इतिहासमा हराएको एघार दिन

इतिहासमा हराएको एघार दिन


इतिहास
✍ सुनिल उलक

एक पटक क्यालेण्डरबाट एकैचोटी एघार दिन हरायो । मानिसहरू सन् १७५२ को सेप्टेम्वर २ मा राति सुतेका थिए तर बिहान उठ्दा सेप्टेम्वर १४ तारिख भयो । सोमबार सुतेकाहरू बिहीबार बिहान उठे । धेरै मानिस आश्चर्यित भए । तर, त्योबेला ब्रिटेनको सरकारले विज्ञप्ति निकाल्यो, जसअनुसार निकै समयदेखि विवादमा रहेको समस्यालाई सदाको लागि समाधान गरिएको थियो ।

हामीकहाँ पनि यो समस्या नभएको होइन । हाम्रो वि.सं. मा पनि सूर्यमासमा २४ दिन र चन्द्रमासमा ३० दिनको अन्तर भइसकेको छ । हाम्रो पात्रोबाट पनि कुनै एक महिना हटाउनुपर्ने भइसकेको छ । यसलाई ढिलाइ गर्नुहुँदैन भन्ने धेरै ज्योतिषहरूको एकमत छ, तर पनि केही ज्योतिषीहरू यसप्रति सहमत छैनन् । कतै पण्डितले लेखिदिने चिना नै गलत त छैन, जसले गर्दा हाम्रा भाग्योदय भनिएका बेला विपरीत त भएको छैन ? विकासतर्फ लम्कनुपर्ने देश आपसी द्वन्द्वमा किन लाग्दैछ ? हामी दशैँको टीकाका साइत र भाइटीकाको साइतमा नै टीका थाप्न भागदौड गर्छौं । तर धेरैलाई यो जानकारी नै छैन, टीका त एक महिनाअगाडि नै लगाउनु पर्थ्यो । बैशाख १ गते नयाँ वर्षको दिन, दिन र रात बराबर हुनुपर्थ्यो ! तर अचेल चैतको ७–८ गतेतिर दिन र रात बराबर हुन्छ । यस्ता धेरै प्रश्नहरू छन्, जसको उत्तर ज्योतिषीहरू स्वयम् नै दिन सक्दैनन् ।

नेपालमा विक्रम सम्वत धेरै अगाडिदेखि चलाउन थालिएको भए तापनि यसमा धेरै अप्ठ्याराहरू थिए । चन्द्रमासको आधारमा शुरु गरिएको विक्रम सम्वतमा चन्द्रमासका शुक्लपक्षका दिनहरूलाई सुदि १ देखि १५ सम्म तथा कृष्णपक्षका दिनहरूलाई वदि १ देदि १५ भनिन्थ्यो, जसले गर्दा साल करिव ३५४ दिनको हुने गर्दथ्यो । हरेक तीन वर्षमा बन्ने पुरुषोत्तम मासले गर्दा कर्मचारीलाई १३ महिनाको तलव दिनुपर्ने बाध्यता हुने गर्दथ्यो । चन्द्रशम्शेरले वि.सं. १९६१ मा देशभरिका प्रमुख ज्योतिषीहरूको भेला गराएर सहज निर्णय गर्न लगाए । जसको फलस्वरुप ज्योतिषीय निर्णयलाई सर्वस्विकार्य बनाउँदै विक्रम सम्बतको नयाँ प्रारुप तैयार गराए । सूर्यचक्रलाई राशीअनुसार विभाजन भएकै ज्योतिषीय पद्दति स्विकार्दै बाह्र राशिका बाह्र महिना विभाजन भए । कतिपय इतिहासकारले यही तिथीलाई नै गते मानेर गलत मिति निर्धारण गर्दथे । त्योभन्दा अगाडि नेपाल सम्वत् तथा शक सम्वत् पनि प्रयोग हुने गर्दथ्यो ।

ज्योतिषीय निर्णयका नयाँ प्रारुपअनुसार हरेक सालको पहिलो दिन बैशाख १ गते मेष राशिमा प्रवेश गर्ने दिनबाट गणना गर्ने गरी नववर्षको घोषणा गर्ने भयो भने महिनाका दिनहरू थपघट हुने गरि मिलाइयो । कार्तिक देखि फागुनसम्मका महिना २९ वा ३० दिन हुने । चैत र बैशाख ३० वा ३१ दिनका हुने । जेठदेखि भदौसम्मका महिना ३१ वा ३२ दिनका हुने र असोज ३० वा ३१ दिनको हुने गरि चन्द्रमासका अप्ठ्याराहरूलाई सहज बनाइयो ।

