ब्यक्तिगत कुरामा नबोले हुन्न ?

ब्यक्तिगत कुरामा नबोले हुन्न ?


‘म यस्ता कुराको जवाफ दिन्नँ’ भन्न सक्यो भने सोध्नेले अर्कोपल्टदेखि त्यस्ता प्रश्न गर्ने हिम्मत नगर्न सक्छन् । कसले कतिपल्ट कोसँग शारीरिक, मानसिक वा भावनात्मक सम्बन्ध राख्यो या राखेन कसलाई के मतलब ? किन चासो ? यस्ता नितान्त ब्यक्तिगत कुरामा स्पष्टिकरण दिन र लिन कुनैपनि अर्थमा न त सही हो न त आवश्यक नै ।
✍ बबिता बस्नेत

केही दिनदेखि दुई मिडिया सेलिब्रेटी निकै चर्चामा छन् । रिल, टिकटक, युटुब सर्ट जताततै छाएका ती सेलिब्रेटीलाई कार्यक्रम सञ्चालकले प्रश्न सोध्छन्- ‘डिभोर्सपछि तपाईंको शारीरिक सम्बन्ध भएको छ कि छैन ?’ उनीहरूको हातमा थमाइएको ‘छ’ र ‘छैन’ लेखिएको प्लेकार्ड देखाउँदै एक जनाले ‘छ’ र अर्कोले ‘छैन’ भन्छिन् । आफूले चिनेका दुई सेलिब्रेटीले आफ्ना नितान्त ब्यक्तिगत कुरा त्यसरी सार्वजनिक गर्दा मनमा ‘यो सब भनिरहन जरुरी थियो र ?’ जस्तो लाग्यो । ‘छ’ र ‘छैन’वाला छोटो दृष्य भाइरल भएपछि पूरै कार्यक्रम धर्यतापूर्वक हेरेँ । कुराकानी सम्बन्धबिच्छेदमा केन्द्रित थियो । प्रश्नहरू यसरी सोधिएका थिए मानौँ यी दुई मिडियाकर्मीलाई सोध्नका लागि अरु कुनै विषय नै छैन । दुईमध्ये एक केही समयअघि राजनीतिमा गएकी थिइन् तर कार्यक्रम सञ्चालकलाई उनी कुन दलमा आवद्ध छिन् जानकारी थिएन । असाध्यै हल्का रूपले सोधिएका हरेक प्रश्नको जवाफ उनीहरू दिइरहेका थिए । तथापि, कसैले सोधेका सबै प्रश्नको जवाफ दिनैपर्छ भन्ने जरुरी छैन र, जवाफ नदिन पाउनु आफ्नो मिडिया अधिकार हो भन्ने कुराको जानकारी नराख्ने मान्छे दुवै होइनन् ।

सम्बन्ध बिच्छेद कतिपय मानिसको जीवनमा दुर्घटना भन्न मिल्ने घटना हो, जसको परिकल्पना प्रायः मान्छेले गरेका हुँदैनन् । भोलि मेरो सम्बन्ध बिच्छेद हुन्छ भन्ने लाग्ने हो भने मानिसले विवाह नै गर्दैनन् । पति-पत्नीको मन नमिलेर या कुनैपनि कारणले हुने सम्बन्ध बिच्छेदलाई त्यति धेरै चर्चाको विषय बनाउनुपर्छ जस्तो लाग्दैन । समाजमा यस्ता घटना किन बढिरहेका छन् ? अनुसन्धान र विश्लेषणको विषय भने हुन सक्छ, न कि सम्बन्धित ब्यक्तिले बाँचिरहेको जिन्दगीबारेमा ब्यक्तिगत टीका-टिप्पणी र प्रश्न ।

हामी नेपालीलाई को कस्तो, कसले के गरिरहेको छ, को कहाँ गयो, कस्तो हाउभाउ ग¥यो, कोसँग कसरी बोल्यो, कोसँग आँखा जुधायो जस्ता कुरामा अलि बढी नै रुचि छ । पहिला-पहिला यसप्रकारका कुराहरू गाउँघरमा पानीपँधेरा, चियापसल, पाटी-चौतारातिर गरिने गफगाफमा सीमित हुन्थे । प्रविधिको पहुँच र प्रयोगसँगै त्यस्ता कुराहरू अहिले मिडिया र सोसियल मिडियाका ‘गसिप’ बन्न थालेका छन् ।

