देशको माया

देशको माया


✍ बलराम उपाध्याय सिलवाल

यो भूत्वकमा अजम्मरी भन्या नाम होला । अरू के छ र ? जन्मने मर्ने उपक्रम चल्दो छ । ब्रम्हाले मनुष्यलाई पनपच्छे गरेकै हुन् । कछुवाको आयु ५०० वर्ष रे । मनुवाको सापटी आयु मुश्किलले १०० वर्ष । कतिपय त ५० वर्ष नपुग्दै मास छर्न जाने । विश्व ब्रह्माण्डमा तहल्का पिट्ने मान्छेको आयु कम भएकै हो । कछुवाको आयु मान्ठालाई, मानवको आयु ठोठरीलाई गर्देको भए के फरक पथ्र्यो र ? मान्छेको आयु त्यति बिघ्न लामु हुँदो हो त जनसंख्या थेग्न सकिन्न भनिन्थ्यो होला, जे होस्, त्यही काइदाले जनसंख्या नियन्त्रण भैहाल्थ्यो नि । कथै हो, पत्याउनुस् नपत्याउनुस् ।

एकपल्ट ब्रम्हाजीले सुनको मनुष्य बनाएर बोलाए रे, ‘बोल् मनुवा बोल् ।’ सुनको मनुष्य नबोलेसि चाँदीको मान्छे बनाएर बोलाएछन्, ‘ए ! मनुवा बोल् ।’ चाँदीको मान्छे नि नबोलेसि फलामको मान्छे बनाएर बोलाए रे, ‘बोल् मनुष्य बोल् ।’ फलामको मान्छे नि नबोलेसि उनी दिक्दार भएछन् । कत्ति नि हरेस नखाएर उनले लास्टाँ सुली र खरानी मुछेर मान्छे बनाई बोलाएछन्, ‘बोल् मनुवा बोल् ।’ यसपल्ट मनुवाले ‘हस्’ भनेछ । विस्मित ब्रम्हाजीको मुखबाट अनायासै फुत्केछ, ‘मरि जा !’ त्यसपछि मनुष्य मर्न थाल्यो । सुन, चाँदी र फलामको मान्छे बोल्द्या भए मनुष्य मर्नु पर्ने थिएन । बिस्टाबाट बनेकोले होला, मयलको लुँडो माड्दा छारो निस्केको ।

भेंडो भेंडोसित भन्या झैं गफाडी गफाडीसित, बाह्रमासे बाह्रमासेसित, जँड्याहा जँड्याहासित, जुवाडे जुवाडेसित, पतिव्रता पतिव्रतासित, भ्रष्ट भ्रष्टसित, अल्पबुद्दिक अल्पबुद्दिकसित, रक्स्याहा रक्स्याहासित, विद्वान विद्वानसित, मुर्ख मुर्खसित, ग्वाँजे ग्वाँजेसित, च्यासु च्यासुसित, तस्कर तस्करसित, घोप्टे घोप्टेसित, ग्वाङ्ग्रो ग्वाङ्ग्रोसित, ताकछोपुवा ताकछोपुवासित हल मिल्दो छ । सत्यतथ्य नबुझि बोल्ने धेरै कुमनुवाहरू । च्यापसलमा रक्स्याहा गफ लडाउँदो, च्यासुहरू मन्त्रमुग्ध श्रोता । आफ्नो विद्या÷ बुद्दि अर्चाप्नु छैन, अर्काको लहैलहैमा कुद्दो छ । १००० दुर्जन भन्दा त १०० सज्जन बेस । दुर्जन गोमन सर्प हो । सज्जन वट वृक्ष हो ।

गफाडीले साथीलाई आफू जस्तो होस् भन्छ । त्यस्तै जँड्याहाले जँड्याहा जस्तो, बाह्रमासेले बाह्रमासे जस्तो, च्यासुले च्यासु जस्तो, ज्यानमाराले ज्यानमारा जस्तो, डुकलन्ठुले डुकलन्ठु जस्तो, पिंगलाले पिंगला जस्तो, बेरोजगारले बेरोजगार जस्तो होस् भन्ठान्छ ।

बेलाइततिर बरालिंदा, पाताल प्रवास, घनघस्याको उकालोले म तानासित चुम्बकिएकै थिञा झन् आँशु छचल्किंदै जान्छले मुहुनी लगाएसि म उहाँलाई भेट्न बानेश्वरको नोबेल एकेडेमी पुगें । उहाँ त्यसबेला त्यस संस्थाको प्राचार्य हुनुहुन्थ्यो । एकाध घण्टा वार्तालाप भो । उहाँले लास्टाँ भन्नुभो, ‘बाबु, मेरा दुई छोराहरू अहिले अम्रिकामा छन् । म नि अम्रिकाको विसकन्सिन विश्वविद्यालयमा भाषा विज्ञान अध्यापन गर्थें, मनग्गे पैसा कमाउँथें । भौतिक सुखको कुरै नगरौं, सम्पूर्ण सुख सुविधा पाएको थिएँ । मलाई अम्रिकामा मर्ने इच्छा रहेन, आफ्नु देश फर्कि आएँ । म यहीं नै मर्न चाहन्छु ।’ सोह्रै आना मुनासिव । परदेशमा मर्नु भन्दा स्वदेशमा मर्नु स्वभाविक र सार्थक हुन्छ । जे होस्, विचार आफ–आफ्नो हो । मनन गर्नुस्, निचोर्नुस् अनि निचोड निकाल्नुस् ।

विश्वले दार्शनिक भनेर पगरी गुथाएको अरस्तुले नि हावादारी कुरा नगरेका होइनन् । उनी मान्छेको ८ गोटा करङ हुन्छ; पुरुषको भन्दा महिलाको दाँत कम हुन्छ; चेतनाको ठाउँ हृदय हो; मुटुको रोग मान्छेलाई मात्र हुन्छ; मुसाले गर्मी याममा पानी पिए मर्छ; हात्तीलाई सर्दी र पेट फुल्ने रोग लाग्छ भनेर दावा गर्थे । तसर्थ कसैले नि आफूलाई सर्वज्ञ हूँ भनेर फुँईं नलगाए हुन्छ । कुराको पोयो बढ्छ, घट्दैन । कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि । बाउसे सकियो । आजलाई मैजारो । अस्तु ।