‘संसारमै गरिवको छैन राज्य भन्छ, तर पनि यो देशमा ल्याउन हामीलाई मन छ..’

‘संसारमै गरिवको छैन राज्य भन्छ, तर पनि यो देशमा ल्याउन हामीलाई मन छ..’


✍ श्यामकृष्ण लम्साल

यो दुनियामा विभिन्न वादहरू प्रतिपादन भएका छन् । हाम्रै सुलुकमा पनि प्रमुख ‘वाद’मध्ये जननायक बीपीले प्रतिपादन गर्नुभएको प्रजातान्त्रिक समाजवाद, जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलिय जनवाद, साहित्यकार राजेश्वर देवकोटाले प्रतिपादन गर्नुभएको उदारवाद, दार्शनिक मोहन चापागाईंले प्रतिपादन गर्नुभएको नेपालवाद जस्ता वादहरूलाई आफ्नो सिद्धान्त र मार्गदर्शक नीति बनाउँदै आफूहरूले काम गर्दै आइरहेको बताउँछन् नेपाली काङ्ग्रेस, एमाले, राप्रपालगायतका दलहरू । यिनीहरूले सिद्धान्तलाई एकतिर थन्क्याएर आफ्ना वैचारिक नेतालाई खोपीका देउता बनाएकै कारण, नेपाली राजनीतिले बाटो बिराएको हुनाले ‘मुथु’वाद र तीन ‘र’ हावी भयो नेपाली राजनीतिमा भन्ने मत/अभिमत गुन्जिरहेको सन्दर्भमा सोधौँ-सोधौँ लागेको छ- के तीन ‘र’ र मुथुवाद चाहिँ प्रशासन संयन्त्रका अगुवाहरूको मात्रै नभइ विश्व राजनीतिक रंगमञ्चका ठूलावडा एवं नागरिक समाजका अगुवाहरूको पनि साझा एजेण्डा नै हो त ? यदि यसो होइन भने रतुवामाई साक्षी राखेर संसार किन यसैमा सति गइरहेको छ त प्रभु ?

गएको साउन ६ र ७ गते सदा वर्षहरूमा झैं विश्वेश्वरप्रसाद कोइराला र पुष्पलाल श्रेष्ठका स्मृति दिवस नेपाली कांग्रेस र नेकपा नाम गरेका दल र तीनका भातृसंस्था एवं शुभेच्छुक संस्थाहरूले मुलुकभरी नै भब्यताका साथ मनाएका समाचारहरू पढ्न र सुन्न पाउदा हर्ष लागेको छ । नेपाली जनताको भाग्य र भविष्य निर्माणका लागी यी दुई महामानवहरूले बनाएको भऱ्याङ भत्काएर ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिरको’ शैलीमा देश र जनताको होइन, आफ्नो मात्रै या अमुक शक्तिकेन्द्रको भाग्य र भविष्य निर्माणकर्ता महोदयहरूले चढाएको फूल-अविरबाट यी दुई महान् नेता खुशी भए कि रोए होलान् ? जिज्ञासा लागेको छ । यस्तो जिज्ञासा राख्न पाइन्छ कि पाइन्न होला ?

यतिखेर मलाई गायत्रीस्वरूप महाराज बेदव्यास पुरीज्यूको प्रवचनको झल्झली सम्झना आइरहेको छ । उहाँले उद्गार गर्नुभएको वाणी- ‘सुनकै अक्षरले लेखिएको किन नहोस्…, अवकाशपछि कर्मचारीको परिचयपत्र काम लाग्दैन, जतिसुकै महँगा कपडा थुपारे पनि बिरामी पर्दा अस्पतालले दिएको गाउनले तपाईंको लाज छोप्नुपर्छ, जतिसुकै ठूलो धनराशिको मालिक भएपनि तुलसीको मोठमा सुताएपछि त्यो तपाईंको हुने छैन । जतिसुकै ठूलो महल छ भनेर गर्व गर्नुस्, आखिरी पर्दा चाहिने सात फिटको जमिन मात्र हो । जतिसुकै ठूलो तारेहोटलको खाना खानुस्, आखिरी पर्दा आफन्तले खुवाउने तुलसीपानी मात्रै हो ।

तपाईंको मरणमा लाखौँ मलामी गए पनि न तपाईंले देख्नुहुनेछ न त बाँच्नेलाई तिनीहरूले तपाईंको अभाव पूर्ति नै गर्नेछन् । त्यसैले कुनै कालखण्डमा संयोगवश कुनै पदमा पुग्दैमा वा प्रतिष्ठा आर्जन र धन आर्जन गर्दैमा सधैंका लागि होला भन्ने भ्रममा नपरौँ । गायत्रीस्वरूप वेदव्यासजी महाराजको माथि उल्लेखित उपदेश आजको पुस्ताका जल्दाबल्दा हामीहरूलाई ओखती होला कि विष ?

अहिले खासगरी बहुदलिय व्यवस्था आएयता वर्षेनी भ्रष्टाचार बढ्दै गएको जनगुनासो यत्रतत्र सुनिएको छ । झन् लोकतान्त्रिक गणतन्त्र प्रप्तियता त संस्थागत एवं पार्टीगत रूपमै संगठित भ्रष्टाचारको मात्रा बढेको विभिन्न संस्थाहरूका प्रतिवेदनहरूले औंल्याएका छन् रे ! एक त गरिव मुलुक त्यसमा पनि विकास खर्च गर्न नसकेको विडम्बना त अखबारहरूलाई राम्रो मसला नै हुने नै भयो । गरिव तर आफ्नो उन्नतीमा आफूसँग भएको पैसा खर्च गर्न नसक्नु ‘केजातिभन्दा केजातिलाई लाज’ भन्ने उखान चरितार्थ हुने नै भयो । अनि जताजतै कमिसनको चर्चा पनि छ । हुँदा-हुँदा कुनै दिन आफैँले आफुलाई बेचेर पनि कमिसन खान बेर लगाउदैनन् होला नेपालका कर्मचारीहरू भन्ने सुलसुलेको तर्कमा कत्तिको दम होला मेरा अनन्य मित्रहरू ?

गायक जीवन शर्माको ‘संसारमै गरिवको छैन राज्य भन्छ तर पनि यो देशमा ल्याउन हामीलाई मन छ..’ भन्ने गीत सुन्न थालेको वर्षौंवर्ष भयो । यस्तै कुरामा के-के जाति जोडेको सामाजिक न्याय, समानता आदि पढाएको-पढेको पनि धेरै भयो, तर गरिवका दिन कहिले कल्ले ल्याइदिने हो । एउटा गरिवले म मरेँ, ऐया आत्थो गर्दा उल्टै हप्काउने, ब्यथा थपिदिने स्थानीय सरकार जनताले खोजेको हो ? यदि होइन भने यसको ओखती के हुनसक्ला ? भन्ने निम्छरो गरिव रतुवामाईवासी जनतालाई सम्बोधन गर्ने के कार्यक्रम होला नगरसरकारसँग ? कि सिस्नोपानी लगाउन एवं भुत्भुते खन्याउन जान्ने मात्रै हुनुहुन्छ नेतृत्वमा ? सर्वसाधारण जनताको प्रश्न यहाँ राखिदिन मिल्ला कि नमिल्ला नगरप्रमुख नागेश्वरप्रसाद सिंह गन्गाइज्यू !