आदर्श राम्रो दियो-वामदेव पण्डित-वर्ष ९६

आदर्श राम्रो दियो-वामदेव पण्डित-वर्ष ९६


उच्चो पानसमा बलेर रहने आदर्श राम्रो दियो ।
राँकोझैं बनी लोकतन्त्र पथमा बस्ने उज्यालो मियो ।
ढाल्ने कोसिसमा कुनै छन् अझै यो विश्वमा निश्चय ।
थोरै काल गरून् राज उनको देखिन्न काहीँ जय ।।११।।

यो संसारभरि यही चलनले ढाकिरहेको छ र ।
हाम्रो उज्ज्वल लोकतन्त्र सकिने ठान्ने कुरो छैन र ।
मूर्ख्याइँ यसमा गरे विविध नै फक्कु हुँदैन नायक ।
खाँदै ठक्कर घोर आखिर भए चौपट्ट नालायक ।।२।।

साँचो हो कहिले समाप्त नहुने यस्तो महा तत्त्वको ।
मास्छौँ मूल जरो भनी दगुरने आश्चर्य व्यक्तित्वको ।
लीला हुन्छ विनाश भन्छ दुनियाँ सर्वत्र अत्यधिक ।
उग्रे लाइनतर्फ दिन्छ जनता धिक्कार अत्यधिक ।।३।।

खोपाका देउता त्रिभुवन उता श्री चन्द्र राणा तक ।
हेर ती सबको निरङ्कुश प्रथा सत्ता कडा घातक ।
भौग्दै जीवित नै छु अझ अहो यो वृद्ध संसारमा ।
छोडी उग्र विचार बान्धव यता आऊ प्रजातन्त्रमा ।।४।।

सच्चा हो म छु वृद्ध व्यक्ति अहिले बूढो छयानब्बेको ।
बोली फुट्दछ हेर वृद्ध जनको उज्ज्वलको कर्तव्यको ।
मुडाको पनि ताप है शीतलमा आगो सदा सर्वदा ।
बूढाको सुन अर्ती शुद्ध दिलले चर्को नमानी सदा ।।५।।