भद्रपुर रोटरी क्लबमा नयाँ पदस्थापन

भद्रपुर रोटरी क्लबमा नयाँ पदस्थापन


भद्रपुर (झापा)/ मानव सेवा, स्वास्थ्य, शिक्षा र सामाजिक सचेतना जगाउन अन्तर्राष्ट्रिय सामाजिक संस्था ‘रोटरी क्लब’ क्रियाशील रहँदै आएको छ । सोही वैश्विक संस्थाको यहाँस्थित इकाई ‘रोटरी क्लब अफ् भद्रपुर’को नयाँ कार्यसमितिले पदस्थापन गरेको छ ।

एयरपोर्ट होटल, भद्रपुरमा आयोजित भव्य समारोहका बीच निवर्तमान अध्यक्ष धनजुजु श्रेष्ठले नवनिर्वाचित अध्यक्ष मनोज पराजुलीलाई अध्यक्ष पदको जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट-३२९२ का पास्ट डिस्ट्रिक्ट गभर्नर जीतेन्द्र राजभण्डारी प्रमुख अतिथि रहेको पदस्थापन समारोहमा विशेष अतिथि भद्रपुरका नगर-प्रमुख गणेश पोखरेल थिए ।

रोटरी क्लब अफ् भद्रपुरका चार्टर प्रेसिडेन्ट किशोर पराजुली लगायतले शुभकामना व्यक्त गरेको कार्यक्रममा प्रेसिडेन्ट-इलेक्ट अजय साहेवालाले स्वागत मन्तव्य र सञ्चालन क्लबका सचिव नरेश पराजुलीले गरेका थिए ।

सोही समारोहमा रोटरयाक्ट क्लब अफ् भद्रपुरको पनि नेतृत्व रियाज ढकाललाई हस्तान्तरण गरिएको थियो ।

रोटरी क्लब अफ भद्रपुरले स्थानीय नगर क्षेत्रमा विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ । सन् २०२६-’२७ को नवनिर्वाचित क्लबको कार्यसमितिले झापा चोकस्थित नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्रलाई एक थान एयर कन्डिशनर हस्तान्तरण गरेर कार्यकालको पहिलो दिनको शुरुवात गरेको थियो ।

सन् २०१४ को जुन २ तारिख भद्रपुरमा स्थापित यस क्लबले ‘कपडा बैंक’ स्थापना, अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री वितरण, रक्तदान, सार्वजनिक शौचालय निर्माण र अन्य समाजोपयोगी कार्यहरू गर्दै आइरहेको छ ।