बाबुरामजीको असल बन्ने सपनाबारे

बाबुरामजीको असल बन्ने सपनाबारे


विक्रम सम्वत् २०६३ को राजनीतिक परिवर्तनपश्चात् ‘अप्रासङ्गिक’ ठानिएका महानेता कृष्णप्रसाद भट्टराईको प्रथम वारि्षक पुण्यतिथिका अवसरमा (फागुन २० गते) प्रधानमन्त्री बन्नुअघिसम्म देशको सर्वाधिक लोकप्रिय मानिएका नेता डा. बाबुराम भट्टराईले दिनुभएका अभिव्यक्ति अनेक दृष्टिले मननयोग्य रहे । उहाँले सफल बन्नु र असल बन्नुबीचको जटिल अन्तरविरोधको चर्चा गर्दै सफल बन्नेहरू असल बन्न नसक्ने र असल बन्न खोज्नेहरू सफल हुन नसक्ने दृष्टिकोण मात्र पेस गर्नुभएन, आफू सफल बन्न नसके पनि कृष्णप्रसाद भट्टराईझैं असल बन्न प्रयास गरिरहने अठोट पनि प्रकट गर्नुभयो । बाबुराम भट्टराईको असल बन्ने प्रतिबद्धताका निम्ति उहाँमा हार्दिक शुभकामना तथा बधाई प्रकट गर्नु यहाँ उपयुक्त छ । तर, कृष्णप्रसाद भट्टराईजत्तिकै असल बन्ने अवसर र सौभाग्य बाबुराम भट्टराईलाई प्राप्त होला या नहोला यो विचारणीय पक्ष किन हो भने पृष्ठभूमिमा निर्वाह भएको भूमिकाले बाबुराम भट्टराई असल बन्न खोज्दा उहाँलाई चिमोटिरहने छ । किसुनजीले ठीक समयमा ठीक र विवेकसम्मत निर्णय लिएर राजनीतिको सही मार्गचित्र कोर्न सहयोग पुर्‍याउनुभएको थियो भने बाबुरामजी विगतमा चुकिसक्नुभएको छ । तथापि एउटा खुँखार डाँकु वाल्मीकि ऋषि बन्न सक्छन् भने बाबुराम भट्टराई असल बन्न सक्नुहुन्न भन्ने निष्कर्षमा पुग्नु उचित होइन । तर, कुनै पनि मानिस एकैपटकमा ‘माओवादी र असल’ कसरी बन्न सक्छ यो भने विचारणीय छ ।
कृष्णप्रसाद भट्टराईले आजीवन विवाह गर्नुभएन, बाबुराम विवाहित र घरवारवाला हुनुहुन्छ । वैवाहिक जीवनमा प्रवेश नगरेका कारणले मात्र किसुनजी असल र बाबुरामजी कमसल भन्ने बुझिँदैन । सत्ता र शक्तिमा रहँदा किसुनजीले आफ्ना प्रियपात्र र निकटवर्तीहरूलाई ‘लामोहात’ गर्न दिनुभएन, बाबुरामजी सत्ता र शक्तिमा रहँदा आफ्ना निकटवर्ती प्रियपात्रहरूबाट राज्यशक्तिको दुरुपयोग गर्दै धनसङ्ग्रह गर्ने कार्य भइरहेको छ कि छैन यो बाबुरामजीकै निम्ति आत्ममूल्याङ्कनको विषय हो । किसुनजी सिङ्गै मुलुकलाई आफ्नो घर ठान्नुहुन्थ्यो र उहाँको व्यवहार
पनि तद्अनुरूपकै थियो, बाबुरामजीले आफ्नो घरलाई देश ठान्नुभएको छैन भने पनि पार्टीबाहिरको परिध्रि्रति पूर्वाग्रही बन्न उहाँले अङ्गीकार गर्नुभएको विचारदर्शनले प्रेरित गरिरहेको छ कि छैन ? कम्युनिस्ट विचारभन्दा बाहिर पनि शाश्वत र असल विचार प्रादुर्भाव भएका छन् र कम्युनिस्टबाहेकका मानिस पनि गर्धन रेटिन लायक ठानिने कुनै जनावर नभई मानिस नै हुन् भन्ने बोध हुन बाँकी मानिस असल हुन सक्छन् या सक्दैनन् ? असल मानिस विवेकप्रधान हुन्छन् तर एउटा राम्रो कम्युनिस्ट बन्न मानिसले विचार, वाद र पार्टी निर्णयको दास बन्नुपर्ने हुन्छ, दासहरू विवेक प्रयोग गर्न स्वतन्त्र हुँदैनन् भन्ने तथ्यबारे सायद यहाँ चर्चा गरिरहनुपर्ने छैन ।
