धर्तीकै स्वर्ग हो नेपालभूमि मुस्ताङ !

धर्तीकै स्वर्ग हो नेपालभूमि मुस्ताङ !


नेपालमा घटित वार्षिक, मासिक तथा दैनिक अपराधको आँकडा हेर्ने हो भने नेपालको सबैभन्दा शान्त जिल्ला मुस्ताङ नै हो । यहाँको वार्षिक अपराधको तथ्याङक काठमाडौंलगायतका जिल्लाहरूको एक हप्ताको तथ्याङ्क भन्दा पनि कम छ ।
✍ भोजराज पाण्डेय

नेपालको संविधान २०७२ मुलुकमा लागु भएपश्चात त्यसअघि कायम रहेका ७५ वटा जिल्लाहरूलाई मुलुक सङ्घीय संरचनामा गइसकेपछि प्रदेश मिलानको क्रममा साबिक लुम्बिनी अञ्चलको नवलपरासी र राप्ती अञ्चलको रुकुम जिल्ला टुक्रिएपश्चात हाल ७७ वटा जिल्ला कायम रहेका छन् । टुक्रिएर बनेका दुवै जिल्लाहरूको स्पष्ट नामाकरण त गरिएको छैन, तर भौगोलिक विभाजनपश्चात कायम रहेका जिल्लाहरू मुलुकको आवश्यकता, जनताको सेवाप्राप्तिमा सहज पहुँच र प्रशासनिक सुगमतालगायतको मापदण्डलाई आधार मानेर नै विभाजन गरिएको हो । यसरी कायम रहेका प्रत्येक जिल्लाहरूको पहिचानसहितको आफ्नै महत्व रहेको छ । कुनै जिल्ला भौगोलिक हिसाबले अन्य जिल्लाभन्दा फरक छ भने कुनै सांस्कृतिक हिसाबले । राजनैतिक हिसाबले पनि जिल्लाहरूको भौगोलिक र जनसंख्याको आधारमा भिन्नता पाउन सकिन्छ । कुनै जिल्ला भौगोलिक हिसाबले विशाल छन् तर जनसंख्याको हिसाबले अत्यन्त निम्न छन् भने कुनै जिल्लाहरू जनसंख्याको हिसाबले घना देखिन्छन् तर भौगोलिक सीमितता कम छ ।

अर्कोतर्फ एकै जिल्लाभित्र पनि फरक-फरक किसिमको सांस्कृतिक, सामाजिक, भौगोलिक र जातीय विविधता पाइन्छ । एकै खालको रहनसहन, धार्मिक आस्था र जातीय बसोबासको आधार भेट्टाउन गाह्रो पर्दछ । नेपालको भौगोलिक विभाजनको आधार हेर्दा यसको संरचना छिमेकी मुलुक चीनसँग सीमाना जोडिएको हिमाल, मध्ये भूभाग पहाड र दक्षिणी सीमाना छिमेकी मुलुक भारतसँग जोडिएर तराई रहेको छ । उत्तरमा हिमाल, बीचमा पहाड र तराईमा समथर जमीनले मिलेर बनेको करणले गर्दा नै यसलाई भौगोलिक विविधता भनिएको हो । बसोबासको आधार पनि यही विविधताअनुसार अलग-अलग छ । तराईमा बसोबास गर्ने र हिमाल क्षेत्रमा बसोबास गर्ने मनिसहरूको रहनसहन र सांस्कृतिक अवस्था बिल्कुलै भिन्न छ ।

