सामाजिक सञ्जालमा ‘हेट स्पीच’ : अहिंसात्मक सञ्चार र स्वनियमनको आवश्यकता

सामाजिक सञ्जालमा ‘हेट स्पीच’ : अहिंसात्मक सञ्चार र स्वनियमनको आवश्यकता


ब्यक्तिगत गालीगलौजदेखि कुनै वर्ग, समूदायलाई नै होच्याउने काममा मिडिया र सोसियल मिडियाको प्रयोगले मुलुकमा द्वन्द्व सिर्जना गर्ने सम्भावना बढ्दै गएकाले अहिंसात्मक सञ्चार र स्वनियमनको आवश्यकता देखिएको छ ।
✍ बबिता बस्नेत

हामीकहाँ केही समययता समाजिक सञ्जालमा ‘हेट स्पीच’को ब्यापक प्रयोग भइरहेको छ । कुनैपनि लिङ्ग, धर्म, समूदायलाई भड्काउने, एकार्काको सद्भाव मेट्न खोज्ने अभिब्यक्ति ‘हेट स्पीच’ हो । शब्द बोलेर, लेखेर, दृष्यबाट अरुमा डर-त्रास पैदा हुन्छ, हिंसा महसूस हुन्छ र भड्किन्छ भने त्यसलाई ‘हेट स्पीच’ मान्नुपर्ने हुन्छ । कसैलाई चोट पुऱ्याउने तथा सम्मान र आत्मसम्मानमा आँच पुऱ्याउने अभिब्यक्ति हेट स्पीच हो । हेट स्पीच र आलोचना फरक कुरा हुन् । आलोचनामा सुधारको अपेक्षा हुन्छ, हेट स्पीचमा घृणा फैलाउने उद्देश्य हुन्छ, आलोचना रचनात्मक र तार्किक हुन्छ, हेट स्पीचमा घृणा हुन्छ । आलोचनामा सुधारका लागि सुझाव दिइन्छ, हेट स्पीच ‘हुँदैन’ बाट सुरु भइ अनेक गाली-गलौजपछि ‘हुँदैन’मै टुङ्गिन्छ । किन हुँदैन त ? भन्नेमा चाहिँ तर्क खासै हुँदैन ।

समाजमा हेट स्पीचको प्रयोग हिजो पनि थियो । सुन्नै गाह्रो हुनेगरी मानिसहरूबीच एकर्कामा गालीगलौजहरू हुने गर्थे, तर ती सम्बन्धित ब्यक्ति र समूहमा मात्रै सीमित हुन्थे । अहिलेचाहिँ विगतमा केही ब्यक्ति या समूहमा सीमित हुने गरेका अभिब्यक्तिहरू सामाजिक सञ्जालमार्फत सर्वब्यापी हुने गरेका छन् ।

मानिस भएर जन्मिएपछि हरेक कुरामा प्रतिक्रिया दिनैपर्ने झैँ गरी हामी सामाजिक सञ्जालमा टीका-टिप्पणी गरी रहेका हुन्छौँ । मैले बोलेका, लेखेका कुराले अरुलाई के प्रभाव पाऱ्यो वा असर गऱ्यो होला ? मैले कतिलाई चित्त दुखाएँ या घृणा फैलाइरहेको छु कि ? भन्ने बारेमा हामी खासै सोच्दैनौँ । कसैलाई चोट पुऱ्याउन ढुंगामुढा गरिरहनु पर्दैन, हतियार चलाउनु पर्दैन, बोली र शब्दहरू नै काफी हुन्छन् । अरुलाई दोषी देखाएर आफू नैतिकवान बन्न खोज्नेहरूको सङ्ख्या हामीकहाँ ठुलो छ । कतिपय अवस्थामा विषयकेन्द्रित आलोचना आवश्यक हुन्छ । तर, नकरात्मक भावना र आलोचनात्मक दृष्टिकोण फरक कुरा हुन् । ‘क्रिटिकल’ हुनु र ‘नेगेटिभ’ हुनुबीचको दूरी निकै लामो छ । आफूले बोलेको, लेखेको कुराले के सन्देश दिन्छ ? आफ्ना अभिब्यक्तिप्रति आफै जिम्मेवार हुने अवस्था छ कि छैन ? हाम्रा सोचहरू हाम्रो दिमागमा रहुञ्जेल हाम्रा हुन्, सार्वजनिक गरेपछि तिनले सकरात्मक, नकरात्मक दुवै बाटो तय गर्न सक्छन् । तिनले ब्यक्ति र समाजमा हिंसा फैलाउने काम पनि गर्न सक्छन् । मिडिया या सोसियल मिडिया एउटा माध्यम मात्रै हुन्, सोच र अभिब्यक्ति त हाम्रा हुन् । आफ्ना अभिब्यक्तिको उत्तरदायित्व हामी आफैले लिनुपर्छ । के बोल्ने, के लेख्ने ? हामी स्वतन्त्र छौँ तर स्वतन्त्रतामा उत्तरदायित्व सधैं जोडिएर आउँछ ।

