काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहको हरकतलाई लिएर मुलुकमा चिन्ता थपिएको छ । उनको उत्ताउलो, उरण्ठेउलो र अपरिपक्व अभिव्यक्ति र ब्यवहारले कतिबेला कस्तो दुर्घटना निम्त्याउने हो भन्ने आशङ्का बढाएको हो । गत वर्ष बालेन्द्रले अदालतको आदेश नमान्ने घोषणा गरे, न्यायालयमा उपस्थितिको लागि पत्राचार गर्दा समेत उनले चुनौती दिए ! त्यसपछि सरकारले आफ्नो माग पूरा नगरिदिएको भन्दै उनले सिंहदरबारभित्रको फोहोर नउठाउने घोषणा गरे, सरकार आफैले फोहोर उठाउन थालेपछि मात्र महानगर सिंहदरबारमा फोहोर उठाउन छिरेको थियो । गत शनिबार (भदौ १६ गते) आफ्नी श्रीमती चढेको गाडी प्रहरीको चेकिङमा परेको रिसमा बालेन्द्रले सिंहदरबार जलाइदिने सार्वजनिक घोषणा गरे । त्यसअघि बालेन्द्रले ग्रेटर नेपालको नक्सा आफ्नो कार्यालयमा राखेर संवैधानिक चुनौती दिएका थिए ।
मुलुकको परराष्ट्र मामिला सम्बन्धमा सम्पूर्ण अधिकार केन्द्रमा निहित रहेको छ, स्थानीय तहले परराष्ट्र मामिलामा कुनै धारणा बनाउने, नीति निर्णय तर्जुमा गर्ने या प्रतिक्रिया जनाउने अधिकार र हैसियत राख्दैन । तर भारतले आफ्नो संसद् भवनभित्र राखेको एउटा सांस्कृतिक नक्सालाई लिएर बालेन्द्रले प्रतिक्रिया जनाउँदै आफ्नो कार्यालयमा ग्रेटर नेपालको नक्सा राखेका छन् । सस्तो लोकप्रियताका निम्ति जेसुकै गर्ने प्रवृत्तिले मुलुकमा अराजकताको स्थिति बनिरहेको छ । भारतको सांस्कृतिक नक्सामा कसरी लुम्बिनी प¥यो भन्ने विषयमा स्पष्ट गर्ने या प्रतिक्रिया जनाउने या आवश्यक कारवाही प्रक्रिया अघि बढाउने भन्ने विषयमा निर्णय लिने परराष्ट्र मन्त्रालयले हो । तर बालेन्द्रले नेपालकै नियम कानून उल्लङ्घन गर्दा पनि सरकारले मौनता कायम गरेको छ ।
भदौ १६ को घटनाबारे प्राप्त जानकारीअनुसार बालेन्द्रकी पत्नीले मेडिसिटी अस्पतालमा जुम्ल्याहा छोरीहरूको जन्म दिएकी थिइन् । दुईमध्ये एकलाई बचाउन नसकेपनि अर्की नानीको आइसीयुमा राखेर उपचार हुँदै थियो । र, बालेन्द्रकी पत्नी सरकारी नम्बर भएको गाडीमा मेडिसिटीबाट घर फर्कंदै थिइन् । कोटेश्वरको मूल सडकमा प्रहरीको चेकिङ चल्दैथियो । सरकारी गाडी बिदाको दिन चलाउन पास लिनुपर्ने अनिवार्यता छ, त्यसैले प्रहरीले चालकसँग उक्त गाडीको पास भए-नभएको जिज्ञासा राखे, चालकले पास घरमै छुटेको बताउँदै यो गाडी महानगरको भएकोले छोडिदिन आग्रह गरे । केहीबेरको सम्वादपछि आइन्दा पास लिएर हिँड्न सुझाव दिँदै प्रहरीले गाडीलाई जान अनुमति दियो ।
यो शनिबार राति ८.४७ बजेको घटना थियो, केहीबेरपछि बालेन्द्रले काठमाडौंका सिडियोलाई फोन गरेर चेकजाँच गर्ने प्रहरीलाई निलम्बन गर्न माग गरे । कारण बुझेपछि सिडियोले ‘बिदाको दिन सरकारी गाडी प्रयोग गर्न त पास लिनैपर्छ नि हजूर, किन निलम्बन गर्नु’ भन्दै संयमित हुन आग्रह गरे । जवाफमा बालेन्द्रले ‘ए.. मैले एउटा सहसचिवबाट पास लिएर गाडी चढ्नुपर्ने !’ भन्दै फोन राखिदिए । त्यसपछि बालेन्द्रले उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई फोन गरि पास खोजेर आफ्नो गाडी रोक्ने प्रहरीलाई निलम्बन गरिदिन आग्रह गरे । श्रेष्ठले हाँस्दै ‘ड्युटी पूरा गर्ने प्रहरीलाई पुरस्कृत नगरेर कारवाही गर्न त भएन नि मेयर साहेब’ भन्दै कुरालाई अन्य विषयतर्फ मोडिदिए । बालेन्द्रले अलिक असन्तुष्ट भएर फोन राखेका थिए । त्यसको एकछिनपछि नै उनले आफ्नो फेसबूक वालमा सिंहदरबार जलाइदिने धम्कीसहितको एउटा स्ट्याटस हालिदिए ।
आइतबार गृहका उच्चाधिकारीसहितको एक बैठकमा मेयरको अभिव्यक्तिलाई लिएर छलफल भएको थियो । तत्काल एक विज्ञप्ति जारी गर्ने निर्णय गर्दै थप कारबाही बारे विचार विमर्श गर्ने निधो भएको थियो । तर आइतबार नै बालेन्द्रले स्ट्याटस हटाइदिएपछि स्थिति नचर्काउने सोच सरकारले बनाएको छ । होइन भने बालेन्द्रलाई साइबर लगायतका केही मुद्दा लगाइने सम्भावना प्रबल थियो । यसरी एउटा अपरिपक्व अल्लारेलाई महत्वपूर्ण जिम्मेवारी मिल्दा धान्न नसक्ने रहेछन् भन्ने सन्देश यस घटनाले दिएको छ ।
प्रतिक्रिया