एमाले उपाध्यक्ष सुवास नेम्वाङको हृदयाघातबाट निधन

एमाले उपाध्यक्ष सुवास नेम्वाङको हृदयाघातबाट निधन


नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । पूर्वसभामुख एवम् संविधानसभाका अध्यक्षसमेत रहेका नेता नेम्वाङको गएराति हृदयघातबाट निधन भएको हो । उनी हाल इलाम २ बाट प्रतिनिधिसभामा निर्वाचित सांंसदसमेत हुन् ।

स्वास्थ्यमा समस्या भएपछि राति नै उनलाई अस्पताल लगिएको थियो, तर त्रिवि शिक्षण अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकले नेम्वाङको निधन भएको जानकारी गराएका थिए ।

नेम्वाङको निधनमा प्रधानमन्त्री प्रचण्डले दुःख व्यक्त गरेका छन् । ट्वीट गर्दै प्रधानमन्त्रीले भनेका छन्- ‘संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

यतिबेला नेम्वाङको पार्थिव शरिर त्रिवि शिक्षण अस्पतालमा छ । एमाले अध्यक्ष केपी ओलीलगायतका नेताहरु शिक्षण अस्पताल पुगेका छन् । नेम्वाङको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको बताइएको छ ।