एनआरएनए विश्व सम्मेलन विशेष : गंगाधरद्वारा महासचिवमा उम्मेदवारी घोषणा

एनआरएनए विश्व सम्मेलन विशेष : गंगाधरद्वारा महासचिवमा उम्मेदवारी घोषणा


  • युरोप प्रतिनिधि

गैरआवासीय नेपाली संघको एघारौँ विश्व सम्मेलन आगामी अक्टोबर १७–२० मा काठमाडौंमा हुने तय गरिएको छ । उक्त सम्मेलनले आगामी दुईवर्षे कार्यकालका लागि संघको नयाँ नेतृत्वको चयन गर्नेछ। यदि आगामी टिमको निर्माण सहमतिका आधारमा हुन सकेन भने चुनावी प्रक्रियाबाट नेतृत्वको चयन गरिने छ, जसको लागि ४ हजार दुई सय जना प्रतिनिधिले मतदानमा भाग लिने छन् ।

विभिन्न एनआरएन अभियन्ताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रममा बेल्जियम बसोबास गर्ने एनआरएनए ग्लोबल सचिव गंगाधर गौतमले पनि महासचिव पदका लागि उम्मेदवारी घोषणाको तयारी गरेका छन् । विगत दुई दशकदेखि बेल्जियमलाई कर्मथलो बनाउँदै आएका बाग्लुङ गल्कोटमा जन्मेका गौतमले आफूलाई महासचिव पदमा उभ्याउने भएका हुन्।

युरोप क्षेत्रमा एनआरएनका प्रतिनिधिहरुको सबैभन्दा बढी संख्या रहेको बताइन्छ । यस क्षेत्रमा गौतम सबैका माझ परिचित र लोकप्रिय मानिन्छन् । नेपाली जनसम्पर्क समिति र एनआरएनएको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका कारण उनको उम्मेदवारीलाई सबैले सहयोग गर्ने अपेक्षासमेत गरिएको छ। उम्मेदवारी घोषणासँगै अहिले गौतम युरोपका विभिन्न देशका एनआरएन प्रतिनिधिसँग भेटघाट र छलफलमा जुटेका छन् । केही दिनपहिले लण्डनमा आयोजित कार्यक्रममा सहभागी भएर उनले आफूलाई भोट माग्न भ्याइसकेका छन् । अहिलेसम्म उनले दावी गरेको पदमा अर कसैले उम्मेदवारी घोषणा गरिसकेको छैन ।

को हुन् गंगाधर ?

बाग्लुङ्ग गल्कोटमा जन्मिएका गंगाधर गौतम गैरआवासीय नेपालीहरुका माझ सुपरिचित नाम हो । उनलाई नजिकबाट चिन्नेहरू मिजासिला र मिडियामैत्री गौतम प्रष्टवक्ता हुनुका साथै सुम्पिएको जिम्मेवारी पूरा गरेरै छाड्ने स्वभावका व्यक्ति हुन् । सपरिवार बेल्जियममा रहँदै आएका उनी विद्यार्थी जीवनदेखि नै राजनीतिक गतिविधिमा सक्रिय भएका थिए । स्कुलेजीवनदेखि नै नेवि संघमार्फत सक्रिय हुन थालेका उनी वि.सं २०५१ मा बाग्लुङको धवलागिरी क्याम्पसमा स्ववियु सभापति निर्वाचित भएर दुई कार्यकालसम्म सभापतिकै रुपमा काम गरे । यही बीचमा २०५३ देखि २०५७ सम्म दुई पटक नेविसंघ बाग्लुङ्ग जिल्ला सभापति निर्वाचित भएर उनले काम गरे । उनी स्ववियु परिषद्को संस्थापक सदस्य पनि हुन् ।

नेपालमा एक दशक चलेको माओवादी विद्रोह र त्यसले सृजना गरेको असहज परिवेशका कारण २०५७ मा उनी बेल्जियम आएर यतै बसोबास गर्न थाले । सामाजिक तथा राजनैतिक गतिविधिकै क्रममा उनीसहितका कांग्रेसजन मिलेर ‘जनसम्पर्क समिति बेल्जियम’को स्थापना गरेका थिए ।

राजनीतिक गतिविधिसँगै सामाजिक गतिविधिलाई पनि निरन्तर अघि बढाउने क्रममा सन् २००६ मा एनआरएनएको स्थापना गर्दै निरन्तर अगाडि बढीरहे । २०१५–१७ कार्यकालको लागि बेल्जियमको अध्यक्ष निर्वाचित भएका गौतमको एनआरएनए बेल्जियमको संरक्षक र सल्लाहकार समेत भएर काम गरिसकेको अनुभव छ । अभियानको निरन्तरतासँगै उनी हाल एनआरएनको बहालवाला केन्द्रीय सचिव हुन् । यसका साथै उनी एनआरएनको विधान समितिको विद्यमान सदस्यसचिव समेत रहेका छन् । यसभन्दा पहिले उनी विधान समितिको सह-संयोजक थिए।

