डडेल्धुरालगायत सुदूरका गाउँ-गाउँ गौरामय

डडेल्धुरालगायत सुदूरका गाउँ-गाउँ गौरामय


  • डम्बर निदाल, डडेल्धुरा

सुदूरपश्चिमको एकताको प्रतीक तथा सांँस्कृतिक एवम् लोकप्रिय चाड गौरापर्वको संस्कृतिलाई जगेर्ना गर्न यतिबेला सुदूरका गाउँ-गाउँमा विविध कार्यक्रमहरू आयोजना गरी मनाउन थालेका छन् ।

पञ्चमी तिथिको दिन बिहानैदेखि घर लिपपोत गरि साँझपख घरमा पञ्च दलहन गेडागुडी अथवा बिरुडा बिधिवत रुपमा भिजाइ गौरा पर्व प्रारम्भ भएको धार्मिक साँस्कृतिक तथा सामाजिक परम्पराको निरन्तरता स्वरुप गौरा पर्वलाई अटुट राख्न र युवा पुस्तामा पुस्तान्तरण गर्न गौराचेत्र खेल तथा डेउडाको आयोजना गरि मनाउन थालिएको हो ।

सुदूरपश्चिमका जनता र विशेषगरी महिलाहरुको जीवन शैलीसँग गांसिएको नारीहरुको महत्वपूर्ण महान् चाड गौरापर्वमा भगवान शिवलाई महेश्वर र शक्तिस्वरुपा जगतजननी माता पार्वतीलाई गौराको रुपमा पूजन गरी भाद्र शुक्ल पंचमीदेखि दुर्वाष्ठमी तथा बिसर्जन नहुँदा सम्म एक हप्ता भव्यताका साथ मनाइन्छ ।

बैदिककालमा हैहयबंशीका शुरबीरहरुको अत्याचारबाट भृगुबंशीका ब्राह्मणीहरुको अस्तित्व सुरक्षा गर्न देवी उमागौरीको आराधनाको प्रभाबले संकट पार गरेको भन्ने जनश्रुति अनुसार यो पर्व महिलाहरुले शुद्धखानपान,चोखो नयाँ लुगा लगाई अत्यन्त भक्तिभावले पंचमीका दिन विधिवत रुपमा प्रसाद राखिएको पांच दलहनको बिरुडा धुने , पांच पवित्र घांसबाट निर्मित गौरामाताको प्रतिकलाई भक्तिभाव र उपवासका साथ नियमित पूजा गरि धुमधामका साथ मनाउछन । पञ्चदलहन गहत मास केराउ कलाउँ र चना मिसाएर तामाको भाँडोमा टिका दुबो लगाई गाउँघरमा सामूहिक रुपमा घरघरमा गौरा माताको प्रसादको रुपमा रहेको बिरुडा राखिन्छ भने भोली पल्ट नजिकको जलाशय पानी पधेँरोमा गएर धाई पखाली घरमा ल्याउने प्रचलन रहेको छ ।

पञ्चघाँस काँसकुश अपामार्ग वल तिल पहेंलो गुबोलाई गौरा माताको प्रतीकको रुपमा भित्र्याउदै गौरा माताको प्रसाद तथा गौरामहेश्वरको पूजाको अक्षताको रुपमा शाश्त्रिय पूजा अनुष्ठान गरि हिन्दु महिलाहरुले भव्य रुपमा मनाउने चलन रहि आएको छ । यस पर्वमा गरिने व्रतबाट सु-स्वास्थ्य एवं सौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने नारीहरुमा अटल विश्वास रहेको पाईन्छ भने गौरा पर्वमा वर्षभरिमा गरिने कार्य व्यस्तताबाट थकाई मार्ने अवसर र आफन्तजनको भेटघाटको पर्वको रुपमा पनि बिशेष गरि मनाइन्छ ।

यस मौलिक पर्वलाई पुर्खाको चिनोको रुपमा लिएर अमरगढी नगरपालिका-५ सेलागाउँमा अवस्थी परिवार समाज, एवं सिर्जनशिल टोल विकास संस्था अमरगढी-५ सेलागाउँ, डडेल्धुराको आयोजनामा हाम्रो संस्कृति, हाम्रो पर्व, मौलिक, साँस्कृतिक धरोहर, पुर्खाको चिनो ‘गौरा’ पर्व भन्ने मूल नाराका साथ लोकपर्व ‘गौरा’ चैतखेल लगाइएको थियो भने संस्कृतिप्रेमीहरुका बिच शुभकामना आदानप्रदान गर्दै फलफूल तथा चियापान गरि भव्य रुपमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

सुदूरपश्चिम लगायत कर्णाली प्रदेशका केहि क्षेत्र र भारतको उत्तराखण्डमा पनि भव्य रुपले मनाइने गौरा पर्व डडेल्धुरा जिल्लाका ग्रामीण र शहर बजारकेन्द्रीत विभिन्न स्थानमा बिबिध साँस्कृतिक कार्यक्रमहरु गरिएका छन् । यस्तै अमरगढी नगरपालिका-८ र ९ का गाउँहरुमा पनि देवी देवताका पौराणिक कथाहरु र वीर पुरुषहरुका गाथामा आधारित चैत खेलिएको छ । आध्यात्मिक र भौतिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिएको सुदूरपश्चिमबासीको सांस्कृतिक सम्पदाको रुपमा रहेको यो चाडमा परम्परा देखि चलीआएका फाग, अठवाली, पुरुषहरुको चैत धुमारी का साथै डेउडा खेलेर धुमधामका साथ मनाइने परम्परा रहि आएको छ । यसैगरी सोमबार अमरगढी नगरपालिका–१ मालममा वसन्तपुर युवा एकता समाजको आयोजनामा पनि बृहत गौरा कार्यक्रम गरिएको थियो ।