पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको उद्घाटन अवसरमा गत आइतबार राजधानीमा आयोजित भेलामा देशभरबाट जम्मा भएका कार्यकर्ताको भीड देखेर गद्गद् बनेका एमाले अध्यक्षले टुँडिखेल खुलामञ्चलाई साँघुरो देखे । कार्यकर्ताको टुँडिखेलजमघटकै आधारमा अबको एक नम्बर दल नेकपा एमाले नै भएको दाबी गर्नसमेत उनी चुकेनन् । विगतमा ठूलाठूला सभासमारोह तथा जुलुस आयोजना गरेको अनुभव रहे पनि संविधानसभाको निर्वाचनयता दलीय राजनीतिमा तेस्रो वरियतामा चित्त बुझाउन विवश एमालेनेतृत्व लामो समयपछि पार्टीको कार्यक्रममा आधापौने लाख मानिसको उपस्थिति पाएर दङ्ग पर्नु अस्वाभाविक पनि होइन । राजनीतिक दलहरूसँग जनता निरास र वितृष्ण बन्न पुगेको परिवेशबीच आफ्ना कार्यकर्तालाई काठमाडौंमा भेला पारेर नै सही, आमजनताको ठूलो पङ्क्ति आफ्नै पक्षमा रहेको दाबी गर्दै एमाले नेताहरूले आत्मसन्तुष्टि लिए । आगामी निर्वाचनमा एमालेले नै सर्वाधिक मत प्राप्त गर्ने उद्घोषसमेत सो मौकामा एमाले नेताहरूले गरे । आफूहरूलाई भेडाको उपाधि दिए पनि विपरीत प्रतिक्रिया नजनाउने कार्यकर्तापङ्क्तिले चाहिँ नेताका दाबी या तिनका बोलीमा कति दम छ भनी चियाउने चेष्टा गरेनन् बरु ताली दिएर भ्रमित नेताहरूकै लहरमा आफूलाई उभ्याउने उपक्रम दर्शाए ।
उदाहरण एमालेको पेस गरिए पनि यतिबेला आफूलाई प्रमुख ठान्ने प्रत्येक राजनीतिक दलहरूको दशा, दिशा र नियति मिल्दोजुल्दो नै छ । अर्थात्, आफूलाई असान्दर्भिक कसैले सोचिरहेका छैनन्, प्रत्येक दलले फगत अर्को बेठीक तर आफू भने सामयिक नै ठानिरहेका छन् । नेपालको राजनीतिमा यो एक क्रूर विडम्बना नै हो ।
शान्ति र संविधान निर्माण प्रक्रिया लक्ष्यविमुख भई स्खलित हुने अवस्थामा छ । तर, एमालेनेतृत्वको कथनअनुसार जनमनमा पहिलो पार्टी नेकपा एमाले शान्ति र संविधानको होइन चुनावको चिन्तन गरिरहेछ । चुनावचिन्तनको मतलब अरू केही नभई सत्तालालसा हो भनेर त न्यून चेतना बोक्ने नागरिकले समेत यतिबेला सोझै अर्थ्याउन सक्छ । एनेकपा माओवादीले दर्शाउँदै आएको सत्ता कब्जा गर्ने नग्न चाहनाको आलोचना र विरोध गर्ने हैसियत यसरी गुमाउन पुगेको छ एमालेनेतृत्वले । मुलुक यसरी अन्योल र अराजकताको भुमरीमा परेको अवस्थामा पनि जिम्मेवार दलीय नेतृत्व भने शासनसत्ताकै सपनामा तैरिरहनु देशप्रति वफादार प्रत्येक नेपालीका निम्ति पीडादायी प्रसङ्ग हो ।
नेपाली समाज यतिबेला रङ्गको प्रयोग गरी उल्लास, उमङ्ग, आपसी मेलमिलाप तथा सद्भाव जताउने पर्व होलीको रङ्गमा रङ्गिएको छ । होली अर्थात् फागु पर्वलाई असत्यमाथि सत्य वा दानवी प्रवृत्तिविरुद्ध देवत्व विजयी बनेको सन्दर्भको सम्झनामा मनाइने पर्वका रूपमा पनि लिइन्छ । तर, सहमति र मेलमिलापको खडेरी परेको, अविश्वासको खाडल गहिरिएको, सत्य र इमान हारेको अनि लोभ र धुर्त्याइँले सिङ्गो मुलुकलाई नै मुठ्ठीमा पारेको अवस्थाको उत्कर्षबाट गुज्रिरहेका छौँ हामी । दलहरू नै जनताका आँखामा दानवतुल्य दर्शिएका परिस्थितिमा मेलमिलाप र विजयको पर्व मनाउनुको तुक के रहन्छ र ?
टुँडिखेलमा कार्यकर्ता भेला गरेर शक्ति प्रदर्शन गर्ने दलका लागि अब यस्तै भीड देशभर ठाउँठाउँमा जुटाउने आत्मविश्वास पक्कै हासिल भएको होला, आफूले चाहेजस्तो भएन कि जनविद्रोहको धम्की दिन ढिलाइ नगर्ने पार्टीका लागि एमालेको शक्ति प्रदर्शन अर्को यस्तै जुलुस आयोजना गरेर जनजीवन ठप्प तुल्याउन उत्प्रेरित गर्ने एक इष्र्यास्पद बहाना बन्न सक्ला, जनताको नाममा यसरी जनतालाई नै पीडा दिन नहिच्किचाउने दलका क्रियाकलापसँग चिढिँदै आफूलाई लोकतन्त्रकै पर्याय ठान्ने अर्को दल यस्तै थप राजनीतिक नाटक मञ्चन गर्न उद्यत् रहला, अनि प्रमुख भनिएका दलका यी हर्कत हेरेपछि यो सबै मधेसलाई छक्याउने चाल हो भन्दै अर्को पक्षले तराईमा वितण्डा सुरु गर्ला उ हाइपोथेटिकलजस्तो लागे पनि यो अनुमान यथार्थबाट टाढा छैन । संविधान निर्माणको काम छोडेर भेलाजुलुसको रमिता रच्ने, जनबोलीको उपेक्षा गर्दै अतिरञ्जनापूर्ण आफ्नै भाषणको रङ्गमा रम्ने दल तथा दलीय नेतृत्वहरू मुलुकले व्यहोर्दै आएका र सम्भावित थप खतराहरूसँग जुझ्न के सक्षम रहलान् ? जनस्तरदेखि उठिरहेका कहालीलाग्ने यस्ता सवालको जवाफ कोसँग खोज्ने ?
प्रतिक्रिया