भाडालगायतको सहयोग रकम कट्टी गर्ने निर्णय गरेको मायादेवी गाउँपालिकाले जनाएको छ । पालिका क्षेत्रमा रहेका मन्दिरको घन्टी चोरी भएका छन्, मोटरसाइकल चोरी भएका छन् तथा अन्य अपराधिक घटना हुने गरेको वडा नं. ३ का अध्यक्ष शैलेन्द्र कुमार यादवले बताए । तर, त्यसतर्फ भने खासै चासो छैन, वडा अध्यक्ष यादवले भने, “अहिले सम्म चोरीका घटनाका कुनै चोर समातिएका छैनन् ।”

यता प्रहरी निरिक्षक क्षेत्रीले भने आफुले कुनै अमर्यादित गतिविधि नगरेको जिकिर गरे । राज्यले दिएको जिम्मेवारीअनुसार आफुले काम गर्दै आएको तर सामान्य कुरालाई आफ्नो प्रतिष्ठाको विषय बनाउँदै ठुलो बनाएर आफूविरुद्ध ज्ञापन पत्र बुझाइएको प्रति आफुलाई दुख लागेको छ, उनले भने, “यो विषयलाई यति ठुलो बनाउनु जरुरी थिएन, हामी छलफलबाटै टुंगो लगाउन सक्थ्यौं ।” आफुलाई प्राप्त ज्ञापन पत्रलाई जस्ताको तस्तै गृह मन्त्रालय पठाइदिने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको भनाइ छ ।