चन्द्रशम्शेरको समयमा बनाइएको विक्रम सम्वत् नै अध्यावधि चलिरहेको छ । केही ज्योतिषहरूले पर्व तथा समय सुधारका आधारमा २०६६ सालको चैत्र महिना हटाउने सुझावसहित प्रतिवेदन सरकारलाई बुझाइए पनि सो कार्यान्वयन हुन सकेन ।

पर्व समय सुधार राष्ट्रिय समाज नेपालका अनुसार तेह्रौँ शताब्दीदेखि नै विक्रम सम्वतमा समय सुधार भएको छैन, जसले गर्दा हामी गतेले २६ दिन ढिला छौँ र, तिथिले एक महिना ढिलो भएका छौँ ।

हामीले हजारौँ वर्षदेखि सुधार गर्न नै सकेका छैनौँ । तर इटालीका पोप ग्रेगरी तेह्रौँले सन् १५७७ मा जुलियस सिजरको समयबाट शुरु गरिएको जुलियन क्यालेण्डरमा सुधार गर्न खगोशशास्त्री क्रिस्टोफर क्लाविस तथा भौतिक विज्ञानी अलासियस लिलियसलाई जिम्मा दिइएको थियो । दिन महिना तथा वर्षमा भएको कमी-कमजोरीलाई सुधार गर्न लगाइएको थियो । पाँच वर्ष लगाएर ती दुईले हिसाबकिताब गरेर पोपलाई प्रस्ताव दिए । पोप ग्रेगरी तेह्रौँले सो सुझाव कार्यान्वयन गर्दै सन् १५८२ को फेब्रुअरी २४ मा नयाँ क्यालेण्डर बनाए । सो भन्दाअगाडि मार्च २५ मा मनाउँदै आएको नयाँ वर्षलाई सन् १५८३ बाट जनवरी १ लाई नयाँ वर्ष मनाउने घोषणा गरे । साथै सो समयसम्म नमिलेको १० दिनलाई मिलाउन सन् १५८२ को अक्टोवर महिनामा ४ अक्टोवरको भोलिपल्ट १५ अक्टोवर बनाएर मिलाए । यी दुईको सल्लाहबाट हरेक चार वर्षमा एक दिन फेब्रुअरी महिनामा थप हुने तथा वर्ष ३६५ दिनको हुने बनाइयो । साथै हरेक सय वर्षमा फेब्रुअरी २९ दिनको नभइ २८ दिनकै हुने पनि हिसाव गरियो । तर हरेक ४०० वर्षमा भने फेब्रुअरी २९ दिनकै रहने भयो । यसरी गणना गर्दा हरेक ३२०० वर्षमा अझै १ दिन बढी आउने भएपछि सन् ३२०० को फेब्रुअरीलाई भने ३० दिनको बनाउनु पर्ने सुझाव पनि दिएका थिए । यसरी तैयार भएको नयाँ क्यालेण्डरलाई ग्रेगरियन क्यालेण्डर भन्न थालियो ।

तर यो क्याथोलिकहरूको निर्णय भन्दै सबै देशले एकसाथ स्विकार गरेनन् । प्रोटेस्टान्टहरूले आफ्नै किसिमले सुधारको प्रयास गरे । जसको फलस्वरुप विभिन्न देशले आफ्नै किसिमले क्यालेण्डर सच्याउँदै ग्रेगरियन क्यालेण्डरलाई स्विकार गरे । ब्रिटेन तथा यसका साम्राज्यहरूले १७५२ मा ११ दिन घटाएर ग्रेगरियन क्यालेण्डरलाई स्विकारेका थिए । तसर्थ सेप्टेम्बरको २ को भोलिपल्ट १४ तारिख भएको थियो ।

फ्रान्सले सोही वर्ष ९ डिसेम्बरको भोलिपल्ट २० डिसेम्बर बनायो । पोल्याण्डले सन १६१२ मा २२ अगष्टको भोलिपल्टलाई २ सेप्टेम्बर बनायो । डेनमार्क तथा नर्वेले सन १७०० मा फेब्रुअरी १८ को भोलिपल्ट मार्च १ बनायो । अमेरिकाले सन् १८६७ को ७ अक्टोवरको दिउँसो १२ बजेपछि १८ अक्टोवर बनायो । सोवियत संघले ग्रेगरियन क्यालेण्डरलाई स्विकार्दै सन् १९१८ मा फेब्रुअरी १ को भोलिपल्ट फेब्रुअरी १४ तारिख बनाएको थियो ।

यसरी यूरोपियन तथा अमेरिकाले स्विकारेको ग्रेगरियन क्यालेण्डरलाई ब्रिटिस साम्राज्यमा नरहेको एशियाली मुलुकले पनि बिस्तारै स्विकारेको थियो । जापानले सन् १८७३ मा स्विकारेको थियो भने कोरियाले १८९५ मा स्विकारेको थियो । चीनले सन् १९१२ बाट स्विकार गरेको थियो ।