हिन्दुको सद्भाव र उदारतामा विधर्मीको रजाइँ !

हिन्दुको सद्भाव र उदारतामा विधर्मीको रजाइँ !


बौद्ध अभियन्ताहरूको ध्यान इसाइकरण रोकेर आफ्नो अस्तित्व जोगाउनेतर्फ भन्दा हिन्दुलाई गाली गर्नमै सीमित देखिनु दुर्भाग्यपूर्ण छ । दशैँ जनजातिको पर्व होइन भनेर अभियान चलाउने बौद्ध वा जनजातिहरू क्रिसमस जनजातिको पर्व होइन भन्न सक्दैन, भन्दैनन् । यो ख्याल राख्नुपर्ने विषय हो ।
✍ प्रभात अधिकारी

हिजोआज नेपाल र भारतमा शृङ्खलाबद्ध रूपमा केही ‘बौद्ध अभियन्ता’ भनिनेहरूले हिन्दु तीर्थस्थललाई बौद्धको भनी दाबी गरेको भिडियो तथा समाचारहरू सामाजिक संजालमा देख्न पाइन्छ । हालै नेपालमा पनि एक हुल ‘पहिचानवादी अभियन्ता’ तथा ‘बौद्ध’ भनिनेहरू पशुपतिनाथमै गएको भिडियोदृश्य पनि देखियो । ती अभियन्ताहरू हाम्रा मठ-मन्दिरमा जान्छन् र, हिन्दु देवीदेवताका मुर्तिलाई बौद्धमुर्ति भनेर दाबी गरिरहेका हुन्छन् । अथवा केही बुद्धको मुर्तिहरू देखाएर सिङ्गो मन्दिर वा तीर्थस्थललाई नै ‘बौद्धक्षेत्र थियो, हिन्दूहरूले अतिक्रमण गरे’ सम्म भनेको देखेका छौँ । यस्ता क्रियाकलापहरू नेपालमा नयाँ भए पनि भारतमा भने धेरै पहिलेदेखि नै हुँदै आएको थियो । विशेषगरी आफूलाई अम्बेडकरवादी वा थेरावादी बौद्ध भन्नेहरू यस्ता क्रियाकलापमा सक्रिय रहेका देखिन्छन् । इसाइ मतको पृष्ठभूमि भएको, हिन्दुप्रति अत्यन्त असहिष्णु विचार राख्दै आएका, पहिचानका पक्षधर भनिनेहरू यस्ता क्रियाकलापको अगुवाइ गरिरहेछन् । यिनीहरूमध्ये अधिकांश पहिचानको पक्षधर वा बौद्ध आवरण भएपनि इसाइमतको सेवा गर्ने मिसनरीहरू नै हुन् भन्दा अन्यथा ठहरिँदैन ।

यस्ता गतिविधि भारतमा भीमराव अम्बेडकरले बौद्ध मत अँगालेपछि उनका समर्थकहरूद्वारा शुरुवात भएको हो । यसको बिरुवा अम्बेडकर स्वयमले नै रोपेका हुन् । अम्बेडकर जसले सन् १९५६ अक्टोबर १४ मा आफूसहित झन्डै ५ लाख दलितलाई एकसाथ थेरावादी बौद्ध मत अँगालेका थिए । उनले बौद्धमत अँगाल्दा २२ बुँदामा हिन्दु धर्मविरुद्ध सपथ खाए, खुवाए । यसरी बौद्ध मत अगालेका अम्बेडकरवादीहरू आफूले आफूलाई हिन्दुविरोधि र ब्राम्हण-क्षत्रीविरोधि भएको ठान्दछन् । वास्तवमा यिनीहरू नाममात्रका बौद्ध, कामले चाहिँ हिन्दुविरुद्ध आततायी हर्कत गर्ने झुण्डहरू हुन् । यिनीहरूले बुद्धको शान्तिकोमार्गकै भद्दा मजाक उडाइरहेका छन् । भारतमा यो स्थिति भयावह छ, हातहतियारसहित हरेक दिन हिन्दु समुदाय र मठ-मन्दिरविरुद्ध अराजक गतिविधि गर्नु यिनीहरूको दिनचर्या जस्तै भइरहेको छ । पछिल्लो समय इसाइ मिसनरी संस्थाको साथ सहयोग पाएसँगै यिनीहरू आर्थिक, भौतिक सबै पक्षमा सम्पन्न बन्दै झन् अराजक र हिंस्रक हुँदै आएका छन् । प्रशिद्ध लेखक तथा अनुसन्धानकर्ता राजिव मल्होत्राले आफ्नो पुस्तक ‘ब्रेकिङ इण्डिया’मा भारत विभाजनको प्रमुख कारकतत्वको रूपमा अम्बेडकर बौद्ध हुन सक्ने कुरा उल्लेख गरेका छन् ।

