दरबार हाइस्कुलसँग जङ्गबहादुरको साइनो

दरबार हाइस्कुलसँग जङ्गबहादुरको साइनो


इतिहास

✍ सुनिल उलक

बेलायतबाट फर्केपछि राणा प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणाले वि.सं. १९१० मा जनरल धीरशम्शेरको दरबार थापाथली दरबारभित्र राणाहरूका लागि पहिलो पटक अंग्रेजी समेतको शिक्षाको शुरुवात गरे । यसअगाडि पाठशालाहरूमा निजामति श्रेस्ता, नेपाली तथा संस्कृत शिक्षा दिने गरिन्थ्यो । दरबारभित्र यसरी शुरु भएको स्कुललाई दरबार स्कुल भन्न थालियो । थापाथली दरबारमा पढाउन शुरु गरिँदा केनिङ नाम गरेका बेलायतीलाई हेडमाष्टरका रूपमा ल्याइएको थियो । यसअगाडि जङ्गबहादुरले दुई अंग्रेजलाई दरबारमा अङ्ग्रेजी सिकाउन झिकाएका थिए । थापाथलीमा शुरु भएको यो स्कुल पछि हिटी दरबारमा सारियो । हिटी दरबारमा सञ्चालन हुँदा धीरशम्शेरका सत्र भाइका सन्तानले मात्र सो स्कुलमा पढ्न पाउँदथे ।

पछि वि.सं. १९३३ मा सेतो दरबारमा सारिएपछि भने अन्य राणाका सन्ततिहरूले पनि पढ्न पाए । १९४२ मा आइपुग्दा अन्य भारदारका छोरा–नातिहरूलाई पनि पढ्न पाउने छुट दिइयो । १९५१ सालमा दरबार स्कुलको आफ्नै भवन भयो । रानीपोखरीको पश्चिममा भवन तैयार भएपछि सेतो दरबारबाट अहिलेको दरबार स्कुल भएको ठाउँमा सारियो । यसरी नेपालको पहिलो अंग्रेजी भाषा पढाउने स्कुलको शुरुवात भएको थियो ।

शुरुमा केही राणाका छोरा–नाति मात्रै भर्ना हुने यस स्कुलमा १९५८ सालसम्म केवल १७ जनाले मात्रै अंग्रेजी पढेका थिए । पछि श्री ३ देवशम्शेरले सबैलाई पढ्न छुट दिएपछि १९७५ सम्म पढ्नेको संख्या १७५ पुग्यो । आम मानिसका छोराहरूले पनि पढ्न पाउने भएपछि दरबार हाइस्कुलको पहिलो हेडमाष्टरका रूपमा अखिलेष प्रसाद आजादलाई ल्याइयो । अखिलेषपछि हेडमाष्टर बनेका बटुकृष्ण मैत्रेय भने निकै लामो समयसम्म हेडमाष्टरका रूपमा रहे । बटुकृष्णपछि शारदाप्रसाद मुखर्जी हेडमाष्टर बने । यसपछि बल्ल १९८२ मा पहिलो पटक नेपाली हेडमाष्टरका रूपमा रुद्रराज पाण्डेले मौका पाए ।

अहिलेको एसईई सरहको म्याट्रिकुलेशनको परीक्षा भने कलकत्ता विश्वविद्यालयले लिने गर्दथ्यो । वि.सं. १९३६ देखि कलकत्ता विश्वविद्यालयले म्याट्रिक परीक्षा लिने गरेकोमा १९८० देखि पटना विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरेको थियो । १९३६ मा कलकत्तामा म्याट्रिक परीक्षा दिन जङ्गबहादुरका भतिजा खड्गशमशेर पहिलो पटक कलकत्ता पुगेका थिए । तर परीक्षा अगाडि लिइने इन्ट्रान्समा नै फेल भए, जसले गर्दा म्याट्रिकुलशन परीक्षा दिन पाएनन् । १९३७ मा म्याट्रिकुलशन परीक्षा दिन चन्द्रशम्शेर कलकत्ता पुगे र उत्तीर्ण पनि भए । चन्द्रशमशेर राणा परिवारभित्रमा पहिलो म्याट्रिक उत्तीर्ण गर्नेमा पर्न पुगे । म्याट्रिक उत्तीर्ण गरेपछि चन्द्रशमशेरले कलकत्ता विश्व विद्यालयमा नै पढाइ सुचारु राखे । तर १९४० मा बाबु धीरशमशेरको निधनको समाचार सुनेपछि फर्केका चन्द्रशमशेर फेरि पढाइ पूरा गर्न कलकत्ता पुग्न नै पाएनन् ।