प्रजातन्त्रसहित सत्ता खोसिएपछि बीपी कोइरालाले भारत भूमिमा रहेर नेपालमा हिंसात्मक प्रकृतिको सङ्घर्ष गर्ने मार्ग अवलम्बन गर्नुभयो, त्यो जनता मार्ने जनयुद्ध नभएर निरङ्कुश शासकहरूमाथि प्रहार गर्ने एउटा प्रयास मात्र थियो, जे भए पनि एक कालखण्डमा बीपीले हिंसाको बाटो पनि अवलम्बन गर्नुभएकै हो । तर, कृष्णप्रसाद भट्टराईले पराय भूमिमा रहेर हिंसात्मक सङ्घर्षमा आबद्धता जनाउनुभन्दा देशभित्र बसेर शान्तिपूर्ण सङ्घर्ष गर्नुलाई नै सही र उचित ठान्नुभएको हो । शान्तिपूर्ण सङ्घर्षकै अठोटले उहाँलाई पन्ध्र वर्ष लामो काराबासमा रहन बाध्य तुल्याए पनि अन्ततः बीपीले भट्टराईको मार्ग अनुशरण गर्दै स्वदेश फिर्नुपर्‍यो । निरङ्कुश पञ्चायती शासनको अन्त्य पनि शान्तिपूर्ण सङ्घर्षकै परिणामका रूपमा भएको तथ्य कसैबाट छिपेको छैन । किसुनजी विशुद्ध प्रजातन्त्रवादी, प्रजातान्त्रिक मूल्य एवम् मान्यताप्रति कटिबद्ध एक साधक हुनुहुन्थ्यो । सच्चा राष्ट्रवादी भावनाले ओतप्रोत किसुनजीले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सार्वभौमिक अखण्डता र सार्वभौमिक उचाइमा आँच पुग्ने व्यवहार जीवनभर दर्शाउनुभएन । राष्ट्रिय एकता र सामाजिक सद्भावलाई अक्षुण्ण राख्दै आदर्श प्रजातान्त्रिक मूल्यमान्यताको जगर्ेना गर्नु किसुनजीको अभीष्ट थियो । तर, आज मुलुकमा सार्वभौमिक सम्मानमा गम्भीर ढङ्गले क्षति पुगेको छ, अखण्ड सार्वभौमिकतालाई विभिन्न जात र क्षेत्रका नाममा खण्डित गर्दै तिनका नाममा लालपर्ूजा बनाउने प्रयास भइरहेको छ । सामाजिक सद्भाव भङ्ग गरी जातीय एवम् क्षेत्रीय भड्कावलाई बढावा दिने काम राजनीतिक तहबाट नै हुँदै आएको छ । कानुनी शासनको अवधारणालाई भताभुङ्ग तुल्याउँदै एक विचार, एक पार्टी र एक व्यक्तिको अधिनायकवादी शासन पद्धति स्थापित गर्न अनेकौँ कसरत भइरहेका छन् । समग्र देश नै यतिबेला अराजकता र हिंसात्मक प्रवृत्तिको सिकार बनिरहेको छ । यसप्रकारको अवस्था सिर्जना हुनुमा माओवादीबाहेक अरू कोही जिम्मेवार छन् भने ती सहायक मात्र हुन् । मुलुकमा आज उत्पन्न भयावह परिस्थितिको मूल स्रोतचाहिँ माओवादी मात्र हुन् भन्ने ठम्याइ माओवादीबाहेक सबैको छ । हो, त्यही माओवादीका प्रमुख तीनमध्ये एक नेता डा. बाबुराम भट्टराईको पृष्ठभूमि ‘असल’ मानिएको छैन, भविष्यमा असल बन्न सक्नेनसक्ने यतिबेला उहाँ परीक्षणकालबाट गुज्रँदै हुनुहुन्छ ।