सहमति र एकतालाई सधैं जोड दिने गौतमले पछिल्लो समय एनआरएनमा देखिएको आन्तरिक बेमेलको अवस्थालाई समाधान गर्ने कामको नेतृत्व गर्दै बेल्जियमको एनआरएनलाई एक ढिक्का बनाएर नेपाली डायस्पोरामा एकताको स्पष्ट सन्देश दिन सफल भएका छन् ।

गत दशौँ महाधिवेशनलाई त्रुटीपूर्ण महाधिवेशन भन्दै आएका उनले पहिलो बैठकमा नै एकताको महाधिवेशन हुनुपर्ने प्रस्ताव राखेका थिए । उनैको एकता अभियानलाई सम्बोधन गरेर केही समयअघि एनआरएनए आइसीसीले त्यसलाई कार्यान्वयनमा लैजाने सहमति कायम गरिसकेको छ ।

उनी एनआरएन बेल्जियमको संस्थापक मध्येका एक हुन् । सन् २००६ मा एनआरएन बेल्जियमको उपाध्यक्ष रहेका गौतम २०१५–१७ कार्यकालको लागि त्यहाँको अध्यक्ष निर्वाचित भएका थिए । बेल्जियममा उनी एनआरएनको संरक्षक र सल्लाहकार समेत भएर काम गरेका छन् ।

‘तपाईं नै महासचिवमा किन अनि केका लागि ?’ भन्ने जिज्ञासामा उनले आफ्नो प्रष्ट शैलीमा भने, ‘एनआरएनलाई रुपान्तरण गर्न, यसलाई एक अभियान भनिएको हो, तर संघलाई अभियानबाट माथि उठाउन अर्थात् संस्थागत रुपमा रुपान्तरण गर्न र आन्तरिक जीवनमा लोकतान्त्रिक प्रक्रियाको थालनी गर्न मैले महसचिवको लागि उम्मेदवारी दिने निर्णय गरेको हुँ।’ संस्थाको संचालन र कार्यविधिलाई समेत लोकतान्त्रिक विधि र प्रक्रियाअन्तर्गत संचालन गर्दै रुपान्तरण गर्न आवश्यक देखिएको हुँदा महासचिवमा नै उम्मेद्वारी दिन लागेको गौतमको जिकिर छ।

उनी आफ्ना योजनाहरु पनि अत्यन्त प्रष्ट छन् । उनका अन्य योजनाहरुमा मुख्यतया संघको सदस्यता सदैव खुला गर्नुपर्ने, त्यसमा पनि पंजीकृत सदस्य निस्शुल्क हुनु पर्नेलगायतका एजेण्डा कार्यान्वयन आदि पर्दछन् । गौतमको भनाइ अनुशार,‘अधिवेशन भन्दा ६ महिना पहिले नै मताधिकार हुने गरी सदस्यहरुको टुंगो लगाउनु पर्छ, जसले गर्दा निर्वाचनमुखी सदस्यता अभिवृद्धिलाई रोक्न सकिन्छ, एनआरएनको सदस्यता सधैं खुला रहनुपर्छ, तर ६ महिना पहिलेसम्म सदस्य बनेकालाई मात्र आसन्न अधिवेशनमा मताधिकार दिनुपर्छ ।’

‘विधानको कार्यान्वयन पक्ष फितलो भएकोले दृढतापूर्वक विधानको कार्यान्वयन गर्ने वातावरण बनाउनुपर्ने, एनसीसीहरुलाई केन्द्रको हस्तक्षेप नभइ स्वायत्त छाड्नुपर्ने, आइसीसीको मेरुदण्ड मान्ने एनसीसीलाई आइसीसीले निरन्तर सहयोग गर्नुपर्नेलगायतका संस्थागत जिम्मेवारीको सन्दर्भमा महासचिवको हात नै बढी हुने हुनाले यिनै काम गर्न आफ्नो उमेद्वारी आवश्यक रहेको’ गौतमको तर्क छ। यसबाहेक एनआरएनले निरन्तर रुपमा उठाउँदै आएको ‘एकपटकको नेपाली सधैंको नेपाली’ भन्ने राजनीतिक मुद्दालाई हल गर्ने प्रयास लाग्ने उनको भनाइ छ।