कस्तो देश बनाएछौँ ? …तैपनि हार्दिक श्रद्धाञ्जली सुवास दाइ !

कस्तो देश बनाएछौँ ? …तैपनि हार्दिक श्रद्धाञ्जली सुवास दाइ !


के चौंतिस बर्षको शासन अवधिको उपलब्धि यस्तै हुने हो त ? देश उजाडेर विदेश ब्यूँझाउने नितिमा हामी नबहकिएको भए आज हाम्रो देशको अनुहार यस्तै हुन्थ्यो होला ? सुवास दाइ ! एकपटक खुल्ला दिमागले सोचौं त हामीले कस्तो देश बनायौं ? हामीले अवलम्बन गरेको नीति के सही रहेछ ?

चौंतिस वर्षीय शासनकालमा तपाईंहरूले कस्तो देश बनाउनु भएछ सुवास दाइ ? जुन देशमा बाबुको मृत्यु खबर सुनेपछि मात्र छोराछोरी स्वदेश फिर्छन् ! चामल दाल किन्न खर्च पठाउँछन् । औषधिमूलो गर्न अलिअलि नगद पठाउँछन् । त्यहि खर्चपनि सकेसम्म बुढापाकाहरु बृद्ध भत्ताले नै काम चलाउँछन् । अलिअलि बचेको भत्ता र घ्यू बेचेको पैसापनि बचाएर विदेशमा सन्तानले खरिदेको घरको किस्ता तिर्न बुढाबुढि रकम उतै पठाउँछन् । जीवनभरको कमाइले स्वदेशमा बनाएको घरपनि बाबुआमाको मृत्युपछि बिक्री गरेर सन्तानले उतै नगद लान्छन् ।

सुवास दाइ ! के तपाईंको गैरिखेतको धानको चामलको मुल्य थिएन ? कि त तपाईंको खेतबारीमा फलेको कोदो कोइरालो पोसिलो थिएन ? तपाईंको निगालोघारिमा टुसा पलाउँदैन थियो ? तपाईंको खोरमा बाख्रापाठा थिएनन् ? तपाईंको गोठमा गाईबाच्छा, भैंसीपाडा रित्तिएका थिए ? के तपाईंको पालिदलान भत्किएको थियो ? यी सबै नभएको भए पनि अलिक पर चियाबारिमा ज्याला निमेक त गर्न पाइन्थ्यो नि !

चियाबारी उजाडियो, गोठ खोर भत्किए, घर दलान भत्किए । खेतबारी बाँझै छन् । सिङ्गो गाउँ रित्तियो । तपाईंको माइखोलाको कुरकुरमा कति हो कति माछा थिए । अहिले ती कुरका ढुङ्गा बालुवा केही कतै छैनन् । खोलो जेनतेन बगेको छ । न खोलोको स्वरुप सही छ, न तपाईंको गाउँको नै स्वरुप छ, न त तपाईं नै यस धराधाममा रहनुभयो !

सुवास दाइ, यो धर्तिमा नरहने बाचा कसम त हामी सबैले जन्मनुअगाडि नै खाइसकेपछि मात्र हाम्रो जन्म भएको हो । तर आगामी जन्म परजन्म र सन्ततिको लागिसमेत तय भएको यस धराधामको स्वरुप समेत यथास्थितिमा राख्न सक्ने हैसियत नभएको हामीले यत्तिका बर्षसम्म यो देशको ठेक्का किन लियौं ? जनतालाई त्यो सपना किन देखायौँ जो पुरा हुनै नसक्ने थिए ! ब्यावस्था किन बदल्यौं जसलाई हामी काबुमा राख्नै असमर्थ थियौं । संस्कार किन बदल्यौं जो आगामी पुस्तालाई हस्तान्तरण गर्नु हामी सबैको जिम्मेवारी थियो ? सबै सबै उल्ट्यायौं जसलाई हामीले कहिल्यै सुल्टो बनाउने साहस नै गर्न सक्दैन थियौं ।

प्रिय सुवास दाइ ! तपाईंको त पिए सहयोगी नोकरचाकर सेवा सुविधा सबै थिए र त तपाईंलाई हस्पिटलसम्म पुऱ्याउँदा नपुऱ्याउँदै मृत घोषणा गरियो । ति भुइँमान्छे जस्का कोही छैनन्, साथमा केही छैन, सुविधायुक्त स्थानमा पनि छैन । उनका सन्तान पनि तपाईंका जस्तै कमाउन विदेश गएका छन् तिनको के हालत होला ? ति आम भुइँमान्छेको स्थानमा आफुलाई राखेर एकपल्ट सम्झनुहोस् त हामीले कस्तो देश बनायौं ? के चौंतिस बर्षको शासन अवधिको उपलब्धि यस्तै हुने हो त ? देश उजाडेर विदेश ब्यूँझाउने नितिमा हामी नबहकिएको भए आज हाम्रो देशको अनुहार यस्तै हुन्थ्यो होला ? सुवास दाइ ! एकपटक खुल्ला दिमागले सोचौं त हामीले कस्तो देश बनायौं ? हामीले अवलम्बन गरेको नीति के सही रहेछ ? जन्मपछि कालान्तरसम्म यस धाममा चिरस्थायी कोहिपनि रहँदैन । सबैको जाने बाटो यहि हो । मृत्यु साश्वत सत्य हो । मृत्युपर्यन्त हामीलाई आगामी पुस्ताले सम्झिरहने भनेको उसको जीवनकालको कर्म मात्रै हो ।

सुवास दाइ ! माथि उल्लेखित उदाहरण तपाईंको गाउँको मात्र नभएर सिङ्गो नेपालको हालत हो । त्यो सही गलत जे भए तापनि तपाईंले मात्र गर्नु भएको भने होइन होला । तर तपाईं जस्तै शासनसत्ता सञ्चालन गर्नेले गरेको कर्मको फल हो । आज देश जातिय द्वन्द्वउन्मुख छ । त्यो पनि उल्लेखित अकर्मण्यताका कारण नै उब्जाइएको हो । तपाईं जस्तै शासनसत्ता संहाल्ने हरुको पनि अन्तिम गन्तव्य त यहि नै हो । तपाईंको आत्माले गहिरो र गम्भीर सुझाव ति बाँचेका शासक बर्गलाई समेत दिन सकोस् । जुन गल्तिका कारण देश पाताललोक तर्फ धसिँदै छ, विदेश हिमाल उक्लँदैछन् । शीर्षासनमा देशलाई सुताएर विदेश उठाउने नीति भुलवश अवलम्बन भएको भए तापनि त्यसबाट समयमै फर्काउने तपाईंको आत्मालाई कार्यभार सुम्पन निवेदन गर्दै । तपाईंको यात्रा गन्तव्यतर्फै रहोस् ! हार्दिक श्रद्धा-सुमन सुवास दाइ !!