माओकालीन कम्युनिष्ट बर्बरता र नेपालको सन्दर्भ

माओकालीन कम्युनिष्ट बर्बरता र नेपालको सन्दर्भ


रसिया र चीनमा कम्युनिष्टले जुन बर्बरता र आतंकको बाटो समाए, नेपालका कम्युनिष्ट विशेषगरी माओवादीले पनि सोही बाटो अवलम्बन गरेको हो । चीनमा देङ्ग सियाओपिङ्ग सत्तामा आएपछि जब उनले सन् १९७८-८० मा खुल्ला अर्थनीति र पुँजीवादी मोडेल अवलम्बन गरेपछि नै चीनले आर्थिक विकास गरेको हो । यदि देङ्ग सियाओपिङ्गले माओको कम्युनिष्ट समाजवादी मोडेल त्यागेर पुँजीवादी अर्थतन्त्र अवलम्बन नगरेका भए आज चीन विश्वको शक्तिशाली राष्ट्र बन्ने नै थिएन ।
✍ प्रभात अधिकारी

चीन र रसियाको कम्युनिष्ट इतिहास नबुझी मार्क्सवाद र कम्युनिष्ट विचारधारा बुझ्न सकिन्न । नेपालको सन्दर्भमा चीनका कम्युनिष्ट शासक माओत्सेतुङ्ग कै नाममा ‘माओवादी’ नामक कम्युनिष्ट पार्टी छ । त्यस्तै रसियाको कम्युनिष्ट नेता भ्लादिमिर लेनिन र जर्मनीका कार्ल मार्क्सलाई आदर्श मानेर एकीकृत मार्क्सवाद लेनिनवाद अर्थात् छोटकरीमा ‘एमाले’ भन्ने कम्युनिष्ट पार्टी छ । चीनका वर्तमान शासक सी जिनपिङलाई आदर्श मानेर आफ्नो नामको पछाडि ‘सी’ राख्ने क्रान्तिकारी पार्टी पनि छ । यसरी हेर्दा नेपालको कम्युनिष्ट पार्टी तथा कार्यकर्ताहरू चीन वा रसियन कम्युनिष्ट पार्टीको छायाचित्र ‘फोटोकपी’ हुन् भन्दा फरक पर्दैन । कुनै समय मस्कोमा पानी पर्दा काठमाडौंका कम्युनिष्टहरू छाता ओढ्छन् भन्ने भनाइ प्रशिद्ध थियो ।

आजको यस अध्यायमा माओकालीन चीनमा कम्युनिष्टहरूले चलाएका अभियानहरूलाई नेपालको सन्दर्भमा तुलना गरेर विश्लेषण गर्ने प्रयास गरिएको छ ।

प्रतिक्रान्तिकारीको सफाया

चीनमा कम्युनिष्ट सत्ता आएपछि माओत्सेतुङ्गले सन् १९५०-५३ मा प्रतिक्रान्तिहरूको सफाया गर्ने अभियान सञ्चालन गरे । अभियानको उद्देश्य थियो कम्युनिष्टविरोधि शक्तिहरू नामेट पार्ने । यसमा उनीहरूले आफ्नो प्रमुख शत्रु अर्थात् प्रतिक्रान्तिकारीको रूपमा गैरकम्युनिष्ट विचार बोक्ने शक्तिहरू, पुँजीपति र कोमिन्ताङ्ग पार्टीसमर्थित व्यक्तिहरूलाई लक्षित गरे । प्रतिक्रान्तिकारी भनेर लक्षित गरिएका व्यक्तिहरूलाई सामुहिक मृत्युदण्ड दिए, धेरैलाई श्रम शिविरमा लगेर प्रताडित गरे । चिनिया कम्युनिष्टहरू आफ्नो विचारप्रति फरक मत राख्नेलाई प्रतिक्रान्तीकारी घोषित गरिहाल्ने र उनीहरूको अन्त्यका लागि हर किसिमका हर्कत गरिहाल्ने गर्दथे । विगत र वर्तमानमा विश्वका अन्य कम्युनिष्ट मुलुकमा पनि यस्तै भएको थियो, यस्तै भइरहेको छ ।

