अङ्ग्रेजी नासो गलपासो !

अङ्ग्रेजी नासो गलपासो !


(बक्रोक्ति)
✍ बलराम उपाध्याय सिलवाल

उपनिवेशवादी लर्ड मेकालेले भारतीय उप-महाद्वीपको शिक्षा क्षेत्रमा धावा बोल्यो : अङ्ग्रेजीकरण गऱ्यो । घर परिवारमा बाउलाई ड्याडी, आमालाई ममी, काकालाई अङ्कल, काकीलाई अन्टि र हरिलाई ह्यारिस भन्न थालेसि नेपाली संस्कार थिल्थिलियो । तथाकथित आधुनिक सम्भ्रान्तहरूले आफ्नो दर्सन्तानहरूलाई अङ्ग्रेजी पाठशालाहरूमा भर्ती गरेसि गोराहरूलाई महापुरुष ठान्ने महामारी फैलियो : तदनन्तर बाग्मतीका सर्पहरू सल्बलाए । मुलुकको हित गर्ने हो भने शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । राष्ट्रभाषालाई अनिवार्य र विदेशी भाषालाई ऐच्छिक तुल्याउनु पर्छ । पाठ्यक्रमले नैतिकवान्, कर्मशील, इमान्दार र राष्ट्रभक्त नागरिक उत्पादन गर्नुपर्छ । सैद्धान्तिक भन्दा व्यावहारिक ज्ञानलाई प्रोत्साहित गर्नुपर्छ ।

शिक्षित शिक्षित हो : अशिक्षित अशिक्षित हो । अशिक्षित शिक्षितसित टिक्न सक्दैन । मुलुकको सन्धि/सम्झौता गर्दा अशिक्षित प्रधानमन्त्री प्राविधिक रूपले समकक्षीसित (शिक्षित प्रधानमन्त्री) चुक्छ । चाहे प्रतिनिधिसभा होस् वा राष्ट्रिय सभा, त्यसका सांसदहरू कम्तिमा स्नातकोपाधि हासिल गरेको हुनुपर्छ । सत्य कुरो तितो तैपनि भन्नुपर्ने हुन्छ । व्यक्तिगत स्वार्थ त्यागेर राष्ट्रिय स्वार्थलाई महत्व दिनुपर्छ ।

फाल्तु विषयमा जिन्दगानी नरित्याउने । परनिन्दा नगर्ने, प्रवृत्तिको विरोध गर्ने, आत्मालोचना गर्ने, यथास्थिति त्याग्ने र गतिशील हुने । आफ्नो पोइ/जोइ नराम्रो/नराम्री अर्काको पोइ/जोइ राम्रो/राम्री देख्नुहुन्न । परपुरुष/परस्त्रीसित बिना साक्षी बात मार्नुहुन्न, बात लाग्छ । समयानुकूल यथोचित व्यवहार गर्नुपर्छ । माथिको दबाब रोक्नुपर्छ । कानुनको पालना हुनुपर्छ । संसदीय सुनुवाइ समिति खारेज गर्नुपर्छ । प्रहरी, कर्मचारी, सेना र न्यायाधीशहरू राजनीतिमुक्त हुनुपर्छ ।

मान्छे मूलतः सामाजिक प्राणी हो, राजनीतिक हैन । पूरै जनसंख्याले राजनीति गर्नुपर्छ भन्ने होओइन । राजनीति शास्त्र पठित शिक्षित व्यक्ति राजनीतिज्ञ भए हुन्छ तर ऊ नैतिकवान् र इमान्दार हुनुपर्छ । संघ र पालिका राखे हुन्छ, प्रदेश चाहिन्न । हाम्रो जस्तो गरिब मुलुकमा १०० जना सांसद (राष्ट्रिय सभामा २५ र प्रतिनिधि सभामा ७५) भए वैज्ञानिक ठहर्छ । समानुपातिक प्रतिनिधित्वमा विद्वान/विज्ञलाई चयन गरेमा यथोचित हुन्छ । संसद् भन्या मुलुकको हित गर्ने थलो बन्न सक्नुपर्छ, कार्यकर्ता भर्तीकेन्द्र बन्नु भएन । नाऊँ त किन लिनु परो र ? मरेर गएका नेताहरूले नि स्मरणीय काम (राष्ट्रहित) गरे जस्तो लाग्दैन । लहरो तान्दा पहरो गर्जने ठाउँ । ‘नेपाल इज ब्युटीफुल वीदआउट नेप्लिज’ भन्ने दिन नआओस् ।

पशुपतिनाथ शिवाय के चैँ अस्पश्र्य छ र ? राजनीतिक प्रदूषणले ?! साहित्यदेखि सुस्तासम्म, फिताशाहीदेखि ललिता निवाससम्म । विकृतिको थुप्रो केवल नेपाली हुनुपर्ने हो र ? हामी चैँ गतिलो हुनुहुन्न र ? (प्रारब्धले के पो लेखिदिए नेपालीको ललाटमा ?) । आदर्शले पेट नभरिने भएसि किन वक्रोति चाहियो र ? प्रत्यक्ष बोले/लेखे भैगो नि । गण्डकी झैँ किन नागबेलिनु परो र ? मुलुकको व्यवस्था/अवस्था राम्रो भएको भए बित्थैमा किन परदेसिनु पर्थ्यो र ? केही गरूँ भन्ने मान्छेको गोडा तान्ने गरिन्छ अनि कसरी पो विकास हुन्छ र ? जिम्दारी प्रथा गयो, जिम्दार गयो तर जिम्दारी प्रवृत्ति गएन । धेर विस्तार क्या गरूँ । बाउसे सकियो । आजलाई मैजारो । अस्तु ।