पङ्क्तिकारको जन्मस्थल लुम्बिनी अञ्चलको पहाडी जिल्ला गुल्मी सदरमुकाम तमघासस्थित घरबाट उत्तरमा अवस्थित धवलागिरी र निलगिरी हिमाल सेतै चाँदी जस्तो लहरै स्पष्ट रूपमा देख्न सकिन्छ । त्यसबाहेक अन्य हिमालहरू त्यहाँबाट देख्न सकिँदैन । तर, तमघासको पुर्वी शीरमा रहेको मनमोहक सांस्कृतिक र पर्यटकीय स्थान रेसुङगाको डाँडोबाट हेर्दा धवलागिरी र निलगिरी हिमालको अलावा माछापुच्छ्रे र अन्नपुर्ण हिमाल बिहान खुरुरु दौडेर गयो भने पनि बेलुका गोधुली साँझ नपर्दै चुचुरोमा नै पुगिन्छ कि जस्तोगरि नजिकै देखिन्छ । रेसुङ्गा डाँडोमा बसि हिमालहरूको दृश्य नियाल्दा पलपलमा ती हिमालहरूबाट आउने चिसो सिरेटोले मुटु कमाउँथ्यो । बैशाख महिनामा पनि पातलो लुगा लगाएर रेसुङ्गामा समेत एकछिन अडिन मुस्किल हुन्छ । त्यसैले त तराईका विभिन्न स्थानबाट प्रचण्ड गर्मी छल्नको लागि गुल्मीको पर्यटकीय स्थल रेसुङ्गामा मानिसहरू ओइरो लाग्दछन् ।

मलाई बाल्यकालको अवस्थामा के अनुभूति हुन्थ्यो भने ती हिमालपारि कुनै जमिनी सतह नै छैन ! अर्थात्, हिमालपारिबाट जमीनको अस्तित्व नै समाप्त हुन्छ जस्तो लाग्थ्यो । तर पछि जब प्राथमिक विद्यालय अध्ययनको क्रममा धवलागिरी, निलगिरी, माछापुच्छ्रे र अन्नपुर्ण हिमालको पारिपट्टि नेपालको दुई वटा जिल्ला मनाङ र मुस्ताङ पर्दछन् भन्ने कुरा थाहा भएपछि मेरो मनमा थप कौतुहलताले जरो गाडेको थियो । आफ्नै घरको आँगनबाट देखिने हिमालको मुनिपट्टि मुस्ताङ जिल्ला पर्दछ भन्ने जानकारी मिल्दा मनमा झन् बढी कौतुहलता हुनु स्वभाविक नै हो । अर्कोतर्फ मेरो मनमा त्यस्तो हिमालको फेदीको चिसोमा त्यहाँका मानिसहरू कसरी बस्न सकेका होलान् भन्ने जिज्ञासा अनुत्तरित भएर बसेको थियो । मैले यस विषयमा तत्काल कसैलाई त सोधिनँ, तर एउटा कुराचाहिँ निश्चयताका साथ मेरो मनमा रहन गयो- कुनै दिन त्यहाँको भौगोलिक अवस्थाको बारेमा साक्षात्कार भइ प्रत्यक्ष्य अनुभूति गर्दा कस्तो होला ? यद्यपि केहि अघिसम्म म सपनामा नै थिएँ ।

मुस्ताङ जिल्ला गण्डकी प्रदेशको धौलागिरी अञ्चलको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो । हिमालपारिको जिल्लाको नामबाट चिनिने यो जिल्ला धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको बीचमा अवस्थित छ । यस जिल्लाको ऐतिहासिक आधार र भौगोलिक अवस्था आदि हेर्दा धरैअघि यो क्षेत्र नेपाल र तिब्बतबीचको मुख्य व्यापारिक नाका रहेको बुझिन्छ । मुस्ताङ जिल्लाको उत्तरी सीमाना तिब्बतसँग जोडिएको लोमान्थानसम्म उच्च पहाडी र हिमाली श्रृङ्खला मिलेर बनेको छ । तर सीमापारि तिब्बतको भूभाग नेपालको तराई जस्तो समथर भूभाग रहेको छ ।

नेपालको दोश्रो ठूलो तथा पर्यटकीय शहर पोखराको पुरानो बिमानस्थलबाट हवाइजहाजमार्फत जम्माजम्मी २० मिनेटमा मुस्ताङको जोमसोम पुग्न सकिन्छ । तर सडक यातायातको पनि सर्वसुलभ उपलब्धता रहेको कारण त्यहाँ पुग्न पोखरादेखि बस तथा जीपमा सवार भइ करिब साढे ६ घण्टामा कास्की जिल्लाको पर्यटकीय तथा रमणीय स्थल लुम्ले, पर्वत जिल्लामा रहेको बन्जी जम्प र म्याग्दी जिल्लामा रहेको तातोपानीलगायतका स्थानको रमणीय आनन्द लिँदै काली गण्डकी किनारैकिनार विविध प्राकृतिक छटाहरूको अवलोकन गर्दै करिब १५९ किलोमिटर कच्ची र पक्की सडकको यात्रा पार गर्दा मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोममा पाइला टेक्न सकिन्छ । त्यसअघि स्याउखेतीको लागि मुस्ताङ जिल्लाको प्रसिद्ध स्थान मार्फा र ओखरखेतीको लागि प्रसिद्ध स्थान कोवाङको रमणीयता समेत आँखाको नानीबाट ओझेल हुन सक्दैन ।