धम्कीको भाषाका लागि हिंसात्मक सञ्चार आवश्यक हुन्छ । रोजेनवर्गका अनुसार हेड लेभल कम्युनिकेशन अर्थात् मुखको भाषाले भावनाको प्रतिनिधित्व गर्दैन । द्वन्द्वको श्रोत नै बोली हो भन्ने कुरा हामीकहाँ पटक-पटक प्रमाणित भएको छ ।

सर्वसाधारणले दिने प्रतिक्रियाले वरिपरिको माहौललाई मात्र प्रभाव या असर गरेपनि सार्वजनिक ब्यक्तित्वका बोलीले ठुलो सङ्ख्यामा मानिसहरू प्रभावित भइरहेका हुन्छन । त्यसैले सार्वजनिक जीवनमा भएकाहरूले अभिब्यक्ति दिँदा थप संवेदनशील हुन आवश्यक हुन्छ । धुलो-धुवाँको कारण वातावरणमा असर परेजस्तै मानिसले बोल्ने या लेख्ने नकरात्मक कुराले मानसपटल प्रदुषित गर्छ भनिन्छ । प्रदुषित मात्र गर्दैन यदि विषय र अवस्था संवेदनशील छ भने हिंसा भड्काउन मद्दत पनि गर्छ । अरुका कुरा सुन्ने भन्दा आफ्ना कुराहरू अरुले सुन्नुपर्छ भन्ने प्रायः हामीलाई लाग्ने गर्छ । अमेरिकी लेखक मार्क ट्वीनले १८औँ शताब्दीको मध्यतिरै भनेका थिए- ‘यदि हामी सुन्न भन्दा बढी बोल्नका लागि हुन्थ्यौँ भने प्रकृतिले हामीलाई दुईवटा मुख र एउटा कान दिएको हुन्थ्यो । अरुको कुरा बढी सुन्न र आफू कम बोल्नकै लागि हामीलाई दुईवटा कान र एउटा मुख दिइएको हो ।’

अहिले सामाजिक सञ्जालमा मानिसले आक्रोश पोख्दा ‘पख तिमीहरूलाई’ भन्ने सन्देश जानेगरी हाउभाउ पनि गरेको देखिन्छ । त्यस्ता हाउभाउ सदृष्य बाहिर ल्याउनका लागि टिकटक र युटुबको प्रयोग भइरहेको छ । अक्षर मात्र नभइ मानिस नै देखिने माध्यममा आउँदा या एकार्कामा भेटेर कुरा गर्दा मुखले मात्र बोले झैँ लागेपनि हाम्रो सम्पूर्ण शरीरले विभिन्न हाउभाउबाट सञ्चार गरिरहेको हुन्छ । हाम्रा बोली, बचन मात्र होइन बडी ल्याङ्ग्वेज र हाउभाउ पनि हिंसात्मक र अहिंसात्मक हुन्छन् । अहिंसात्मक सञ्चारका प्रवद्र्धक मार्सल रोजेनवर्गका अनुसार, ५५ प्रतिशत सञ्चार हाम्रो शारीरिक हाउभाउले गरिरहेको हुन्छ । ३८ प्रतिशत सञ्चार हामीले बोल्ने आवाजले प्रवाह गरिरहेको हुन्छ । ‘उफ्…’ देखि ‘खै…’ हुँदै हामीले निकाल्ने मलिनदेखि कर्कस ध्वनीसम्म यसमा पर्छन् । शब्दहरूको प्रयोग चाहिँ हामीले जम्मा ७ प्रतिशत गर्ने रहेछौँ । मार्सलले ६० को दशकमा द्वन्द्व समाधानका लागि अहिंसात्मक सञ्चारको सिद्धान्त विकास गरेर प्रयोगमा ल्याएका थिए ।

