कफी पनि ‘भेज’ र ‘ननभेज’… !

कफी पनि ‘भेज’ र ‘ननभेज’… !


✍ रसना ढकाल

कार्यस्थलबाट बाहिरिँदै गर्दा हरेक दिन एक व्यक्तिले कफी पिउन आग्रह गर्छन् । ‘हेलो साथी.. जहिले नि काम सकिनेवित्तिकै तपाईं निस्किहाल्नुहुन्छ, आउनुस् जाउँ कफी पिउन !’ उसको आग्रहलाई स्वीकार गरुँ कि नगरुँ… बडो दोधारिँदै ‘हस’ भन्छिन् उनी । तर आग्रह गरिएको व्यक्तिको मोटरसाइकल चढ्नेवित्तिकै उनको मन चिसो हुन्छ, अर्कै बाटो लागेको छ त ! भन्छिन्- ‘कता जाने हो र ?’ आग्रहकर्ता ‘यतै हो’ भन्ने छोटो जवाफ दिन्छन् । तब महिलाले ‘नाइ.. म त घर जान्छु’ भन्छिन् । यति भन्दाभन्दै आग्रहकर्ताले कलङ्की कटाइसक्छन् । …

पत्रकार महिलाहरूको सहभागिता रहेको कार्यक्रममा एक सहभागी मित्रको यो भोगाइको सन्दर्भ कार्यक्रम-सहजकर्तालगायत सबैले रोचक मानेर सुन्छन् र, त्यसपछि यस्तै प्रकारको घटनाउपर सबैले पालैपालो आ-आफ्नो अनुभव सुनाउँछन् ।

फेसबुकमार्फत जोडिएका दुई साथीबीच पनि यस्तै भयो । च्याटिङमा जहिले पनि ‘तपाईंसँग कफी पिउन मन छ’ भन्ने एक व्यक्तिले उनलाई नजिकको कफी सपमा लैजान्छन् । दुवैले कफी पिउँछन् । कफी खाइसकेपछि फर्कने क्रममा ‘किन सार्वजनिक यातायातमा जानुहुन्छ ? म तपाईंलाई घर छोडिदिन्छु !’ भन्नेर उनले भन्छन् र ती महिला उनको मोटरसाइकलमा सवार हुन्छिन् । मोटरसाइकल चालकले खुल्ला बाटोमा पनि अस्वाभाविक तवरले मोटरसाइकलको बे्रेक दबाइरहन्छ । पछिल्तिर बस्नेको मनमा चिसो पस्छ । अनि भन्छिन्- ‘तपाईंलाई बाइक चलाउन आउँदैन हो ? कति ब्रेक मारिरहेको ?’ अनि बाइकबाट उत्रन्छिन् र- ‘हेलो मिस्टर.. गाडीमा ब्रेक चाहिने बेलामा लगाउने हो, आफ्नो स्वभावमा ब्रेक लगाउ, यसले जीवन बनाइदिन्छ’ भन्दै त्यँहाबाट हिँड्छिन् ।

एक दिनको कुरा हो, राष्ट्रसेवक प्रहरी कर्मचारीहरूसँग कार्यक्षेत्रमा आइपर्ने समयसापेक्ष कुरामा छलफल गर्ने अवसर प्राप्त भएको थियो । समाजिक विषयहरूमा नेपाल प्रहरीको विज्ञता धेरै छ, किनकि उनीहरू राष्ट्र र समाजको लागि २४सै घण्टा खटिने सेवकहरू हुन् । आफ्नो परिचय दिएपछि ‘अब हजुरहरूले फिल्डमा भोगेको विशेष अनुभव सुनौँ न त’ भनेर आग्रह गर्दा बाहिरी अप्ठ्यारोहरूको बारेमा अफ द रेकर्ड भन्दै १ घण्टासम्म छलफल भयो । त्यस छलफलमा राष्ट्रसेवकहरू बाहिरी तत्वहरूबाट कसरी बदनाम हुँदारहेछन् भन्ने कुरा खुलस्त रूपमा सुन्न पाइयो । राष्ट्रसेवकहरूलाई बदनाम गर्न सजिलो छ, किनकि उनीहरूको जागिर यति संवेदनशील हुन्छ कि उनीहरूमाथि कसैले मिथ्या आरोप लगाएको छ भने पनि त्यो आरोपमा नै परिणत भएर जागिरबाट निलम्बन हुन्छन् । यसतर्फ पनि नेपाली समाजले बहस गर्नुपर्छ ।