जीवनमा अकस्मातै आइपरेको दुर्घटनालाई कसैको विज्ञता नै झैँ गरी खोतलिरहनु आवश्यक छैन । कुनैबेला के हो के हो झैँ गरेर हेरिने सम्बन्ध विच्छेद हिजोआज घर-घरकी कहानी भइसकेको छ । पुरुष, महिला या यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक कसैको पनि निजी जीवनका कतिपय पाटाहरूलाई निजी नै रहन दिँदा आफू र आफूसँग जोडिएकाहरूलाई राम्रो हुन्छ भन्न मिल्छ, सकिन्छ ।

हामी नेपालीलाई को कस्तो, कसले के गरिरहेको छ, को कहाँ गयो, कस्तो हाउभाउ गऱ्यो, कोसँग कसरी बोल्यो, कोसँग आँखा जुधायो जस्ता कुरामा अलि बढी नै रुचि छ । पहिला-पहिला यसप्रकारका कुराहरू गाउँघरमा पानीपँधेरा, चियापसल, पाटी-चौतारातिर गरिने गफगाफमा सीमित हुन्थे । प्रविधिको पहुँच र प्रयोगसँगै त्यस्ता कुराहरू अहिले मिडिया र सोसियल मिडियाका ‘गसिप’ बन्न थालेका छन् । पहिला-पहिला कसैका श्रीमान्-श्रीमतीले सम्बन्ध बिच्छेद गरे भने खासखास खुसखुस हुन्थ्यो, ल… यसको त यस्तो भएछ नि.. केटाको गल्ती होला… केटीको होला… हेर्दै यस्ती थिइ या थियो… त्यस्तासँग को बस्छ र ? अब के गर्छ/गर्छे होला है ? उनीहरूको जिन्दगी आफैले बाँचिदिनुपर्ने झैँ गरी आफन्त, नातेदार र परिचितहरूबीच धेरै दिनसम्म चर्चा चल्थ्यो । भनुँ कि नभनुँ, सोधुँ कि नसोधुँ गर्दै आफन्तहरू एउटा कुरा सुनेँ… भन्दै विचराको भावमा कुरा उठाउँथे । खासमा के भएको रहेछ भनेर जान्नुभन्दा पनि सम्बन्धितका बाबुआमा या निकटवर्तीहरूलाई एक तह तल झार्नु उनीहरूको उद्देश्य हुन्थ्यो । अहिले हेर्दाहेर्दै सबैका कुरा सोसियल मिडियामा आउन थाले । जानकारी पाउनैनपर्नेहरूले पनि बाध्य भएर कति कुराहरू सुन्नु/हेर्नुपर्ने भयो । सम्बन्ध बिच्छेद महिलासँगै पुरुषको पनि भएको हुन्छ तर ती पुरुषहरूलाई मिडियामा ल्याएर ब्यक्तिगत प्रसङ्गहरू सोधिँदैन । यस्ता पुरुषहरू कि मिडियाकर्मी या युटुबरको छनौटमा पदैनन् या त उनीहरू आफ्ना ब्यक्तिगत कुराहरू सार्वजनिक गर्न चाहँदैनन् भनेर बुझ्नुपर्ने हुन्छ ।

खाने, लाउने, सम्बन्ध, प्रेम, विवाह, सम्बन्ध बिच्छेद, पुनर्विवाह सबै मानिसका ब्यक्तिगत कुरा हुन् । हरेक मानिसलाई आफ्नो पारिवारिक र वैवाहिक जीवनको गोपनीयता कायम गर्ने हक हामीलाई कानूनले नै दिएको छ । कसैको चाहनाविपरीत कसैले पनि तपाईंको सम्बन्ध बिच्छेद किन भयो ? या विवाह किन असफल भयो ? एक्लो जीवन बाँच्दा कस्तो लागिरहेको छ ? कसैसँग सम्बन्धमा हुनुहुन्छ कि हुनुहुन्न ? जस्ता प्रश्नहरू सार्वजनिक रूपमा गर्न पाउँदैन । दाम्पत्य जीवनमै रहँदा पनि पति-पत्नीबीच मात्रै जानकारी हुने एकर्काको गोपनीयतासँग सम्बन्धित प्रश्न गर्न पाइँदैन । वैयक्तिक गोपनियतासम्बन्धी ऐन २०७५ ले यस्तो ब्यवस्था गरेको छ । प्रत्येक ब्यक्तिलाई उसको चरित्र र आचरणको गोपनियता राख्ने हक पनि छ । कसैको आत्मसम्मानमा आँच पुग्ने या हीनताबोध हुने कुरा सार्वजनिक रूपमा सोध्ने बेलामा मिडियाकर्मी या कसैले पनि ध्यान पुऱ्याउन आवश्यक हुन्छ । कसैले सोध्दैमा हरेक कुरामा बोल्नुपर्छ भन्ने पनि छैन ।

