खहरे र नदी

खहरे र नदी


✍ नोबेलवत्स लम्साल

खहरेले गड्गडाउनै पर्छ
गड्गडाउनु उसको पहिचान,
मर्म र धर्म पनि हो,
तर,
नदीले गड्गडाउनु हुँदैन
मात्र सुसाउनुपर्छ,
त्यो नदीको अस्तित्व,
संस्कार र मर्म पनि हो ।

खहरे गड्गडाएको बेला
ठूलो गर्जन आउन सक्छ,
भेल बाढीको प्रकोपमा परेर
गाउँबस्ती क्षत् विक्षत निर्जन पनि बन्न पुग्लान्,
तर खहरे क्षणिक हुन्छ,
नदीले निरन्तर प्रवाहवान् हुनैपर्छ
खहरेले कसैको मानमनितो नराख्दा पनि होला
तर शान्त नदीले
विशाल समुद्रलाई सम्मान गर्नुपर्ने नै हुन्छ,
यो नदीको अस्तित्व र संस्कारभित्र नै पर्ने कुरा हुन्छ ।

  • दिङ्ला, भोजपुर (हालः मोरङ)