त्यो बेला म्याट्रिकुलशनको परीक्षा दिन कलकत्ता तथा पटना जाँदा विद्यार्थीहरूका लागि सम्पूर्ण ब्यवस्था सरकारले नै गरिदिन्थ्यो । जाने आउने तथा बस्ने खाने ब्यबस्था सरकारबाट नै हुने गर्दथ्यो । वि.सं. १९८५ मा म्याट्रिकुलशन वोर्ड (म्याट्रिकुलेशन परीक्षा केन्द्र) को गठन नेपालमा नै भयो । वि.सं. १९९० कार्तिक १६ गते जुद्धशमशेरले एसएलसी परीक्षा बोर्ड (प्रवेशिका परीक्षा) को गठनसंगै परीक्षा दिन पटना जानुपर्ने बन्द भयो । परीक्षा नेपालमा नै दिन पाउने भयो, तर परीक्षाको तैयारी प्रश्नपत्र तथा परीक्षाफलको प्रकाशन भने सबै पटना विश्वविद्यालयले नै गर्दथ्यो । परीक्षाको केही दिनअगाडि पटना विश्वविद्यालयबाट सुपरिटेण्डेण्टहरू आउँथे, परीक्षा लिन्थे र उत्तरपुस्तिकाको पोको लिएर पटना फर्कन्थे । नतिजा पटना विश्वविद्यालयले नै प्रकाशित गर्दथ्यो । २००३ सालबाट भने नेपालमा नै परीक्षाको सम्पूर्ण तैयारी तथा नतिजा निकाल्ने काम भयो । यसपछि भने म्याट्रिकुलेशन परीक्षाको नाम पनि प्रवेशिका परीक्षा तथा एसएलसी भन्न थालियो ।

१९९० सालमा परीक्षा वोर्डको गठन पछि नेपालमा नै परीक्षा लिने तैयारी भयो । पुसको अन्तिम साता परीक्षाको तालिका प्रकाशित भयो । परीक्षाका लागि ३४ विद्यार्थीले फारम भरे । जसमा एक मात्रै छात्रा सुवर्ण कुमारी देवी थिइन्, तर परीक्षाको दिन भने उनि सम्मिलित भइनन् । यसरी नेपालमा पहिलो पटक एसएलसीको परीक्षा शुरु त भयो तर परीक्षा समाप्त नहुँदै अचानक माघ २ गते महाभूकम्प आयो । दरबार हाइस्कुलमा पनि क्षति पुग्यो । दरबार हाइस्कुलको दक्षिण भागका कोठाहरूमा एसएलसी परीक्षा सञ्चालन गरिएका थिए, त्यहाँ क्षति हुन पुग्यो । यसरी रोकिएको एसएलसी पाँच महिनापछि १९९१ को जेठमा मात्रै सञ्चालन हुन सक्यो । दरबार हाइस्कुलमा क्षति पुगेका कारण बाँकी परीक्षा भने टुँडिखेलको खुला मैदानमा नै गराइयो । दरबार हाइस्कुलको आफ्नो भवन पूननिर्माण नहुँदासम्म सम्पूर्ण पढाइ त्रीचन्द्र कलेजमा गराइएको थियो । यसको नतिजा पनि ढिलो गरि प्राप्त भयो । जसमा प्रथम श्रेणीमा कोही पनि उतिर्ण हुन सकेनन् । दोश्रो श्रेणीमा १० जना उत्तीर्ण भए भने तेश्रो श्रेणीमा ९ जना उत्तीर्ण भए । यसरी पहिलो एसएलसी परीक्षामा १ अनुपस्थित, १४ अनुत्तीर्ण र १९ विद्यार्थी उत्तीर्ण भएका थिए । यस पहिलो एसएलसीमा भक्तपुरका पुष्पभक्त मल्ल नेपालकै इतिहासमा पहिलो बोर्ड फस्ट हुने सौभाग्य पाएका थिए ।

१९९० सालमा एक छात्राले प्रवेशिका परीक्षाका लागि फारम भरे पनि अनुपस्थित रहेकोमा त्यसपछि १४ वर्षसम्म कुनै पनि छात्रा परीक्षामा सम्मिलित भएनन् । २००४ सालमा बल्ल एकैपटक चार छात्रा साहना प्रधान, साधना प्रधान, अंगुरबाबा जोशी र भुवनसिंहले प्रवेशिका परीक्षा दिएका थिए ।

दरबार हाइस्कुलमा प्रायः माष्टरहरू भारतबाट नै ल्याइएका हुन्थे । राजा त्रिभुवनको शुभराज्याभिषेकका समय दरबार हाइस्कुलका माष्टरहरूलाई पनि निम्तो पठाइएको थियो । जसले गर्दा ती माष्टरहरू पनि टेन्टमा बसेर राज्याभिषेक समारोह नजिकबाट हेर्न पाएका थिए । प्रस्तुत तस्बिरमा बटुकृष्ण सेतो लामो दाह्री जुँगा भएका, बनारसी गोल टोपी लगाएका लामो कोटजस्तो अचकन लगाएका बाहिरबाट इष्टकोट र गोलो चश्मा लगाएका दायाँतर्फ देख्न सकिन्छ ।