उधिनेर मुटुमा

उधिनेर मुटुमा


✍ राजेश ढुंगाना

टेलिभिजनको
रिमोट लिएर हातमा
च्यानल बदलेर
सिनेमा हेर्दा हेर्दै
अनिच्छित विज्ञापन
फुत्त-फुत्त लगातार
एकतमासले आउँदा
तपाईं
जस्तो अनुभव गर्नुहुन्छ
म पनि त्यस्तै अनुभव गर्छु
फरक मात्र यत्ति हो
तपाईं
टेलिभिजनमा अरुलाई हेर्नुहुन्छ
म भने त्यहाँ आफूलाई खोज्छु
सोचे यो फरक पनि हो
नसोचे होइन पनि
तपाईं सिनेमा हेर्नुहुन्छ
र, सिनेमाकै कथा उधारोमा लिएर
जीवनको ऋण तिर्न खोज्नु हुन्छ
र, मचाहिँ घरि घरि
उधिनेर मुटुमा तिखो सियो
मुस्कानहरुको मूर्ति कुँद्न थाल्छु
ooo
म पराजित हुन्छु कि
तपाईं विजेता ?
प्रश्न मात्र होइन
प्रश्नको
उत्तर पनि निरर्थक छ
ooo
प्रश्न हो भने
मान्छे आफै प्रश्न हो
उत्तर स्वयम् उत्तर हो
अब तपाईं
सिनेमा हेर्नोस्
म भने मान्छे खोज्छु !