कुटनीतिक ढङ्गले समस्या निराकणको प्रयास नगरी काइते कुरा गरेर तत्कालका लागि उम्कने स्वभावका निम्ति सर्वपरिचित पात्र प्रचण्डले ‘नक्सा प्रकरण’मा मुलुकको कार्यकारी प्रमुखको हैसियतले दर्शाउनुपर्ने साहस देखाउलान् भन्ने अपेक्षा गरिएको छैन । प्रधानमन्त्रीले लावालस्करका साथ गर्न लागेको अमेरिकादेखि चीनसम्मको यात्रा ढुकुटीको धनमा धावा बोल्नुमात्र हो, यो भ्रमण हर कोणबाट निरर्थक तथा उपलब्धिविहीन हुने निश्चितप्रायः छ ।
नेपालको उत्तर-छिमेकी चीनद्वारा हालै सार्वजनिक गरिएको आफ्नो मानक-नक्सा (स्ट्याण्डर्ड म्याप)मा नेपालको ‘चुच्चे नक्सा’लाई उपेक्षा गरेको/गायब तुल्याइएको प्रसङ्ग यतिबेला चासो र चर्चामा छ । कालापानी, लिपुलेक, लिम्पियाधुराका क्षेत्रसमेत समेटेर केपी शर्मा ओली नेतृत्वको सरकारले जारी गरेको र, प्रतिनिधिसभाले समेत संविधान नै संशोधन गरी २०७७ जेठ ३१ गते सर्वसम्मतिबाट अनुमोदन गरेको सो चुच्चे नक्साप्रति अनभिज्ञता दर्शाउँदै चीनले नक्सा जारी गरेपछि नेपाल सरकारले त्यसको उचित प्रतिवाद गर्न नसकेको सन्दर्भ असन्तुष्टिको विषय बन्न पुगेको छ । परराष्ट्र मन्त्रालयले ‘नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ’ भन्ने भाषा प्रयोग गर्दै अत्यन्त फितलो र काइते ढङ्गबाट प्रतिक्रिया जनाइ झारा टार्ने प्रयत्न गरेको छ । चुच्चे नक्साको खोजी भन्दा पनि चीन बिच्कन्छ कि भन्ने भावबाट त्रसित हुँदै सो विज्ञप्ति जारी गरिएको स्वतः बुझिन्छ ।
स्वभाविक थियो कि दक्षिण-छिमेकी भारतले ‘चुच्चे नक्सा’ स्वीकार गर्दैन, गरिरहेको छैन, उल्टै आफ्नो ‘सांस्कृतिक नक्सा’को वहानामा महत्वपूर्ण केही नेपाली भू-भागसमेत समेटेर ‘अखण्ड भारत’को नक्सा उसले आफ्नो संसद् भवनको भित्तामै टाँगिदिएको छ । नेपालको मानचित्रमा चुच्चो जोडिएको भू-खण्ड आफ्नै भनी स्थापित तुल्याउने बाध्यतालाई भारतले अहम् प्रतिष्ठाको विषय बनाएको छ । प्रकारान्तरले नेपाल र भारतबीचको यो एक ‘महायुद्ध’ हो र, यस युद्धको अन्त्य यस्तै होला भनी अनुमानसम्म कतैबाट गर्न सकिएको छैन ।
यस परिवेशमा जब चीनले समेत आफ्नो मानक नक्साको माध्यमबाट नेपालको उत्तर-पश्चिम कोणको ‘चुच्चो’ गायब पारिदियो, यसले बेग्लै तरङ्ग पैदा गर्नु अस्वाभाविक छैन । भारतलाई हरदम कर्के दृष्टिले हेर्ने/शत्रुवत व्यवहार गर्ने तर चीनचाहिँ नेपालको सदाको मित्र हो भनी एकोहोरो तर्क गर्ने वाम-पृष्ठभूमि बोकेका व्यक्तिहरू समेत यतिबेला चिनिया रवैयाको आलोचना गर्न बाध्य देखिँदैछन् । अब चीनलाई ‘निःस्वार्थ मित्र’ ठान्ने कि भारतलाई झैँ ‘आफ्नै मात्र स्वार्थ हेर्ने’ देशको रूपमा चित्रित गर्ने ? चीनको अन्धसमर्थन गरिआएकाहरूको अघिल्तिर प्रश्न खडा भएको छ ।
