✍ पुरुषोत्तम ढकाल
हो, अब म सुन्दिनँ तिम्रा कुरा,
मान्दैनौँ तिमिलाई सत्ता र सरकार
जति झुक्यायौ… झुक्यायौ, गयो त्यो दिन
हो.. म रिसाएको छु, क्रोधित छ मेरो त्रिनेत्र
नआउ मेरो वरिपरि, जल्न सक्छ तिम्रो दरबार ।
जब–जब हामी सडकमा ओर्लियौँ
तिम्रो भरोसामा सुन्दर भविष्य कल्पँदै
शिरमा बाँधेको कात्रो, कफन र मशाल
मेरो देश र मेरो सन्तान सम्झिएर युद्धमा होमिँदा
मृत्यु हत्केलामा बोकेर मरेर बाँचेको त्यो दिन सम्झदा
आज जिउँदै मरेको मेरो जुनी र मेरो देशको यो कथा, यो दुर्दशा !
हो ! हामी, बुद्धका देशमा जन्मिएका बुद्धु नै रहेछौँ
प्रजातन्त्र भन्यौँ- पत्यायौँ, लोकतन्त्र भन्यौँ- भरोशा भयो
गणतन्त्रको नारामा अबिरजात्रा गऱ्यौँ
तर अब समाजवादको ललिपप तिमीहरूनै चुस्नु !
झुठो बोल्ने केटाकेटी थिएनन्
हामी पत्याउने पनि उस्तो
पत्याउँदै गयौँ, भर पर्दै रह्यौँ
यो दुर्दिनमा पनि तिमीहरूको मिलिभगत
मतपत्र बोकेर लाइनमा उभिने हामी बुद्धु
दिनदहाडै, आँखैअगाडि लुटिएको यो कथा
एउटा युद्ध-सरदार र अर्की जहाँनियाकी बाई
भाग लगाएर खान्छन् देश किस्तीमा राखेर
गणतन्त्र भन्दै टुलुटुलु हेर्ने हामी निम्छरो प्राणी !
भोको पेटमा काउकुति जति नै लगाउ
तिम्रो समाजवाद र गणतन्त्रको,
हाँस्दैन यो मुखडा आज उप्रान्त
बेलैमा भाग टाढा-टाढा, नदेखिने परदेश
हो म क्रोधित छु, जलाउन आतुर छु तिम्रो सत्ता
कट्टि..कट्टि.. ! नरपिचासहरू हो, रुवायौ विलखबन्दनमा पारेर
आँशु सुकेर होला ! नेत्र धमिलो छ तर बैरी ठम्याउने चेत छ
भोको पेटमा काउकुति नलगाउ, न रहे बाँस न बजे बाँसुरी !!
- लस-एन्जलस, संयुक्तराज्य अमेरिका
प्रतिक्रिया