नेपालका कम्युनिष्टले पनि चिनिया कम्युनिष्ट पार्टीले झैँ, सांस्कृतिक राष्ट्रियताका पक्षधर, पुँजीपति वर्ग र प्रजातान्त्रिक शक्तिहरूलाई प्रतिक्रान्तिकारीको रूपमा मान्छन् । एउटै कम्युनिष्ट पार्टीबाट छुट्टिएर अर्को कम्युनिष्ट पार्टी बनाएकोले पनि पुर्ववर्ति आफ्ना कम्युनिष्ट नेता÷कार्यकर्तालाई ‘प्रतिक्रान्तिकारी’ र ‘प्रधान शत्रु’ जस्ता शब्दले नै सम्बोधन गर्ने गर्छन् । यो मुस्लिम मतमा गैरमुस्लिमलाई काफिर मानेजस्तै कम्युनिष्टहरूको मनोगत रोग हो ।

तथाकथित जनयुद्धको समयमा माओवादीले कम्युनिष्ट पार्टी एमालेलाई प्रतिक्रान्तिकारीको संज्ञा दिएर सयौँ एमाले नेता कार्यकर्ताको हत्या गरेको थियो । पछि माओवादीबाट छुट्टिएर गएको विप्लवको क्रान्तिकारीले प्रचण्डलाई नै नक्कली कम्युनिष्ट र प्रतिक्रान्तिकारी ठहर गऱ्यो । कम्युनिष्टहरूले हरेक भाषणमा प्रतिक्रान्तिकारी ठानिएको सबैलाई गालि गर्छन्, घृणा गर्छन् र हिंसात्मक गतिविधि गर्न तत्पर रहन्छन् । पुँजी परिचालन गरेर रोजगारी दिने उद्योगी व्यवसायीहरूलाई गाली नगरी कुनै कम्युनिष्टको दिनको शुरुवात नै हुँदैन । देशमा रोजगारी सिर्जना गर्ने र कर तिर्ने व्यक्तिहरू कम्युनिष्टको नजरमा प्रधान शत्रु हुन्, दलाल माफिया हुन् र प्रतिक्रान्तिकारी हुन् ।

आलोचकहरूको सफाया अभियान (हन्ड्रेड्स फ्लाओर्स क्याम्पेन)

‘सयौँ फूलहरू फुल्न दिऔँ, सयौँ विचारहरू लड्न दिऔँ’ भन्ने नाराका साथ सन् १९५६ मा माओले एक अभियान चलाए, जसमा देशभरिका नागरिकहरूले खुलेर प्रतिक्रिया दिन सकुन् । कम्युनिष्ट सत्ताले गर्नुपर्ने सुधारहरू, साथै आगामी कार्यदिशाका सम्बन्धमा जनताहरूको के-कस्तो धारणा छ रचनात्मक सल्लाह सुझाव दिन आव्ह्वान् गरियो । देशका पढेलेखेका दिग्गज बौद्धिक व्यक्तिहरू, विद्यालयका शिक्षक प्राध्यापकलगायत सबै तह र तप्काका व्यक्तिहरूले आफ्नो प्रतिक्रिया दिए । यसलाई चिनिया जनताले वाक स्वतन्त्रताको रूपमा लिए । तर यो स्वतन्त्रता धेरै समय टिक्न सकेन, बरु त्यहि निश्चित समयका लागि खुला गरिएको वाक स्वतन्त्रता लाखौँ चिनिया नागरिकको लागि मृत्युको कारण बन्न पुग्यो ।

माओको त्यस अभियानको मुख्य उद्देश्य आम चिनिया जनताको सल्लाह/सुझाव स्वीकार गरेर सोहीअनुसार अगि बढ्नु थिएन बरु माओ र चिनिया कम्युनिष्ट पार्टीप्रति असन्तुष्ट व्यक्तिहरूलाई सिध्याउनु थियो । यसरी चीनका लाखौँ शिक्षित चेतनशील व्यक्तिहरू माझीको जालमा फसेका माछो झैँ आफ्नो जीवन समाप्त पार्न बाध्य भए । जसरी अभियानका क्रममा शहरदेखि गाउँ-गाउँमा गएर सुझाव सङ्कलन गरिएको थियो त्यसरी नै देशको कुना-कुनामा गएर फरक मत राख्ने नागरिकहरूलाई छानी-छानी चिनिया लालसेनाले मारिदिए । कम्युनिष्टहरू हमेशा आफ्नो विरोधिप्रति सतर्क रहन्छन् । विरोधीहरूको सफाया गर्नु कम्युनिष्टको मौलिक आचरण हो । विगतलाई स्मरण गरौँ, नेपालमा माओवादी द्वन्द्वको समयमा माओवादीप्रति फरक मत राख्नेहरू जीवित रहन सके ? कतिजना जिवितै खाल्डोमा पुरिए, कति शिक्षक रुखमा झुण्ड्याइए, कति पत्रकार मारिए, सामाजिक सेवा गर्ने व्यक्तिहरुलाई के-के मात्र गरिएन !?