कोही पनि असल बन्न खोज्नुलाई सकारात्मक रूपमा लिनुपर्ने हुन्छ । देशकै प्रधानमन्त्रीले असल बन्ने चाहना प्रकट गर्नुभएको छ भने त्यो प्रशंसनीय र स्वागतयोग्य नहुने कुरै भएन । कुनै पनि मानिसले आफ्नो क्षेत्रमा सफल बन्नका लागि जति सङ्घर्ष गर्नुपर्ने हुन्छ त्योभन्दा ठूलो सङ्घर्ष असल प्रमाणित हुनका निम्ति गर्नुपर्छ । बाबुरामजी, एक साधारण किसानका छोराले मुलुकको सर्वोच्च कार्यकारी प्रमुख (प्रधानमन्त्री) बन्नुलाई उहाँको सफलताकै रूपमा बुझ्न सकिन्छ । औपचारिक शिक्षा आर्जन गर्ने क्रममा प्राप्त सफलताले उहाँको व्यक्तित्व उज्यालिएको र साधारण जीवनशैली तथा इमानदार हुनुहुन्छ भन्ने विश्वासले भट्टराईको व्यक्तित्वमा निखार ल्याएको हो । प्रधानमन्त्री हुनुलाई मात्र उहाँले सफलता ठान्नुभएको छैन र व्यवहारतः असल प्रमाणित हुन बाँकी रहेको मान्नुहुन्छ भने त्यो उहाँको महानता मात्र नभई महत्त्वाकाङ्क्षाको चरम अभिव्यक्ति पनि हो । देशको लागि केही गर्ने हो भने उहाँले त्यसनिम्ति अवसर पाउनुभएको छ, अरूलाई दोषी करार दिएर केही गर्ने या असल प्रमाणित हुने अवसरबाट आफू वञ्चित हुँदै गएको तर्क दिइयो भने त्योभन्दा हास्यास्पद केही हुनेछैन । एक सय चारवर्षो राणा शासनकालका पौने एक दर्जन शासकहरूमध्ये सबैभन्दा कम समय अर्थात् तीन महिना मात्र श्री ३ महाराज र प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गर्ने व्यक्ति देवशमशेर हुन् । श्री ३ जंगबहादुरपछि स्मरणयोग्य कुनै कालखण्ड छ भने त्यो देवशमशेरकै हो, जसले तीनमहिने शासनकालमा सुधारका अनगिन्ती काम गरे । तर्सथ देवशमशेर राणाहरूमध्ये असल र कुसल शासकका रूपमा इतिहासमा अङ्कित छन् । बाबुराम भट्टराईले देवशमशेरले भन्दा दुई गुना बढी समय प्रधानमन्त्रीका रूपमा बिताइसक्नुभएको छ । अरू कसैलाई काम गर्न नसक्नुको दोष दिएर आफू दोषमुक्त रहेको देखाउने प्रयास राजनीतिमा सामान्यता जसले पनि गर्छन्, प्रचण्ड र शेरबहादुरहरूले पनि गरेका हुन् । त्यही प्रवृत्ति बाबुराम भट्टराईले पनि दोहोर्‍याउनु शोभनीय होइन । बाबुराम भट्टराई ‘सफल’ भइसक्नुभएको छ, प्रधानमन्त्री बाबुरामको सफलताचाहिँ देशसँग जोडिएको छ । इतिहासले सुम्पेको जिम्मेवारी पूरा गर्न सकेमा उहाँ असल पनि प्रमाणित हुनुहुने विश्वास गर्न सकिन्छ । तर, असल कसका निम्ति र केका निम्ति बन्ने हो त्यसको छनोट उहाँले गर्न सक्नुपर्छ । एउटा हरिणले असल बन्ने अठोट गर्नु र ब्वाँसो या चितुवाले असल बन्न चाहनुबीचको अतुलनीय अन्तरलाई बुझ्नुपर्छ । चोरहरूको बीचमा बसेर असल बन्न खोज्नु भनेको राम्रो चोर हुनु हो । डाँकुहरूको समूहमा रहेर असल बन्नु भनेकै असाधारण डाँकुको हैसियतमा पुग्नु हो । माओवादी विचार जसलाई गैरप्रजातान्त्रिक, हिंसात्मक र षड्यन्त्रमूलक तथा एकपक्षीय करार दिँदै विश्वले अस्वीकार गरेको छ, त्यही विचार समूहमा रहेर बाबुराम