६५ भन्दा बढी मुलुकमा उनले यसलाई द्वन्द्व समाधानको औजारको रूपमा प्रयोग गरे । मार्सल रोजेनवर्ग उत्तर अमेरिकी मनोवैज्ञानिक हुन्, अध्ययनका क्रममा उनले असहमति र झगडाको मुख्य कारण मानिसको बोल्ने र सुन्ने तरिकामा छ भनी पत्ता लगाएका थिए । मानिसले बाल्यकालदेखि नै आफ्ना माग पूरा गर्नका लागि धम्कीको भाषा प्रयोग गर्न सुरु गर्छ । धम्कीको भाषाका लागि हिंसात्मक सञ्चार आवश्यक हुन्छ । रोजेनवर्गका अनुसार हेड लेभल कम्युनिकेशन अर्थात् मुखको भाषाले भावनाको प्रतिनिधित्व गर्दैन । द्वन्द्वको श्रोत नै बोली हो भन्ने कुरा हामीकहाँ पटक-पटक प्रमाणित भएको छ । ‘यसले यसो भन्यो, उसले उसो भन्यो’मै हाम्रो अधिकांश समय बितिरहेको हुन्छ । कसले के गऱ्यो भन्ने कुरा नभएपछि हामी के बोल्योमा अड्किएका छौँ । त्यसो त, हिंसात्मक सञ्चार गर्न सहज भएपनि अहिंसात्मक सञ्चार गर्न त्यति सहज छैन, किनभने अहिंसात्मक बोलीचालीका लागि इमान्दारी आवश्यक हुन्छ । मार्सल भन्छन्, अहिंसात्मक सञ्चार हृदयबाट गरिन्छ । भावना र आवश्यक्ताको मिलनबाट मात्र यो सुरु हुन्छ । अहिंसात्मक सञ्चारले अरुलाई तल पार्ने र मूल्याङ्कन गर्ने काम गर्दैन । आफ्ले ब्यक्त गरेको भावनालाई जिम्मेवारीका साथ हेर्छ । संवाद भन्ने कुरा स्पष्ट र इमान्दारीका साथ गर्नुपर्छ । यो भनेको विषयकेन्द्रित भएर सत्य बोल्नु हो ।

अहिंसात्मक सञ्चारले अरुलाई तल पार्ने र मूल्याङ्कन गर्ने काम गर्दैन । आफ्ले ब्यक्त गरेको भावनालाई जिम्मेवारीका साथ हेर्छ । संवाद भन्ने कुरा स्पष्ट र इमान्दारीका साथ गर्नुपर्छ । यो भनेको विषयकेन्द्रित भएर सत्य बोल्नु हो ।

कुनै बेला थियो मानिसहरू आफ्नो मनमा लागेको कुरा, ब्रम्हले देखेको कुरा बोल्न, अभिब्यक्त गर्न पाउँदैन थिए । राणाकालमा ‘मकैको खेती’ पुस्तक लेखेबापत सुब्बा कृष्णलाल अधिकारी जेल जानुपऱ्यो । राणा शासनप्रतिको आफ्ना असन्तुष्टिलाई साहित्यिक रूपमा उल्लेख गरेको भनी जेल हालिएको थियो । भनिन्छ, जेलमा बस्दा उहाँलाई मकैबाहेक अन्य कुनै पनि खानेकुरा खान दिइएको थिएन । नौ वर्ष कठिन समय बिताएपछि जेलमै उहाँको मृत्यु भएको थियो । अभिब्यक्ति स्वतन्त्रता कुण्ठित भएका बेला बोल्न पाउनु, शासकको आलोचना गर्नु कति ठुलो कुरा थियो भन्ने इतिहासका विभिन्न कालखण्डमा जनतामाथि भएका दमन र हत्या साक्षी छन् । शहीद गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीले राणाहरूको विरोध गरेबापत फाँसी नै चढ्नुपऱ्यो । पञ्चायतकालमा पनि आफ्ना विचार अभिब्यक्त गरेबापत धेरै मानिसहरूले आफ्नो उर्वर समय जेलमा बिताए ।

हरेक नागरिकलाई अभिब्यक्तिको स्वतन्त्रता हुनुपर्छ भन्ने आवाजका लागि हाम्रा अग्रजको कठिन सङ्घर्षको पृष्ठभूमि जोडिएको छ । नेपाली नागरिकले अभिब्यक्तिको स्वतन्त्रता सहजै प्राप्त गरेका होइनन् । तर हेर्दाहेर्दै समयक्रममा यस्ता दिनहरू आए कि अभिब्यक्ति स्वतन्त्रताको नाममा घृणास्पद अभिब्यक्ति अर्थात् ‘हेट स्पीच’ ब्यापक हुन थाल्यो । जसलाई न्युनीकरण गर्नका लागि अभिब्यक्ति स्वतन्त्रताको वकालत गर्नेहरूले नै यसका सीमा या दायराका बारेमा चर्चा गर्नुपर्ने अवस्था आएको छ । ब्यक्तिगत गालीगलौजदेखि कुनै वर्ग, समूदायलाई नै होच्याउने काममा मिडिया र सोसियल मिडियाको प्रयोगले मुलुकमा द्वन्द्व सिर्जना गर्ने सम्भावना बढ्दै गएकाले अहिंसात्मक सञ्चार र स्वनियमनको आवश्यकता देखिएको छ ।