मुस्ताङ जिल्लाको पूर्वमा मनाङ, पश्चिममा डोल्पा दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्दछन् । यसको उत्तर-दक्षिण लम्बाई करिब ८० किलोमिटर र चौडाई बढिमा ४५ किलोमिटर छ । यो जिल्ला अन्नपूर्ण हिमश्रृङ्खलाको उत्तरमा पर्ने भएको र उच्च हिमाली श्रृङ्खला रहेको कारण र वन-जङ्गल नभएको हुँदा यहाँ एकदमै कम पानी पर्दछ । नेपालको कम पानी पर्ने जिल्लामध्ये मुस्ताङ पहिलो नम्बरमा पर्दछ । नेपालको प्रसिद्ध धार्मिक स्थल दामोदर कुण्ड उद्गमस्थल रहेको काली गण्डकी नदी बग्दै तल कागबेनी आइपुग्दा मुक्तिनाथ क्षेत्र भएर आउने कागखोला मिसिएर जिल्लाको करिव-करिव बीच भाग भइ कालीगण्डकी नदी जोमसोम सदरमुकाम हुँदै बग्ने गर्दछ । यस नदीलाई स्थानीय भाषामा थाकखोला पनि भनिन्छ । उच्च हिमाली र पहाडी बनावट रहेको र पानीको अभाव हुने हुँदा यस जिल्लाका धेरैजसो बस्ती यही नदीको किनारमा अवस्थित छन् ।

यस जिल्लाको उत्तरी भागमा रहेको क्षेत्रलाई लोमान्थाङ भनिन्छ । जुन नेपालकै एक विशेष क्षेत्र हो । नेपालका धेरैजसो जिल्लाहरूको नामाकरण कुनै खोला, सांस्कृतिक सम्पदा, भौगोलिक बनावट, स्थान वा घटनाका आधारमा गरिएको भएता पनि यस जिल्लाको नामाकरण औषधिको नामबाट भएको पाइन्छ । तिब्बतीयन भाषामा मन् भनेको औषधि र थाङ भनेको चौरबाट मनथाङ हुँदै मुस्ताङ हुन आएको हो भन्ने जनश्रूति रहेको छ । मुस्ताङ जिल्ला जडिबुटिको हिसाबले पनि प्रशिद्ध रहेकोले पनि यस जिल्लाको नामाकरण औषधिकै नामबाट भएको हो भन्ने विश्वास गर्न सकिन्छ ।

यस जिल्लाको प्रमुख आकर्षण भनेको नै विश्वमा शालीग्रामको लागि प्रख्यात रहेको कालीगण्डकी नदी हो । कालीगण्डकी नदीको अलावा नेपालका अन्य नदीहरूमा शालीग्राम पाउन सकिँदैन । त्यसकारण पनि नेपाललगायत विश्वको विभिन्न मुलुकबाट पर्यटक तथा श्रद्धालुहरू मुक्तिनाथ, कागबेनीलगायतका स्थानहरूमा दर्शन गर्नको अलावा शालीग्राम प्राप्तिको लागि पनि तीर्थालुहरू मुस्ताङ आउने गर्दछन् । त्यसैगरी जिल्लाको दक्षिण भेकको रक्षा कवचको रूपमा रहेका ८१६७ मिटर उचाईको धवलागिरी हिमाल र ६९४० मिटर उचाईको निलगिरी हिमालको शीरदेखि फेदीसम्म सेतै चाँदी जस्तो घेरा हिउँले लटरम्म ढाकिँदा देखिने दृश्यले प्रभावित नहुने सायदै पाउन नसकिएला । त्यसैले स्वदेशी तथा विदेशी पर्यटकको यस क्षेत्रमा घुइँचो नै लाग्ने गर्दछ ।

मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, कागबेनी, शिवालय मन्दिर (पुथाङ), गणेश मन्दिर (जोमसोम) टुकुचे गोम्पा कोबाङ, टुकुचे क्युपर गोम्पा, टुकुचे गोम्पसम्प, टुकुचे मकल गोम्पा, टुकुचे रानी गोम्पा, मार्फा गोम्पा आदि यस क्षेत्रका प्रसिद्ध धार्मिक स्थलहरू हुन् । त्यसमा पनि नेपालको विभिन्न स्थानहरूको अलावा दक्षिण भारतको विभिन्न स्थान र विश्वका अन्य मुलुकबाट समेत श्रद्धालु भक्तजनहरू मुक्तिनाथ तथा दामोदर कुण्ड दर्शनको लागि आउने गर्दछन् । साथै मृत्यु भइसकेका आफ्ना पितृहरूको सम्झनामा दिइने पिण्ड अर्पण तथा तर्पनको लागि पनि सोह्र श्राद्धको समयमा ठूलो संख्यामा नेपालीहरू कागबेनीमा आउने गर्दछन् । यस समयमा कागबेनी र मुक्तिनाथमा थामिनसक्नु गरि मानिसहरूको ओइरो नै लाग्दछ । पहिले हवाई मार्ग मात्र आवागमनको प्रमुख साधन रहेको मुस्ताङ जिल्लामा अहिले सवारी मार्गको सर्वसुलभताले गर्दा पनि हजारौँको संख्यामा मानिसहरू यहाँ आउन सकेका हुन् ।

मुस्ताङ जिल्ला सांस्कृतिक हिसाबले जति महत्वपूर्ण छ, त्यति नै पर्यटकीय हिसाबले पनि आकर्षणको केन्द्र रहेको छ । यस जिल्लामा रहेका लोमान्थाङ ऐतिहासिक दरबार, लोमान्थाङ्गको सिटीवाला, मुक्तिनाथ क्षेत्र, टुकुचे, निलगिरी हिमाल, धौलागिरी हिमाल, तिलिचो पिक, याककावा पिक, टुकुचे धम्पुस पिक, टुकुचे पिक हिमाल टुकुचे मार्चे लेक, टुकुचे बतासे लेक, टुकुचे नाथाङ्ग खर्क आदि प्रसिद्ध पर्यटकीय स्थलहरू हुन् । विविध जैविक विविधता तथा जडिबुटीको आधार क्षेत्र रहेको कारणले गर्दा पनि यस जिल्लाको महत्व अन्य जिल्लाहरूको तुलनामा बढी नै छ । त्यसकारण पनि मुख्य सिजनमा मुस्ताङ जिल्लामा रहेको विविध पक्षहरूको अवलोकन तथा भ्रमणको लागि विभिन्न मुलुकहरूबाट आउने पर्यटकको घुइँचोले गर्दा यदाकदा ट्राफिक ब्यवस्थापन र शान्ति सुरक्षा कार्य चुनौतीपूर्ण बन्ने गर्दछ ।

यस जिल्लामा रातो स्याउ, मार्फा, गोल्डेन स्याउ, फापर, आरु, चेरी आरु, ओखर आदि प्रसिद्ध खेति र नगदेबालीको रूपमा रहेका छन् । यहाँ कृषिको प्रमुख आधार भनेको नै स्याउखेती हो । तर जलवायु परिवर्तनको असर यस जिल्लामा प्रष्टै देखिन थालेको छ । पहिला जिल्लाको दक्षिणी सिमाना थसाङमा समेत प्रशस्त मात्रामा स्याउ फल्दथ्यो भने सदरमुकाम नजिक रहेको मार्फा गाउँमा पनि जलबायु परिवर्तनको असरको कारण पहिले जस्तो पर्याप्त मात्रामा स्याउ फल्न छाडेको छ । हिमाली जिल्ला र पहाडैपहाडले ढाकिएको भएतापनि सदरमुकाम जोमसोममा गर्मी महिनाको दिउँसो घाम लागेको अवस्थामा अत्यन्त गर्मी हुन थालेको छ । यदि जलवायु परिवर्तनको असरलाई बेलैमा सम्बोधन नगरी यसको सर्वाङ्गीण संरक्षणमा नलाग्ने हो भने भोलिका दिनमा मुस्ताङ जिल्लाको सदरमुकामभन्दा तल्लो इलाका र जोमसोममा समेत स्याउखेती ब्यवसायमा उच्च गिरावट आउन सक्दछ ।