चिनिया सांस्कृतिक क्रान्ति

सन् १९६६ देखि सन् १९७६ सम्म माओको नेतृत्वमा चिनिया कम्युनिष्ट पार्टीले सांस्कृतिक क्रान्तिको आव्हान् गऱ्यो । यस क्रान्तिको उद्देश्य थियो परम्परागत मूल्य मान्यता, पुरानो व्यवहार, पुरानो सोच र पुरानो आस्था- यी चार अवशेषहरू मेटाएर कम्युनिष्ट विचारको संरक्षण गर्नु । सन् १९६६ को मे महिनामा आन्दोलन शुरु गर्दै माओले पूंजीवादको पुनःस्थापना गर्ने उद्देश्यले सरकार र समाजमा पुँजीवादी तत्वहरू घुसेको आरोप लगाए । माओले युवाहरूलाई पुँजीवादीको केन्द्रहरूमा बमबारी गर्न आव्हान् गरे र घोषणा गरे कि विद्रोह गर्नु जायज छ । युवाहरूले देशभरि रेड गार्ड दस्ता तयार गरेर आतङ्क मच्चाए । यसलाई संशोधनवादीहरू, प्रतिक्रान्तिकारी र पुरातनवादीहरूका विरुद्ध संघर्षका रूपमा लिइयो । माओले आफ्नै उत्तराधिकारी ठानिएको लिन पियाओ जसलाई माओको विरुद्ध कुटिल विद्रोहमा संलग्न भएको आरोप लगाइयो र कारवाही गरियो । लिन पियाओ भागे र पछि विमान दुर्घटनाको बहाना बनाएर मारियो ।

सांस्कृतिक क्रान्तिको क्रममा माओको रेड गार्डहरूले ऐतिहासिक अवशेषहरू र कलाकृतिहरू नष्ट गरे, साथै सांस्कृतिक र धार्मिक स्थलहरू तोडफोड गरे । पुरानो परम्परा, सोच विचार, पुरानो व्यवहार, पुरानो सामग्री आदि चार कुरा नष्ट गर्नु यस अभियानको उद्देश्य थियो । यसअन्तर्गत माओका रेड गार्डहरू जनताको घर-घरमा गएर प्राचिन सामग्रीहरू तोडफोड गर्ने र लुट्ने गर्दथे । प्राचिन मठ-मन्दिर भत्काउने, गुम्बा र चैत्यहरू जलाउने, भिक्षु र साधुहरूलाई पिट्ने, मार्नेसमेत गर्दथे । पुरानो पुस्तक, पुस्तकालय सबै जलाइयो । यसबीचमा, लाखौँ मानिसहरूलाई सताइयो । वरिष्ठ पार्टी नेताहरू, विशेषगरी लिउ साओ की, देङ सियाओ पिङ, पेङ देहुआई जस्ता नेताहरू निर्वासनमा परे । लाखौँ बौद्धिक तथा शिक्षित व्यक्तिहरूलाई गाउँतिर धपाइयो । लाखौँलाई सार्वजनिक अपमान, जेल चलान, कडा श्रम र यातना दिइयो । बुद्धिजीवी व्यक्तिहरूलाई ‘पुरानो दुर्गन्धित वेश्या’ जस्तो शब्दले अपमानित गरिन्थ्यो र व्यापक रूपमा सताइन्थ्यो । केही महान् वैज्ञानिक र बौद्धिक व्यक्तिहरूले यातना सहन नसकेर आत्महत्यासमेत गरे । एक करोडभन्दा बढी शहरी बौद्धिक युवाहरूलाई ग्रामिण इलाकामा पठाइयो ।

