नर्वेलाई २-१ ले पराजित गर्दै इंग्ल्यान्ड फिफा विश्वकप प्रतियोगिता २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । जुड बेलिङ्घमले गरेको दुई गोलको मद्दतले इंग्ल्यान्ड सेमिफाइनल प्रवेश गरेको हो । यो जितसँगै अब अन्तिम चारमा अर्जेन्टिना र स्विटजरल्यान्डबीच हुने खेलको विजेतासँग इंग्ल्यान्डले प्रतिष्पर्धा गर्नेछ ।
मियामी स्टेडियममा आइतबार (१२ जुलाई) भएको खेलमा इंग्ल्यान्डले एक गोलले पछाडि रहेको स्थितिबाट अतिरिक्त समयको खेलमा २–१ ले पुनरागमन जित रचेको हो । नर्वेले ३६औं मिनेटमा आन्ड्रेस सेरडरपले गरेको गोलबाट अग्रता लिएको थियो। उनले कठिन कोणबाट गोलको खाता खोलेका थिए ।
रियल म्याड्रिडका बेलिङ्घमले पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा बराबरी गोल फर्काए । उनले नर्वेका चार डिफेन्डरबाट घेरिएको स्थितिमा कडा प्रहार गर्दै आकर्षक गोल गरेका थिए । यस्तोमा खेल अतिरिक्त समयमा गएको थियो । त्यसकै ९३ औं मिनेटमा बेलिङ्घमले निर्णायक गोल गर्दै टिमलाई जित दिलाए । मोर्गन रोजर्सको सुरुआती प्रहार नर्वेली गोलरक्षक ओरजन नाइल्यान्डले रोके पनि त्यसमै फर्केको बलमा बेलिङ्घमले नजिकबाट गोल गरेका थिए ।
ज्ञातब्य छ, यसअघि नै फ्रान्स र स्पेनले सेमिफाइनल यात्रा तय गरिसकेका छन् ।
प्रतिक्रिया