अब पशुपतिनाथ परिसरमा अनशन !

अब पशुपतिनाथ परिसरमा अनशन !


पेसागत कर्मबाट भन्दा अतिरिक्त क्रियाकलापबाट चर्चामा आएका डाक्टर गोविन्द केसी फेरि आमरण अनशन बस्ने भएका छन् । तर यसपटकको अनशन कुनै सुविधाजनक अस्पतालमा नभएर पशुपतिनाथ परिसरमा बस्न खोजेको जानकारी प्राप्त भएको छ ।

एक सूत्रले जनाएअनुसार केसीले अनशनका निम्ति पशुपतिनाथ मृगस्थलीको गोरखनाथ मठलाई रोजेका छन् । त्यहाँ बस्न अनुमति नमिले उनी कहाँ गएर अनशन बस्छन् भन्ने यकिन हुनसकेको छैन, तर उनले गोरखनाथ मठमै बस्ने अड्डी कसेका छन् । यही भाद्र २९ गतेदेखि अनशन बस्ने सोच बनाएका केसीले आफूसँग विभिन्न समयमा सरकारले गरेको सम्झौता कार्यान्वयनलाई मुख्य माग बनाउन लागेका छन् ।

ज्ञातब्य छ, केसीले मेडिकल शिक्षा दुर्गम क्षेत्रसम्म पुऱ्याउन र सस्तो बनाउन माग गर्दै आएका छन् । केसीसँगको सम्झौताकै कारण नेपालमा यतिबेला मेडिकल शिक्षा दुरुह र महँगो हुँदै गएको ठानिन्छ । उनकै कारण स्वदेशमा मेडिकल पढ्ने हज्जारौँ विद्यार्थीको चाहना पूरा नभएर विदेशिन बाध्य भएका छन् । केसीकै कारण मेडिकल शिक्षामा लगानी गर्नेहरू नराम्रोसँग डुबेका छन् र, उनकै कारण देशमा नर्शहरू उपलब्ध नहुने स्थिति पैदा भएको छ ।

गोविन्द केसीको नियत जे भएपनि उनका क्रियाकलापले नेपाललाई भन्दा विदेशलाई र सत्कर्मलाई भन्दा दुष्कर्मलाई प्रश्रय दिँदै आएको छ । तत्कालीन अख्तियार प्रमुख लोकमान सिंह कार्कीले सबै दलसम्बद्ध महा भ्रष्टाचारीहरूमाथि अनुसन्धान र कारबाहीको प्रक्रिया सुरु गरेपछि यी गोविन्द लोकमानविरूद्ध अनशन बस्न पुगेका थिए । उनकै अनशनको आडमा सुशीला कार्कीलाई प्रयोग गरेर लोकमानलाई हटाइएको थियो ।