नेपालको सन्दर्भमा माओवादी जसले माओत्सेतुङ्गलाई नै आदर्श मान्दछन् तिनले पूर्णतया बर्बरतापुर्ण सांस्कृतिक क्रान्ति त गर्न सकेनन् तर केही हदसम्म चीनको बर्बरतापूर्ण सांस्कृतिक क्रान्तिकै झल्को दिने खालको गतिविधि भने पक्कै गरे । पुरानो सोच र अवशेष भत्काउने भन्दै थुप्रै अभियानहरू चाले । धर्म-संस्कृति र मूल्यमान्यताका विरुद्ध विष बमन गर्ने, गलत व्याख्या विवेचना गर्ने र आम मानिसहरूको आस्था भड्काउने काम विगतदेखि वर्तमानसम्म भइरहेको छ । राष्ट्रनिर्माताको शालिक भत्काए, मठ–मन्दिरका पुजारीहरूको हत्या गरे, मन्दिरहरू भत्काए, धार्मिक आस्थाको प्रतीक गौमाताको हत्या गरे र शिक्षकहरूलाई कुट्ने र प्रताडित गर्ने जस्ता थुप्रै आतङ्कहरू माओवादीहरूले गरे । उद्योगी व्यापारीहरूलाई दलाल माफिया र पुँजीपतिको बिल्ला भिराएर हदैसम्मको लुट मच्चाए । नेपालमा माओवादीहरू आफूले पुर्ण जित हासिल गर्न नसकेको स्वीकार गर्दछन् । यदि यिनीहरूले भनेजस्तै जित भएर कम्युनिष्ट शासन लागु भएको भए ? कल्पना मात्र गरौँ । तर बेलाबखत मन्त्री, प्रधानमन्त्री भइसकेका माओवादी कमरेडहरू द्वन्द्व र हिंसाको भाषा प्रयोग गर्न पछि हट्दैनन् । ‘हामीले भनेको जस्तो भएन भने..’ भन्दै प्रतिपक्ष दल र विपक्षीहरूलाई धम्क्याइरहन्छन् । चिनिया कम्युनिष्ट पार्टी सत्तामा आउनुपुर्व र आएपछि जे–जस्तो बर्बरता भयो नेपाली माओवादीहरूले पनि सोहीअनुरुप गरे ।

दि ग्रेट लिप फरवार्ड (अग्रगामी छलाङ)

चिनिया कम्युनिष्ट पार्टीले गरेको अर्को बर्बरतापूर्ण अभियान हो ‘द ग्रेट लिप फरवार्ड’ । माओले निश्चित गरे कि आर्थिक क्रान्तिको आधार कृषि उपजको उन्नति हो । त्यसैले कृषिमा आत्मनिर्भर हुँदै कृषिउत्पादन विश्वबजारमा बेचेर धनी हुने बाटो रोजे । यसका लागि उनले निजी खेतीलाई निषेध गरेर सामुहिक खेतीको प्रस्ताव ल्याए । कोही-कसैले निजी खेती गरेमा त्यसलाई प्रतिक्रान्ती घोषित गर्दै प्रताडित गर्ने नीति ल्याए । बौद्धिक व्यक्ति, शिक्षक प्राध्यापक र वैज्ञानिक सबैलाई खेतीपाती गर्न लगाइयो ।

मुर्खताले सिमा त्यतिबेला नाघ्यो जब अन्न जोगाउने नाममा कसैले माओलाई चराचुरुङ्गी र मुसाहरू सखाप पार्ने सल्लाह दियो । माओको कुनै मुर्ख कमरेडले तथ्याङ्क निकाल्यो कि भँगेरा चरा र मुसाले खेतीबालीको अन्न खाएर देशभरीमा यति अन्न खान्छन् भनेर गणितीय हिसाब निकालिदियो, त्यसपछि अन्न जोगाउने नाउमा लाखौँ करोडौँ होइन देशभरी भएका सबै भँगेरा र मुसाहरू मारियो । झिँगा र लामखुट्टेलाई मानिसहरूमा रोग सार्ने प्रमुख कारकतत्वको रूपमा समेत परिभाषित गरियो र तिनलाई पनि मारेर सखाप पारियो । यसलाई देशव्यापी अभियानको रूपमा अगाडि बढाइयो । यसका लागि केटाकेटीदेखि वृद्धवृद्धासम्म सहभागी भएर जिवहरूको हत्या गर्न अग्रसर भए । केटाकेटी र युवायुवतीहरू आफूले मारेका चराहरू डोरीमा उनेर माला बनाइ गाउँ-गाउँमा घुम्न लागे । उनीहरू भाँडाकुँडा ठटाएर चराहरूलाई त्रसित पार्दथे, ती अबोध चराहरूलाई एक ठाउँमा जम्मा हुन बाध्य पार्दथे र एकसाथ पासो हालेर मार्दथे ।