कसरी असल बन्न सक्नुहोला ? एउटा जटिल प्रश्न उठ्न सक्छ । माओवादीमा आबद्ध कैयन मानिस अनेक दृष्टिले असल छन् तर माओवादीलाई समग्रमा बुझ्दा प्रश्न उठ्न सक्छ के कुनै मानिस एकैपटकमा माओवादी र असल दुवै बन्न सक्छन् ? माओवादी विचार, दर्शन र व्यवहारले आजसम्म सर्वमान्य ढङ्गले कसैलाई असल बन्न दिएको छैन । देङ्ग सियाओ पिङ जो माओ त्से तुङकै पार्टीका उपाध्यक्ष थिए, उनी पनि माओ विचारबाट मुक्त भएपछि मात्र आधुनिक र समृद्ध चाइनाको जग राख्न सफल भएका हुन् । चीनको समृद्धिमा पुर्‍याएको योगदानले देङलाई असल प्रमाणित गरेको छ र महान् पनि बनाएको छ । बाबुरामले असल माओवादी बन्ने हो कि असल नेपाली नेता बन्ने हो त्यो रोज्नुपर्छ । असल ऋषि बन्न वाल्मीकिले पनि डाँकुहरूको सङ्गत र समूह परित्याग गर्नुपरेको थियो ।
शक्तिमा रहँदानरहँदा किसुनजीको व्यवहारमा कुनै अन्तर हुँदैनथ्यो । उहाँले आफू मात्र शुद्ध रहेर आफन्तहरूलाई चाहिँ ‘जथाभावी गर्न’ कहिल्यै छुट दिनुभएन । किसुनजीले साध्यप्राप्तिको साधन हिंसालाई बनाउन चाहनुभएन र त्रास देखाएर मानिसलाई काबुमा लिने चेष्टा उहाँबाट कहिल्यै भएन । तर, बाबुरामजीले किसुनजीकै पुण्यतिथिमा प्रमुख अतिथिका रूपमा उपस्थित भएर भन्नुभयो, ‘जेठ १४ भित्र शान्ति र संविधान निर्माणको कार्य पूरा भएन भने पचासौँ हजारले ज्यान गुमाउनुपर्ने अवस्था आउन सक्छ ।’ बाबुरामको यस्तो अभिव्यक्तिलाई सहभागीहरूले माओवादी हुँकारका रूपमा बुझे । आफ्नो र्सतमा संविधान निर्माण र शान्ति स्थापना कार्य सम्पन्न हुनुपर्ने र नभए पचासौँ हजारले ज्यान गुमाउनुपर्ने अवस्था आउनसक्छ भन्नुले हिंसात्मक मानसिकताबाट माओवादी नेतृत्व अझै मुक्त हुन नसकेको सङ्केत गर्छ । हिंसात्मक मानसिकता यथावत् राखेर कुनै पनि मानिस असल बन्न सक्दैनन्, त्यसैले बाबुरामजीले पनि आफूलाई असल सिद्ध गर्न धेरै ठूलो कसरत गर्नुपर्ने देखिन्छ । सफल बन्नभन्दा असल बन्न कठिन भएको महसुस जुन बाबुरामजीले गर्नुभएको छ, यदि सच्चा हृदयले नै असल बन्न चाहनुभएको हो भने उहाँले आफ्नो सोच र व्यवहारमा भारी परिवर्तन ल्याउन आवश्यक देखिएको छ ।
वर्तमान राजनीतिका हर्ताकर्ताहरू जो २०६३ को राजनीतिक परिवर्तन र २०६५ को गणतन्त्र घोषणाको सम्पूर्ण जस (यस) लिन चाहन्छन्, परिवर्तनयताको बर्बादीको जिम्मेवारी लिन उनीहरू कोही पनि तयार देखिँदैनन् । एकअर्कालाई दोष दिएर पानीमाथिको ओभानो बन्ने प्रवृत्ति खासखास दलका नेताहरूमा देखिएको छ । पछिल्लो आधा दशकमा देश अनेक दृष्टिले बर्बादीतर्फ उन्मुख छ, यसलाई सच्याएर मुलुकलाई सही मार्गमा ल्याउन एउटा असल र योग्य नेताको आवश्यकता खट्किएको छ । के यो आवश्यकता पूर्ति गर्ने क्षमता बाबुरामजीले दर्शाउन सक्नुहोला ?