ढुसी सपना

ढुसी सपना


✍ दिल पौडेल

जीवनको उत्पति शानदार भएपनि
दुर्भाग्यवश, अपेक्षित नतिजा हात पार्न सकिएन
मलाई कुरीकुरी लागिरहेछ
उच्चस्तरको चुनौतीसँग
पुस्तौँपुस्ताले कहिल्यै नबिर्सिने गरि
विश्व-ब्रम्हाण्डलाई टक्कर दिने
मेरा सपनाहरूलाई
ठुलै अन्तरले पराजित गराए
तमासावादी र अतिवादीहरूले
भुङ्ग्रोमा मट्टितेल हालेर
निर्लज्ज एवम् पतित तरिकाले
विचार, निष्ठा, आदर्शमा जीवनभर
आक्रमण गरिरहे ।
०००
जीवन खेल मैदानका संघर्ष रहेछ
ब्याटिङ, बलिङ, फिल्डिङ
भूमिका अनेक छन्- समय-समयका
मलाई लाग्छ- भाषणवाजहरूले ‘टस’ जितेर
‘ओपेनिङ ब्याटिङ’को मौका लगातार पाइरहे,
‘विकेट’ झार्न असफल रहे- मेरा चाहानाहरू
त्यसैल , मैदानमा पराजयको फराकिलो अन्तर देखाए
यद्यपि आवश्यकताहरू ‘रनिङ’ गर्दै रहे,
लक्ष्यको बली चढाउन सक्दिनँ- म
मेरा मुल्य-मान्यतामाथि चौका/छक्का प्रहार गर्नेलाई
मैले ‘डाइभिड. क्याच’ गर्न चाहिनँ
तसर्थ, समुहचरणदेखि फाइनलसम्म
पुग्ने ‘टार्गेट मिट’ हुन सकेन
प्रशिक्षण लिने पनि रुचि भएन
चुनौतिमाथि चुनौति अविजित रहे
मलाइ लाग्दछ-
जीवनमा असंख्य प्रतियोगिता चलिरहन्छ
ढिलो-चाँडो मेरा पराजयहरूले
राम्रेसँग आकाङ्क्षाका वर्तमानमाथि विजय हासिल गर्नेछ
कहिल्यै ‘सर्ट पीच’मा खेल्नुपर्ने
कहिल्यै ‘लङ पीच’मा नाघ्दै गरेको बल
‘क्याच’ गर्न- फिल्डबाहिरै कुँद्नुपर्ने
लयमा फर्किनै दिएनन्- दुष्टहरूले
यस्तै क्रममा
बल ‘डाइभ’ भई ‘स्टम्पआउट’मा परेको
मेरो सत्य देखेर केयौँ पटक
रंगशालामा सन्नाटा छाएको छ
लाग्दछ- उमेरगत कौतुहलताहरू ‘पेभेलियन’ फर्किसके
पूरा ओभर खेल नसकिँदै
जीवनमा विरोधिहरूले
शतकमाथि शतक प्रहार गरी स्कोर बढाए
ती अद्भुत् पात्रलाई थाहा छ-
असल मान्छे नै पराजित हुन्छन्
पराजितसँग नै सकारात्मक र तारिफयोग्य
पक्ष रहन्छन्
यसरी, मेरा ज्ञान/चेतनाहरूलाई
शुन्यतामै ‘अलआउट’ गराए
जिज्ञासा लागिरहेछ- अझै
‘यङ्ग्री योङ्ग म्यान’को ‘लुक्स’मा
राज्यसँग बगावत गर्दै
शानदार मसिहाको जीवन
शुरुवात गर्न मिल्दैन ??

  • सिन्धुली