अम्बेडकरवादी बौद्धहरू हिन्दुविरुद्ध एकताबद्ध हुनको लागि इसाइ र मुस्लिमसँग समेत हात फैलाउन पुग्छन् । श्रीलंकाकामा पनि बौद्धहरू हिन्दुविरुद्ध लडनका लागि मुस्लिमसँग मिलिरहेका छन् । भारतमा जब राम जन्मभूमिको विवाद अदालत पुग्यो, हिन्दु र मुस्लिमबीच एकअर्कामा वादविवाद चल्न थाल्यो त्यतिबेला अम्बेडकरसमर्थित थेरावादी बौद्ध तथा ‘भीम आर्मी’ भनिनेहरू चुप थिए । त्यतिबेला उनीहरूले यस विषयमा कुनै चासो नै नभएको जसरी मौनता देखाए । तर, जब अदालतले हिन्दुको पक्षमा फैसला ग¥यो तब यिनीहरूले अयोध्या बौद्ध क्षेत्र भएको दाबी गर्न थाले । भारतमा मुगलकालिन समयमा अतिक्रमण गरिएको हिन्दुको अति पवित्र तीर्थस्थलहरू हिन्दु समुदायलाई नै फिर्ता गर्ने आन्दोलन र बहसहरू भइरहेका छन् । मुगलकालिन समयमा हिन्दुका हजारौँ तीर्थस्थलहरू भत्काएर, तोडमोड गरेर मस्जिद र मदरसा बनाइए जसलाई आजका हिन्दूहरूले आफ्नो तीर्थस्थल फिर्ता गर्ने अभियानका रूपमा लिएका छन् । तर बौद्धहरू मुस्लिमसँग विवाद हुन्जेल मौन बस्छन् र, जब हिन्दुको पक्षमा मत बलियो हुन पुग्दछ, त्यतिबेला विवाद खडा गर्न आइहाल्छन् ।

विगतमा हिन्दुका केही प्राचिन मठ-मन्दिरहरूमा बुद्धलाई सम्मानस्वरूप केही मूर्तिहरू बनाएर राखिदिएको पक्कै हो । हिन्दूहरूले सद्भावको उत्कृष्ट परिचय दिँदै मठ-मन्दिर निर्माण गर्दा बुद्धलाई स्थान दिए, आज पनि दिइरहेका छन् । तर पुर्खाको त्यो उदारता र अभ्यास आजका हिन्दूहरूलाई भारी परिरहेको छ । जसरी ती मठ-मन्दिरहरू हजारौँ वर्ष प्राचिन छन्, ठिक त्यसरी नै सम्मानस्वरूप हिन्दुले राखिदिएका केहि बुद्धको मूर्ति पनि स्वभावैले प्राचिन हुन सक्छन् । तर त्यहि मूर्ति देखाएर आजका बौद्ध भनिनेहरूले उल्लिखित हिन्दु तीर्थस्थल नै बौद्धको थियो, हिन्दुले बौद्धमाथि अतिक्रमण गरे भनेर कुतर्क र कुतथ्यको सहारामा विवाद सिर्जना गर्दैछन् ।

पशुपतिनाथको मन्दिरसहित काठमाडौंका प्राचिन मठ-मन्दिरहरूमा ११औँ र १२औँ शताब्दीमा बंगालका सुल्तान समसुद्धिन र गयासुद्दीन नामक बंगालका मुस्लिम शासकले आक्रमण गरी कयौँ मठ-मन्दिर भत्काएको सबैलाई थाहै छ । त्यसको भग्नावशेष आज पनि देख्न सकिन्छ । त्यसरी भत्किने र भत्काइएका मूर्तिहरू केवल हिन्दु देवीदेवताका मात्र होइन, केही बुद्धको पनि भत्काइएका पक्कै हुन् । समयकालक्रमसँगै केहीपछि भत्किएका पनि छन्, जो जिर्णोद्दारको प्रखाइमा छन् ।

पशुपतिनाथ परिसरमा इतिहासमा राखिएका केही बुद्ध मूर्तिहरू भत्किएका छन्, सयौँ शिवलिङ्ग र शिवालयसहित अनेक देवी-देवताका मुर्ति र मन्दिर पनि भत्किएका छन्, ती पनि जिर्णोद्धारको प्रखाइमा छन् । तर भत्किएका केही बुद्धमूर्तिहरू निहुँ खोज्नेहरूलाई बहाना भएको छ । यस्ता अभियन्ताहरूलाई त्यहि पशुपतिनाथमा बेवारिशे बनिरहेका कयौँ सत्तल, पाटी र शिवालयहरूको बारेमा चासो छैन । त्यतिमात्रै होइन पशुपतिनाथको श्लेष्मान्तक बनमा इसाइहरूले चिहान बनाएर अतिक्रमण गरेको विषयमा मतलव छैन । पशुपतिनाथको जग्गामा गैरकानुनी तरिकाले चर्च बनेको, अवैध संरचनाहरू बनेको बारेमा कुनै चासो छैन । तर ती अभियन्ताहरू कसरी हुन्छ पशुपतिनाथलाई विवादमा तान्ने र हिन्दु धार्मिक आस्थालाई बदनाम गर्ने भन्ने ध्याउन्नमा लागेका छन् ।