तर, को भारतविरोधि र को चीनको समर्थक भन्ने बखेडाबाजीमा अल्झिने विषय र बेला यो होइन । भारतको ‘अखण्ड भारत’रूपी सांस्कृतिक नक्सा र चीनद्वारा जारी ‘मानक नक्सा’को अभीष्ट एउटै हो- ‘मानचित्रीय आक्रामकता’को माध्यमबाट वर्चश्व बढाउनु, शक्ति प्रदर्शन गर्नु ! संसारका जुनसुकै मुलुकले आफ्नो अस्तित्वलाई अहम् ठान्नु स्वभाविक हुन्छ । शक्ति हुनेले भ्याएसम्म आफ्नो छत्रछाया फैलाउन खोज्छ, साना/कमजोर मुलुकलाई आफ्नो दबाब/प्रभाव र निगाहमा निर्भर तुल्याउने प्रयत्न शक्तिराष्ट्रले गरि नै रहन्छ । अझ भन्नैपर्दा हरेक देशको राज्यधर्म नै हो यो । यस कोणबाट भन्नुपर्दा नेपालका छिमेकी देशद्वय भारत र चीनले जे गरिरहेका छन्, राज्यधर्म नै निर्वाह गरिरहेका छन् । तर, कुनै मुलुकले आफ्नो राज्यधर्म निर्वाह गर्दा अर्कोलाई धक्का पुग्छ, अर्को अन्यायमा पर्छ या थिचोमिचोमा पिसिन्छ भने त्यसविरुद्ध न्यायोचित आवाज उठ्नुपर्छ, उठाउने सामर्थ्य राख्नैपर्छ । बलमा कमजोर हुँदैमा बुद्धि-विवेकमा बिर्को लाग्नैपर्छ भन्ने छैन । तर, नेपालका राज्यसञ्चालकहरूमा बुद्धि-विवेकको भीषण खडेरी परेको प्रतीत हुँदैछ । ‘जनता नै शक्तिको स्रोत’ भनी बारम्बार कुर्लनेहरू देशको अस्तित्वसँग जोडिएको यस्तो संवेदनशील मामलामा जनताको साथ पाएर पनि बोल्न हिच्किचाइरहेका छन् । देशको शान, मान, स्वाभिमान भन्दा सत्तामा आफ्नो पकडलाई नै महत्वपूर्ण ठान्ने शासकीय चरित्र फेरि पनि उजागर भएको छ, र यसले आम नेपालीजनको नूर गिराएको अनुभूति हुँदैछ ।
जे होस्, नेपाललाई माया दर्शाउने नाममा भारतलाई चिढ्याएर अघि बढ्ने पक्षमा चीन नरहेको नक्सा प्रकरणले स्पष्ट पारेको छ । स्पष्ट भएको अर्को पाटो यो पनि हो कि पछिल्लो चुच्चे नक्साबारे आधिकारिक तवरले चीनलगायत विश्व-समुदायलाई सन्देश दिने अपरिहार्य कर्तव्य पनि नेपालले निर्वाह गरेको रहेनछ । अन्यथा, आफूलाई जानकारी नै नभएको स्वाङ पारेर नेपालको नक्साको ‘चुच्चो’ बुच्याउने धृष्टता चीनले सायद गर्दैनथ्यो !
यसरी नक्सा-बखेडा चलेकै बेला प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण तय भएको छ । उसैपनि भ्रमणको स्पष्ट एजेण्डा नभएकोमा आलोचना भइरहेको परिस्थितिबीच चुच्चे नक्साको मामला चिनिया शासकसमक्ष उठाउनुपर्ने दबाब प्रचण्डमाथि पैदा भएको छ । तर, कुटनीतिक ढङ्गले समस्या निराकणको प्रयास नगरी काइते कुरा गरेर तत्कालका लागि उम्कने स्वभावका निम्ति सर्वपरिचित पात्र प्रचण्डले यस मामलामा मुलुकको कार्यकारी प्रमुखको हैसियतले दर्शाउनुपर्ने साहस देखाउलान् भन्ने अपेक्षा गरिएको छैन । प्रधानमन्त्रीले लावालस्करका साथ गर्न लागेको अमेरिकादेखि चीनसम्मको यात्रा ढुकुटीको धनमा धावा बोल्नुमात्र हो, यो भ्रमण हर कोणबाट निरर्थक तथा उपलब्धिविहीन हुने निश्चितप्रायः छ ।
प्रतिक्रिया