प्रहरीलाई आरोप लगाउन सजिलो किन र, उसलाई हो-होइन भनेर बोल्न दिने कि नदिने ? यहाँ यस्ता थुप्रै उदाहरण छन् जो मिथ्यामा आरोप खेपिरहेका छन् । एक सिपाही सरुवा भएर जिल्लातिर गए । गएको एक महिनापछि एक घटनाक्रमको बारेमा पत्रकार सम्मेलन गरे । त्यसक्रममा थुप्रै पत्रकारहरूसँग चिनाजान हुने अवसर पाए । कार्यक्रम सकेपछि एक महिलाले कुनै दिन सँगै चिया पिउने आग्रह गरिन् । ती सिपाहीले ‘हवस्, भैहाल्छ’ भने । त्यसपछि ती महिलाले हरेक दिनजसो कुनै न कुनै बाहनामा फोन गर्न थालिन् । अति नै भएपछि कार्यालयमा चिया खान बोलाए । त्यसक्रममा ‘घरमा को-को हुनुन्छ ? तपाईंलाई के कुरा मनपर्छ ?’ जस्ता प्रश्न सोधिन् । यस्तै-यस्तैमा महिला फेसबुकमा जोडिइन् र, जतिबेला पनि कुरा गर्न थालिन् । उनको यसप्रकारको कृयाकलापको सिपाहीको मनमा चिसो पस्यो । विभिन्न बहाना बनाएर पन्छिन खोज्दा पनि ती महिलाले पिछा छोडिरहेकी थिइनन् । यतिसम्म भयो कि ती सिपाहीलाई एकोहोरो मनपराएर उनको वैवाहिक जीवनमा समेत प्रवेश गरी सुन्दर परिवारलाई छिन्नभिन्न नै पारिदिइन् । पत्नीसँग डिभोर्स भयो । तेस्रो व्यक्तिको घरमा प्रवेश हुँदा एउटा सुन्दर घर कसरी छिन्नभिन्न हुन्छ भन्ने उदाहरण थियो यो ।

सिपाहीमाथि भएको घटनाको काहानी एक फिल्म जस्तो लाग्थ्यो, तर वास्तविक थियो । ती महिलासँग मन नभइ-नभइ पनि जीवन बिताउनुपर्ने अवस्थाले हरेक दिन घुटनको साथ बित्ने गरेको उनले बताए । उनको कहानी स्वयम् उनका साथीहरूलाई पनि जानकारी रहेनछ । सबैले यति ठूलो पीडा बोकेर तिमी बाँचिरहेका छौ र पनि हामीसँग शेयर नगरेको भन्दा उनी भन्छन्- ‘यहाँ लोग्नेमान्छेलाई बोल्ने ठाउँ छैन, लोग्नेमान्छे बेकसुर भएपनि कसुर सावित गरिदिन्छन्, अनि कहाँ गएर भन्नु आफ्नो समस्या ?!’ ती सिपाहीले आफूमाथिको व्यथाकथा सुनाएपछि हल्का भएको महसूस गरे । वास्तवमा ती सिपाहीको सुन्दर परिवार छिन्नभिन्न हुनुमा एक कप कफीको आग्रहले काम गरेको थियो । यस्तै घटना अर्का सिपाहीले पनि सुनाए । जागिर संवेदनशील, बोल्न पनि डराउनुपर्ने ! यस्तो अवस्थाबाट सिपाहीले आफूलाई जोगाउनुपर्ने परवेश छ ।

साधारणतया कोही व्यक्तिसँग सम्बोधनपछि केही खाउँ न त भन्दा प्रायः चिया वा कफी नै भनिन्छ । यो आग्रहको पहिलो स्टेप हुन्छ । अर्कातिर पेय पदार्थमा भेज या ननभेज भन्ने हुँदैन । हामीले माछामासु खानेलाई ‘ननभेज’ र नखानेलाई ‘भेज’ भन्छौँ, तर समयको अन्तरालसँगै चिया-कफी पिउन गरेको आग्रह पनि ‘भेज’ र ‘ननभेज’ हुने गरेको छ । यस प्रकारको आग्रहले व्यक्तिको मनसाय कस्तो थियो भन्ने कुराको सङ्केत मिल्दछ ।

समाजमा विभिन्न सोच-विचारका व्यक्ति हुन्छन्, तीमध्ये ‘चिया-कफी पिऔँ न’ भन्नेहरू खराब र त्यस्तो प्रस्ताव नगर्नेचाहिँ सही भन्ने कदापि हुँदैन । काम गर्ने सिलसिलामा सबै मिलेर गर्नुपर्ने हुन्छ र, मिलेर कहीँ जानु पनि पर्ने हुन्छ । केटा र केटी सँगै हिँड्दैमा साथी भन्ने नि हुँदैन र पति-पत्नी भन्ने त झन् परको कुरा हो । मान्छेको सम्बन्ध यति सस्तो छैन कि कोहीसँग व्यक्ति बोल्दैमा या सँगै हिँड्दैमा गलत धारणा बनाइ हाल्ने ! समाज दिन-प्रतिदिन परिवर्तनको संघारमा छ । यहाँ बोल्दै-हाँस्दैमा र सँगै हिँड्दैमा केही बिग्रने पनि होइन । बस्..! एकअर्काप्रतिको सोच कस्तो हो भन्ने कुराले असर राख्छ ।

चिया-कफी खाने आग्रह नराम्रो होइन, र सबै चिया-कफी दुषित पनि हुँदैन । तर कफी/चिया खाएकै आधारमा कसैमाथि पारिवारिक हमला गर्नु मनासिव होइन । घटनाक्रम खोज्दै जाँदा चिया/कफी खाएकै भरमा घरबार बिग्रेका पनि उदाहरणहरू छन् । सामान्यतया बोलचाल सुरु गर्दा ‘के छ.. कसो छ ? सन्चै ?’ बाट सुरु हुन्छ । यसरी सामान्य रूपमा चिनाजानीको सुरुवात भएपनि सोचमा बिकार भएमा चिनाजानीको परिणतिचाहिँ खतर्नाक पनि हुन सक्छ । सचेतनापूर्वक व्यवहार गरौँ ।