यदि पशुपतिनाथ परिसरमा केही बुद्धमुर्ति भेटिएकै आधारमा त्यस क्षेत्रलाई बौद्धक्षेत्र भन्ने हो भने केही वर्षपहिले यौटा सानो शिख मन्दिर पनि बनेको छ, के अबको केही वर्षपछि शिख मतालम्बीहरूले पशुपतिनाथक्षेत्र जैनको हो भनेर दाबी गर्लान् वा गर्न पाउँछन् ? स्वयम्भुनाथमा हारतीमाताको मन्दिर छ, जसको घण्टा र गजुर तिब्बतबाट शरण लिन आएका बौद्धरिम्पोछेले चढाएका थिए । अब हिन्दूहरूले स्वयम्भुमा भएका हारतीमाताको मन्दिरसहितका मठ-मन्दिरहरू देखाएर त्यो स्वयम्भु हिन्दुहरूको मात्र हो, त्यहाँ बौद्धले अतिक्रमण गरे भनेर दाबी गर्न मिल्छ वा दाबी गर्लान् ? यी तथाकथित अभियन्ताहरूले हारतीमाताको मन्दिर नै हिन्दूहरूले अतिक्रमण गरेर बनेको भन्लान्, तर त्यही हारती माताको मन्दिरमा घण्टा र गजुर चढाउने रिम्पोछे यी अभियन्ताको रूपमा सल्बलाएका बौद्धभन्दा अबुझ थिए होलान् ? बरु ती हिन्दुद्वेषी अभियन्ताहरूलाई थाहा होस्- तिब्बतबाट शरण लिन आएका बौद्ध रिम्पोछेको लागि नेपालले चीन र तिब्बतको संयुक्त फौजका विरुद्ध युद्ध नै लडेको थियो । एकजना बौद्ध रिम्पोछे जोगाउने प्रयास गर्दा झन्डै नेपालको अस्तित्व नै समाप्त भएको थियो ।

बुद्धको मुर्ति तोडेर बिष्णु बनाएको भन्ने तथाकथित पहिचानवादीहरूले काठमाडौंमा बज्रयानी र महायानी नेवाहरूले पुज्ने शिवलिङ्ग शैलीको बुद्ध मुर्तिलाई के भन्लान् ? हिन्दुले त्यस मुर्तिलाई देखाएर शिवलिङ्ग तोडेर बुद्ध बनाइयो भनेर बौद्धविरुद्ध उफ्रिन मिल्छ वा उफ्रिएका छन् ? शिवलिङ्गको बौद्धकरण गरियो भनेर कुनै हिन्दु समुदायले भनेका छन् ? इतिहासमा बौद्धमत शुरुवात भएसँगै बौद्धकरणको एक अभियान चलेकै हो, झण्डै सनातनी वैदिक हिन्दुको अस्तित्व नै नामेट गर्ने गरेर बौद्धकरण भएको थियो । कालान्तरमा त्यसको शुद्धिकरण हुँदै परिवर्तित बौद्धहरू पुनः आफ्नो पूर्वजको हिन्दु धर्ममा फर्किएका हुन् । त्यस क्रममा इतिहासमा हिन्दुधर्मका अनुयायी र बौद्ध मतालम्बीबीच थुप्रै सङ्घर्ष र युद्धहरू नै भएका थिए । हिन्दुहरूले परिवर्तित बौद्धसँग लडेर आफ्नो अस्तित्व र आदर्श जोगाए । सद्भाव कायम गर्ने मेसोमा हिन्दु धर्म र बौद्धमतबीच केही संस्कारोचित क्रियाहरू एक-अर्कामा साझा गरिएको पक्कै हो । बौद्ध हुनुभन्दा पहिलेको कर्महरू बौद्ध समुदायमा अझै प्रष्ट देखिन्छ, जुन वैदिक हिन्दु सभ्यताको अभिन्न अंग हो ।

