अमेरिकी सेनासँगको संयुक्त अभ्यास सम्पन्न

अमेरिकी सेनासँगको संयुक्त अभ्यास सम्पन्न


नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाका ४२ जनाको सहभागितामा गत भाद्र २४ गते सुरु भएको चालिसौं संस्करणको Joint Combined Exchange Training (JCET) Balance Nail शुक्रबार (१२ असोज) समापन भएको छ । संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयहरूमा अनुभव तथा ज्ञान आदानप्रदान भएको नेपाली सेनाले जनाएको छ ।

शुक्रबार आयोजित समापन कार्यक्रमलाई सम्बोधन गर्दै सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकालले सहभागीहरूलाई अभ्यासको दौरान सिकेका सिपहरूलाई आफ्नो पेसागत क्षमता विकासमा सदुपयोग गर्न सुझाव दिए । तालिम लगायतका क्षेत्रहरूमा पुर्‍याउँदै आएको सहयोग र सहकार्यको लागि उनले संयुक्त राज्य अमेरिकी सेनालाई धन्यवाद पनि दिए ।

त्यस अवसरमा काठमाडौंस्थित अमेरिकी राजदूत डीन आर थम्पसनले सफलतापूर्वक अभ्यास सम्पन्न गर्ने दुवै देशका सहभागीहरूलाई बधाई दिए ।

संयुक्त अभ्यास समापन समारोहमा नेपाली सेनाका उच्चपदस्थ अधिकारीहरूका साथै अमेरिकी दूतावासका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।