कपिलवस्तु कारागारमा रहेका आठ कैदी रिहा

कपिलवस्तु कारागारमा रहेका आठ कैदी रिहा


  • नारद कोहार, कपिलवस्तु

संविधान दिवसको अवसरमा कपिलवस्तु कारागारमा रहेका आठ कैदी रिहा भएका छन् । कैद मिनाहा भएका सबै कपिलवस्तुका रहेका छन् ।

कपिलवस्तु कारागारका प्रमुख जेलर मनोज शैनीका अनुसार राष्ट्रपतिबाट कैद मिनाहा भएबमोजिम कैदमुक्त गरिएको हो।

उनले भनेका छन्, ‘गत आर्थिक वर्षसम्म ५० प्रतिशत भन्दा बढी कैद भुक्तान गरेकोलाई रिहा गर्दै आएको र यस वर्षदेखि ४० प्रतिशतभन्दा बढी कैद भुक्तान गरेकोलाई रिहा गरिएको छ ।’

कैदमुक्त भएका ८ जना मध्ये ४० प्रतिशत कैद भुक्तान गरेका चार जना रहेका छन्, जसमध्ये ३ जना कर्तव्य ज्यान र एक जना सवारी ज्यान मुद्दा कैद जीवन बिताइरहेका थिए । त्यस्तै, ५० प्रतिशत कैद भुक्तान गरेका ४ जना रहेका छन्, जसमध्ये तीन जना कर्तव्य ज्यान र चारी मुद्धामा एक जना कैदीजीवन बिताइरहेका थिए ।

मुद्दा नकारात्मक सूचीमा नपरेका, असल चालचलन भएका आधारमा उहाँहरुको कैद मिनाहाका लागि कारागार व्यवस्थापन विभागमा नामावली पठाइएको थियो । सोही आधारमा उनीहरुको कैद मिनाहा गरिएको जेलर शैनीको भनाइ छ ।

कैदमुक्त भएका उनीहरु बाँकी जीवन घरपरिवार र समुदायको हितका लागि बिताउने प्रतिबद्धता गर्दै कारागारबाट बिदा भएका उनले जानकारी दिए ।

कपिलवस्तु कारागारमा रहेका कुल पाँच सय ३० कैदी बन्दीमध्ये आठ जना कैदमुक्त भए भने बाँकी पाँच सय २८ जना कैदीबन्दी कारागारमा रहेका छन् । कारागारमा स्वदेशी थुनुवा २४७, कैदी २४४, विदेशी थुनुवा १२, कैदी १७ र महिला थुनुवा २ जना रहेका छन् ।