बौद्धमत अँगालेकाहरूले आफ्नो पूर्वजबाट आएको वैदिक संस्कारस्वरूप निरन्तरता दिएको केही कर्महरूका कारण आज बौद्धभित्र हिन्दुजस्तो देखिने गतिविधि देख्न सकिन्छ । नेपालको हिमाली भेग तथा तिब्बतका चैत्य र गुम्बाभित्र भगवान् शिव, गणेश, काली र भैरवका मुर्ति तथा चित्रहरू देख्न सकिन्छ । हिन्दुहरूले पवित्र मान्ने हरेक तीर्थस्थलमा बौद्धहरू पनि जान्छन् । हिन्दुले गाईलाई आमाको मान्यता दिएका छन् । बौद्धहरूमा ल्होसार मान्नुपूर्व गौमुत्र सेवन गर्ने प्रचलन छ । बौद्ध ग्रन्थमा गौमुत्र र गोबरको प्रयोग गरी चर्मरोग निको हुने कुराहरू लेखिएको छ । गाईले गोब्राउँदा नै मन्त्रोच्चारणसहित गोबर हातमा संकलन गर्ने र शरीरमा लेपन गर्ने कुरा बौद्ध ग्रन्थमा छ । अम्बेडकरवादी वा थेरावादी बौद्ध अभियन्ताहरूले यो पनि हिन्दुकरण भएको ठान्लान् । त्यसो हो भने तिब्बत र भारतका बज्रयानी र महायानी बौद्धहरूले पढ्ने ग्रन्थ नै ल्याएर सप्रमाण बहस गरे भइहाल्यो । बाटो खुल्ला छ । यसलाई यसरी पनि बुझ्न सकिन्छ कि, हिजोसम्म बौद्ध भएर बसेको कुनै जनजाति समुदाय एकाएक इसाइ भएसँगै बुद्धबाट मुक्ति छैन जिजस क्राइस्टाबाट मुक्ति छ भन्दै बौद्धविरुद्ध नै लागेसरह हो आजका बुद्धले हिन्दुविरुद्धको हर्कत ।

यो पनि नभुलौँ कि बुद्ध स्वयम् हिन्दु परिवारमा जन्मिएका हुन्, उनको प्रारम्भिक शिक्षादीक्षा ब्राम्हण गुरुहरूले नै दिएका हुन् । बुद्धले कुनै फरक धर्म शुरुवात गरेँ भनेर कतै भनेका छैनन् । तर बुद्धका भक्त भन्नेहरूले यसलाई धर्म भने, हिन्दुविरुद्ध लागे । बुद्ध स्वयम् क्षेत्री कुलका हुन्, तर आजका बौद्धहरू क्षत्रीहरू नै बाहिरबाट आएको भनेर ब्राम्हण क्षत्रीविरुद्ध अराजक गतिविधि गर्दैछन् । यदि डम्बर शमशेरले लुम्बिनीको उत्खनन् नगरेका भए बुद्ध लुम्बिनीमा जन्मिएको भन्ने तथ्य प्रमाणित हुँदैन थियो । बडामहाराजाधिराज पृथ्वीनारायण शाहको परिकल्पनाअनुसार उनका सन्ततिको नेतृत्वमा नेपाल एकीकरण नभएको भए आजको लुम्बिनी नेपाल सरहदभित्र हुने थिएन । तर केही बौद्ध भन्नेहरूले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई भरपुर गाली गर्दै हिँडिरहेछन्, पौष २७ लाई कालो दिन मानिरहेछन् ।

सम्राट अशोकले आफूले बौद्ध मत अँगालेपछि आफ्नै श्रीमतीलाई मारे जस्तै बौद्धहरू हर किसिमले आफ्नो मत स्थापित गर्न हिन्दुहरूसँग निरन्तर लडिरहेका हुन्छन् । तर यिनीहरूको लडाइँ मुस्लिम वा इसाइसँग कहिल्यै हुनसक्दैन । जबकि विश्वमा बौद्धको अस्तित्व आदि सङ्कटमा छ भने त्यो इसाइकरण वा मुस्लिमीकरणबाटै सम्भव छ, भइरहेको छ । अफगानिस्तानमा कुनै समय बौद्धहरू बहुसंख्यक थिए । आज इस्लामिकरण भएर अस्तित्व समाप्त भइसकेको छ । नेपालको सन्दर्भमा बौद्धहरू इसाइकरणको चपेटामा आफ्नो अस्तित्व जोगाउन सक्ने अवस्थामा छैनन् । तर बौद्ध अभियन्ताहरूको ध्यान इसाइकरण रोकेर आफ्नो अस्तित्व जोगाउनेतर्फ भन्दा हिन्दुलाई गाली गर्नमै सीमित देखिनु दुर्भाग्यपूर्ण छ । दशैँ जनजातिको पर्व होइन भनेर अभियान चलाउने बौद्ध वा जनजातिहरू क्रिसमस जनजातिको पर्व होइन भन्न सक्दैन, भन्दैनन् । यो ख्याल राख्नुपर्ने विषय हो ।