मुस्ताङ जिल्ला उच्च पहाडी दुर्गम हिमाली जिल्ला भएको हुनाले यहाको जनजीवन अन्य स्थानको भन्दा भिन्नै प्रकारको छ । सदरमुकाम देखि उत्तर तिब्बतसँग सीमाना जोडिएको इलाका वारि भोटे गुरुङ, विष्ट र ठकुरी जातिको बाहुल्य छ भने दक्षिणतिर थकाली समुदायको अतिरिक्त दलित तथा अन्य जातिहरूको समेत बसोवास भएको पाइन्छ । यहाँ बसोबास गर्ने बहुसंख्यक गुरुङ तथा थकाली जातिहरू बौद्धधर्म मान्दछन् ।

यहाँका मानिसहरूले लगाउने लुगा, रहनसहन, संस्कार र संस्कृति नै पर्यटकको मुख्य आकर्षणको बिषय बन्ने गरेको छ । तथापि यहाँको मौलिकता पनि हराउँदै गएको छ । यहाँका मानिसहरू जाडो याममा जाडो छल्नको लागि छिमेकी मुलुक तथा नेपालको पोखरा लगायतका स्थानहरूमा झर्ने गर्दछन् भने गर्मी याममा मात्र यहाँ फर्किने गर्दछन् । कतिपय त मुस्ताङ आउनै छाडेका छन् । माथिल्लो मुस्ताङका धेरै मानिसहरू अमेरिका लगायतका देशहरूमा पलायन भएका छन् । जिल्लाको उत्तरी भेग, तिब्बतियन संस्कृतिबाट प्रभावित छ भने दक्षिणी भेगमा यहाँको आफ्नै संस्कृति र परम्परा रहेको छ र, केही हदसम्म छिमेकी जिल्लाको पनि प्रभाव परेको छ । यस जिल्लामा बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको हुनाले घ्याङ र गुम्बामा पूजाआजा गर्ने लामा, झुमा बस्ने परम्परा रहेको छ ।

नेपालमा घटित वार्षिक, मासिक तथा दैनिक अपराधको आँकडा हेर्ने हो भने नेपालको सबैभन्दा शान्त जिल्ला मुस्ताङ नै हो । यहाँको वार्षिक अपराधको तथ्याङक काठमाडौंलगायतका जिल्लाहरूको एक हप्ताको तथ्याङ्क भन्दा पनि कम छ । यहाँ बसोबास गर्ने मानिसहरूको शान्त स्वभाव, अत्यन्त मिलेर बसेको समुदाय, एकआपसमा सहयोगी भावना तथा मिलनसार र शालीन स्वभावको कारण यहाँ भवितब्य र विपदका घटनाहरू बाहेक सामान्य प्रकृतिका घटनाहरू पनि घट्दैनन् । आफ्ना मान्यजनहरू प्रतिको आदरभाव, उच्च अनुशासन, पाहुनाहरूप्रति सेवाभाव र इमान्दारिता यहाँ बसोबास गर्ने मानिसहरूको गहना हो भन्दा पनि हुन्छ । जहाँ अनुशासित समाज हुन्छ त्यहाँ अपराध हुँदैन । मानिसहरूमा खराब कार्य गर्न हुँदैन भन्ने भाव आउनु नै अपराध नहुनु हो । त्यसैले मुस्ताङ जिल्लामा देश तथा विदेशका विभिन्न मुलुकहरू बाट पर्यटकहरू धार्मिक तथा ऐतिहासिक स्थानहरूको भ्रमणको लागि ढुक्कका साथ आउने गर्दछन् ।