बुटवलमा पृथ्वीनारायण शाहको शालिक स्थापना

बुटवलमा पृथ्वीनारायण शाहको शालिक स्थापना


बुटवलको कालिकानगरमा बडामहाराजधिराज श्री ५ पृथ्वीनारायण शाहको शालिक स्थापना गरिएको छ।

सिध्दार्थ राजमार्गको बुटवल बेलहिया सडक खण्डअन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं १० कालिकानगरमा शाहको पुर्ण कदको शालिक स्थापना गरिएको हो।

बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयको मुख्य प्रवेशद्वार भन्दा केही उत्तरतर्फको सडक किनारको हरियाली क्षेत्रमा उक्त शालिक निर्माण गरिएको छ।

बुटवल उपमहानगरपालिका वडा नं १० मा रहेको पृथ्वीनारायण शाह पथका बासिन्दाले राष्ट्र निर्माणमा श्री ५ बडामहाराज धिराज पृथ्वीनारायण शाहको महत्त्वपूर्ण योगदान रहेको भन्दै उक्त शालिक निर्माण गरेको बताएका छन् ।

शालिक निर्माणका लागि बुटवल उपमहानगरपालिका र वडा कार्यालयबाट समेत रकम बिनियोजन गरेको गत वर्ष पुष २७ गते वडाध्यक्ष वलु पुनले सिलान्यास गरेको शालिक निर्माणमा अगुवाइ गरेका राप्रपा नेता समेत रहेका रुपसिंह थापाले बताए।

थापाका अनुसार शाहको उक्त शालिक पुष २७ गते पृथ्वीजयन्तीको दिन अनावरण गरिनेछ । ढलोटबाट निर्माण गरिएको शाहको पुर्ण कदको उक्त शालिक ७ फुटको रहेको छ।