भाइरल बने ॐ विरोधीहरू !

भाइरल बने ॐ विरोधीहरू !


नेपाली शब्दकोषबाट ॐ शब्द हटाउन खोज्नेहरूको नाम यो साता सोसल मिडियामा भाइरल भएको छ ।

सनातन सभ्यता र मान्यतालाई दरकिनार गर्दै लैजाने कुनै अदृष्य रणनीतिक योजनाअनुरुप माओवादीका दीनानाथ शर्मा शिक्षामन्त्री भएका बेला केही ‘विद्वान्’हरू सक्रिय तुल्याइएको थियो । नेपाली भाषाको शब्दकोषलाई परिमार्जन गर्ने भन्दै केही भाषाविज्ञहरू स्थापित ब्याकरणीय नियमलाई भाताभुङ्ग बनाउन लागिपरेका थिए । प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित शब्दकोषलाई ती कथित विद्वान्हरूले तोडमरोड गरी अर्थहीन तुल्याएको र, त्यसक्रममा संयुक्त अक्षरहरू हटाउने भन्दै शब्दकोषबाट ॐ विस्थापित गर्ने निर्णय लिएका थिए ।

यसरी ॐ हटाइने जानकारी पाएलगत्तै वकिल स्वागत नेपाल लगायतले न्यायालय गुहारेर अन्तरिम आदेशमार्फत ॐ यथावत राख्ने अवस्था बनाएका थिए । अहिले सोही विषयको निर्णय लिन सर्वोच्च अदालतले एमिकसक्युरी गठन गरेको छ । एमिकसक्युरीको गठन भएलगत्तै मुलुकमा ॐ को विषयले ठूलो चर्चा पाएको छ । यो चर्चासँगै शब्दकोषबाट ॐ हटाउने निर्णय प्रक्रियामा सामेल सबैको नाम सोसल मिडियामा भाइरल हुन पुगेको हो ।

भाइरल हुनेहरूमा तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्मा, सचिव किशोर थापा, सहसचिव लवदेव अवस्थी, सहसचिव दिवाकर ढुङ्गेल, उपसचिव बिदुर गिरी, उपसचिव कमलप्रसाद कर्माचार्य, पाठ्यक्रम विकाश केन्द्रका कार्यकारी निर्देशक खगराज बराल, उपनिर्देशक गणेश भट्टराई, अधिकृत हरिप्रसाद निरौला, त्रिभुवन विश्वविद्यालय अनिवार्य नेपाली विषय समितिका अध्यक्ष देवीप्रसाद गौतम, त्रिवि पाठ्यक्रम विकाश केन्द्रका कार्यकारी निर्देशक केशवकुमार श्रेष्ठ, प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेती र निर्णय गराउन सिफारिश गर्नेब्यक्ति प्राडा हेमाङ्गराज अधिकारी रहेका छन् ।