श्रीकृष्ण विज्ञानको अन्तर्यमा लुकेको विशिष्ट ज्ञान

श्रीकृष्ण विज्ञानको अन्तर्यमा लुकेको विशिष्ट ज्ञान


✍ नारायण घिमिरे

शास्त्रीय योग ग्रन्थहरू अनुसार शरीरमा बहत्तर हजार नाडीहरू हुन्छन् । तिनै नाडीहरूले सूक्ष्म शरीरलाई भौतिक ऊर्जा दिन्छ। नाडीहरू स्नायुहरूको मेटाफिजिकल सूक्ष्म टेम्प्लेट हुन् । मन भने मस्तिष्कको मेटाफिजिकल सूक्ष्म टेम्प्लेट हो।

मनमोहक तर जटिल चित्र कोर्ने क्रममा एक चित्रकारले चित्र तैयार बनिसकेपछि अदृश्य रहने प्रशस्त निहित तथा काल्पनिक रेखाहरू कोर्ने गर्दछन् । निहित रेखाको डोब चित्र तैयार हुँदासमेत गौर गरेर हेर्दा देखिन्छ । काल्पनिक रेखाहरू चित्र तैयार भइ सक्दा पूर्ण अदृश्य बन्दछन्।

निहित तथा काल्पनिक रेखाहरूको सहारामा नै एक अद्भुत तथा मनमोहक जटिल चित्र तैयार हुन्छ ।

हरेक जीवको जीवनको निर्माणको क्रममा समेत यिनै प्रक्रिया समावेश हुने गर्दछ । अव्यक्त सूक्ष्म शरीरको गुणहरुको निर्माणमा नाडी र मनले निहित तथा काल्पनिक रेखाहरूको भूमिका खेल्दछ ।

वैदिक विज्ञानको अनुमानमा हरेक जीवको शरीरले खपत गर्ने सम्पूर्ण ऊर्जाको ‘दुई बिस दुई डट दुई दुई’ अर्थात् लगभग बाइस प्रतिसतको हाराहारीमा मन र मस्तिष्कले खपत गर्दछ। त्यसैको समानुपातिक रूपमा गरिएको लेखाजोखा अन्तर्गत सम्पूर्ण बहत्तर हजार नाडीको लगभग त्यही अनुपातमा हुने सोह्र हजार नाडी मन र मस्तिष्कको मात्र सञ्चालनमा पूर्ण रूपमा समर्पित रहन्छ।

सनातनका कथाहरूमा पाँच पन्च तत्व, मन, अहंकार र आत्मा गरि आठ मुल तत्वहरू अर्थात आठ मुल पत्नीहरूको अतिरिक्त श्रीकृष्णको सोह्र हजार गोपिनी रूपका पत्नीहरू थिए भनी उल्लेख भएको भेटिन्छ। सोह्र हजार सङ्ख्याले आध्यात्मिक रूपमा बहत्तर हजार मध्येको माथि उल्लेखित सोह्र हजार नाडीहरू अर्थात् सूक्ष्म स्नायु गुण अर्थात आठ मुल तत्वहरूको प्रतिनिधित्व गर्दछ।

वैदिक अवधारणामा अनुरुप व्यक्तिको चेतनालाई अहङ्कारबाट सम्पूर्ण रूपमा मुक्त गर्न सक्दा व्यक्तिको चेतनाको अस्तित्व व्यक्तिमै रहँदाको अवस्थामै समेत सामूहिक चेतना सँग एकताबद्ध हुन सम्भव हुन्छ। त्यसो हुन सक्दाको चेतनाको रूपलाई तुरिया भनिन्छ । तुरिया रूपको चेतना समाधिको अवस्थामा सामूहिक चेतनामा सम्पूर्ण रूपमा अवशोषित हुन सम्भव रहन्छ।

त्यस प्रकृतिको समाधिलाई तुरिया समाधि अर्थात् निर्विकल्प समाधिको अवस्था मानिन्छ। योगको मान्यताअनुसार तुरिया समयमा मन र मस्तिष्कको सञ्चालनमा समर्पित रहने सोह्र हजार नाडीहरू एकै फ्रिक्वेन्सीको हार्मोनिमा कम्पन हुने गर्दछ।

जसलाई भगवान् कृष्णको एकै समयमा हरेक गोपिकासँग अलग-अलग नाचिरहेको रस-लीलाको रूप मानिन्छ । तुरिया अवस्थामा नाडीहरूले पैदा गर्ने पूर्ण तालमेलको सिङ्क्रोनाइज बनेको इनर्जी वेब-फङ्गसनको अवस्थामा मस्तिष्कले परम-आनन्द अर्थात् ब्लिसको अनुभूति गर्दछ।

वैदिक विज्ञानअन्तर्गतको श्रीकृष्ण तथा गोपीका सम्बन्ध विज्ञानलाई वैज्ञानिक आँखाबाट हेर्दा त्यसभित्रको गहिरो वैज्ञानिक व्यावहारिकता बुझ्न सम्भव हुन्छ।

श्रीकृष्ण विज्ञानको अन्तर्यमा लुकेको विशिष्ट ज्ञानले प्राकृतिक नियमसङ्गत रूपमा हाम्रो जीवनलाई व्यवहारिक पथमा लैजान गहन सूचना दिने गर्दछ।