यसरी कुनै एक व्यक्तिको सनकको भरमा प्रकृतिको सुन्दर सदस्यहरूको अस्तित्व नै समाप्त पारियो । तर केही समयपछि प्राकृतिक शृङ्खलामा आएको परिवर्तन (असन्तुलन)ले खेतीपातीको उत्पादन झन् कमजोर हुन पुग्यो । प्राकृतिक असन्तुलनका कारण चरम भोकमरीले देश हायलकायल हुन पुग्यो । स्थानीय कम्युनिष्ट नेताहरू आफ्नो कोटा पूरा गर्न जनताको घर–घरमा गएर अन्न लुट्दै पार्टीलाई बुझाउन लागे । पहिलो त अन्नको उत्पादन नै कम, दोस्रो असमान वितरणका कारण करोडौँ चिनिया जनताको अकालमा मृत्यु हुन पुग्यो ।

यही अभियानको दौरानमा माओले अर्को निर्णय गरे स्टिल उत्पादन गरेर विश्वशक्ति बन्ने । यसलाई पनि एक महान् अभियानको नाम दिइयो र जनतामाथि यस सनक पूरा गर्न बाध्य पारियो । घर-घरमा फलाम पगाल्ने भट्टीहरू बने, भएभरका फलामका सामग्रीहरू पगालिए । खेतीपाती गर्नको लागि आवश्यक हतियार र औजारसमेत सकिए । स्थानीय कमरेडहरूले ज–जसको घरमा जे-जति फलामका सामग्री छन् तिनलाई लुट्दै पगाले । औद्योगिक क्रान्ति र कृषि क्रान्तिको लागि भनेर चालिएको अग्रगामी छलाङ अन्तत्वोगत्वा चरम भोकमरी र नरसंहारमा गएर टुङ्गियो ।

समग्रमा कम्युनिष्ट राजनीति बर्बरतापूर्ण हिंसाबाट शुरुवात हुन्छ, बर्बरतापूर्ण ढङ्गले नै कम्युनिष्ट सत्ता टिक्छ । वाक् स्वतन्त्रता, व्यक्तिगत स्वतन्त्रता र मानवीय मूल्यमान्यता कम्युनिष्ट सत्तामा कल्पनासम्म गर्न सकिन्न । विरोधि शक्तिलाई नसिध्याइ आफ्नो अस्तित्व कायम गर्न सकिन्न भन्ने विचार बोक्ने कम्युनिष्टहरू आफूबाहेक हरेकलाई प्रधान शत्रु ठान्छन् । देशको भाषा, धर्म, संस्कृति र परम्पराहरू विकास र प्रगतिको बाधक ठान्छन् । व्यक्तिगत स्वतन्त्रता कम्युनिष्ट राजकाजमा कल्पनासम्म गर्न सकिन्न । देशको जनतालाई राज्यकोे नोकर बनाउने सिद्धान्त नै कम्युनिष्ट सिद्धान्त हो । रसिया र चीनमा कम्युनिष्टले जुन बर्बरता र आतंकको बाटो समाए, नेपालका कम्युनिष्ट विशेषगरी माओवादीले पनि सोही बाटो अवलम्बन गरेको हो । चीनमा देङ्ग सियाओपिङ्ग सत्तामा आएपछि जब उनले सन् १९७८-८० मा खुल्ला अर्थनीति र पुँजीवादी मोडेल अवलम्बन गरेपछि नै चीनले आर्थिक विकास गरेको हो । यदि देङ्ग सियाओपिङ्गले माओको कम्युनिष्ट समाजवादी मोडेल त्यागेर पुँजीवादी अर्थतन्त्र अवलम्बन नगरेका भए आज चीन विश्वको शक्तिशाली राष्ट्र बन्ने नै थिएन । हाम्रा कम्युनिष्टहरूले आफ्नो चेतना र बौद्धिक स्तरको उचाई बढाउन, इतिहासबाट पाठ सिकुन् ।