सम्बन्ध बिच्छेद महिलासँगै पुरुषको पनि भएको हुन्छ तर ती पुरुषहरूलाई मिडियामा ल्याएर ब्यक्तिगत प्रसङ्गहरू सोधिँदैन । यस्ता पुरुषहरू कि मिडियाकर्मी या युटुबरको छनौटमा पदैनन् या त उनीहरू आफ्ना ब्यक्तिगत कुराहरू सार्वजनिक गर्न चाहँदैनन् भनेर बुझ्नुपर्ने हुन्छ ।

माथि उल्लेखित दुई सेलिब्रेटी आफैमा सचेत ब्यक्तित्व भएकाले उल्लेख गरिएको मात्रै हो, सार्वजनिक जीवनमा भएका धेरैलाई हिजोआज सोध्नै नपर्ने ब्यक्तिगत प्रश्नहरू सोधेको देखिन्छ । जवाफ दिनेले पनि भनुँ कि नभनुँ लाग्दालाग्दै पनि सोधिहाल्यो भनेर जवाफ दिने गरेका छन् । जवाफ दिनेले ‘म यस्ता कुराको जवाफ दिन्नँ’ भन्न सक्यो भने सोध्नेले अर्कोपल्टदेखि त्यस्ता प्रश्न गर्ने हिम्मत नगर्न सक्छन् । कसले कतिपल्ट कोसँग शारीरिक, मानसिक वा भावनात्मक सम्बन्ध राख्यो या राखेन कसलाई के मतलब ? किन चासो ? यस्ता नितान्त ब्यक्तिगत कुरामा स्पष्टिकरण दिन र लिन कुनैपनि अर्थमा न त सही हो न त आवश्यक नै ।

हरेक ब्यक्तिका ब्यक्तिगत र सार्वजनिक आ-आफ्नै सीमानाहरू हुन्छन् । सार्वजनिक ब्यक्तित्वका सीमानाहरू निजी जीवन बाँच्नेका भन्दा बढी हुन्छन् । सार्वजनिक ब्यक्तिको पनि ब्यक्तिगत जीवन हुन्छ, तपाईं सार्वजनिक ब्यक्ति हो त्यसैले ब्यक्तिगत प्रश्नको पनि जवाफ दिनैपर्छ भनेर कसैले भन्न पाउँदैन । आफ्ना ब्यक्तिगत सीमाहरू ब्यक्ति आफैले तय गर्ने हो । सार्वजनिक जीवनमा भएका ब्यक्तिले कुनैपनि कुरा सार्वजनिक रूपमा नबोलुञ्जेल र नलेखुञ्जेल उसको निजी हो, बाहिर गइसकेपछि त्यो सार्वजनिक हो । कुनै पनि कुरा सार्वजनिक हुनुको अर्थ त्यसमा जसले पनि टिप्पणी गर्न पाउने भयो । आफ्नो ब्यक्तिगत जीवन, सम्बन्धलगायतका कुराहरू सार्वजनिक टिप्पणीको विषय बनेको कसैलाई पनि मन पर्दैन । आफूलाई मन नपर्ने कुरा अरुलाई पनि मन पर्दैन भनेर बुझ्न सकियो भने धेरै कुरा आफै ठिक भएर जान्छ । कहाँ जाने, कहाँ नजाने, कहाँ के खाने, कहाँ के नखाने, कहाँ के लाउने, के बोल्ने, के नबोल्ने, कहाँ बोल्ने, कहाँ नबोल्ने मानिसले आफ्नो आचारसंहिता आफै बनाउने हो ।